कोही छ सम्प्रभु, आऊ फेरि आऊ


हरेकपल May 2, 2020

बिहानै घाम लागेकै छ
साँझमा पनि घाम डुबेकै देखिन्छ
राती झ्याउँकिरी कराएकै छन्
चराहरू आकाशमा उडेकै छन् ।

कलकल गरेर नदीमा पानी बगेकै छ
हिमालयमा हिउँ जमेकै छ
हिउँ पग्लेर हिमनदी पनि बगेकै छन् ।

सालका रुखहरू आकाश छेडूँलाझैँ गरी
दिनानुदिन माथि–माथि ताक्दै उभिएकै छन्
प्रकृति आफैँमा पूर्णता प्राप्त गर्न
जीवन्त भएको छ ।

तर अहिले मानव जगतमा भयावह रूपमा
एउटा महाव्याधि उम्रेको छ
अब यो महाव्याधिको अन्त
कहिले हुने ? कसले अन्त गर्ने ?
कसको दोष छ यसमा ? कसले भन्ने ?

के कारणले हो यस्तो भएको ?
कसैलाई थाहा छैन
कसरी बिसेक हुन्छ
कसैलाई थाहा छैन
कोही छ त यसको
मुख्य नियन्त्रक ? मुख्य प्रशासक ?
त्यो को हो ? थाहा छैन ।

स्वनिर्वासन रे यसको ओखती
स्वअनुशासन रे यसको निदान
आपसमा भेटघाट नगर्ने रे यसको आधार
अब हामीले कसको कुरा मान्ने हो ?
कोही छ त यसलाई पार लगाउने ?

छौ भने
आऊ र मानव मात्रको सेवा गर
गुण लगाऊ मानव मात्रलाई
आऊ सबै म हुँ भन्ने महापुरुष
एकपटक संसारमा अवतरित भएर
आफ्नो क्षमता देखाएर
मानव मात्रको सर्वसत्ताको यो पृथ्वीमा
नयाँ सत्ताको फेरि एकपटक
आवश्यकता देखाऊ ।

आऊ, तिमी नयाँ अवतारको रूपमा
र भन
जब–जब संसारमा मुस्किल पर्छ
म फेरि–फेरि संसारमा आउने छु
म फेरि–फेरि यो संसारमा आउने छु ।