सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन र अनलाइन कक्षा शुरु गर्दा कसो होला ?


हरेकपल May 2, 2020

मानिसले मानवता भुल्नुको साथै वन्यजन्तुको जीवन जिउने हक छिनेर उनीहरूको मासु खाएको दण्ड स्वरूप आज हामी संसारका सारा मानिसले कोरोना महामारी खपिरहेका छौं। यस्तो अवस्थाबाट पार भएका हजारौं मांशाहारी मानिसहरु शाकाहारीमा परिणत हुनेछन्। यस भाइरसलाई विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को नाम पनि दिएको छ। यो भाइरस चाइनाको वुहान शहरमा जन्मिएर विश्वका थुप्रै देशहरुको साथै नेपाललाई पनि आफ्नो कब्जामा ल्याउने कोसिस गरेको छ जसलाई नियन्त्रण गर्न हाम्रो सरकारले लकडाउनको व्यवस्था गरेको छ। यो भाइरस मानवजातिमा पहिला कहिले पहिचान नभएको हुनाले विज्ञानले समेत यसको औषधी फेला पारेको छैन।

बिकसित मुलुकहरु अमेरिका, इटाली, स्पेन र बेलायत जस्ता शक्तिशाली देशहरु पनि मुस्किलले भाइरससँग लडिरहेका छन्। त्यसैले हामीले यसबाट के बुझ्न सक्छौं भने  जतिसुकै शक्तिशाली र सम्पन्न भएपनि प्राकृतिक प्रकोपका अगाडी हार नै खाइदो रहेछ। यस महामारीले विश्वभर लाखौं मानिसको ज्यान लिइसकेको छ। टिभी, रेडियोका समाचार हेर्दा सुन्दा, आनलाइन समाचार पढ्दा कोरोनाको कारण दिनप्रतिदिन मर्ने मान्छेको संख्या बढेको नकरात्मक समचारको बाढी आउँछ। तसर्थ, सरकारले भाइरस फैलिन रोक्नका लागि लकडाउन सक्दो कडा गरेको छ। पुलिसहरु दिनमा दुइ तीन चोटी हाम्रो टोलको गल्लीबाट माइकिङ गर्दै गएको देख्छु। यस महामारीलाई नियन्त्रण गर्न डाक्टर र अरु स्वास्थ्यकर्मीहरुका साथसाथै सुरक्षाकर्मीहरूको पनि उत्तिकै भूमिका छ। उहाँहरुले यस्तो जटिल अवस्थामा पनि आफ्नो ज्यानको पर्वाह नगरीकन देशको सेवा गर्नुभएकोमा म उहाँहरुलाई हृदयदेखि नै सल्युट गर्दछु। यसको साथै हामीले कोरोना रोग लागेपछि उपचार गर्नुभन्दा आफु संक्रमित नहुन सुरक्षित रहने उपायहरु अपनाउन सके कोरोना भाइरसको बहिर्गमन हुनेछ भन्ने आशा गर्न सकिन्छ।

हामी विद्यार्थीहरू कोरोनाभाइरसको महाविपत्तिमा स्वास्थ्यको आपतकालको कारण स्कूल बन्दको प्रभावको महसुस गर्दैछौं। अनिश्चितकालीन लकडाउनले गर्दा हजारौं विद्यार्थीहरु घर तथा डेरामा थुनिएका छन्। यसकारण हाम्रो खानपिन, काम गराइ र पढाइ सबै परिवर्तन भएको छ। गाडीघोडादेखि लिएर स्कुल समेत ठप्प भएको छ । कोरोनाले यस्तै तीब्रगतिमा विश्व भ्रमण गरिरहने हो भने हाम्रो शिक्षाप्रतिको हक पनि खोसिरहने छ ।

हुन त प्रदेश १ सरकारले मध्यम र न्यून वर्गको पहुँच पुग्ने नेपाल टेलिभिजनबाट कक्षा १० का विद्यार्थीहरुलाई लक्षित गर्दै वैशाख १५ गतेबाट कक्षा सञ्चालन गरेको समाचार आएको छ। सरकारले क्याम्पस र विश्व विद्यालयका विद्यार्थीलाई अनलाइन मार्फत शिक्षा प्रदान गर्न निर्देशन पनि दिएको छ। तर मेरै ११ कक्षाका ३२ जना विद्यार्थीलाई एकाउन्ट शिक्षकले अनलाइन मार्फत रिविजन गराउन खोज्दा १० जना भन्दा बढीको संलग्नता भएको थिएन। पछि कुरा गर्दा मेरा साथीहरुसँग वाईफाई नभएका कारण अनलाइन कक्षामा सहमति जनाउन नसकेको भन्ने थाहा पाएँ। अब फोन गर्नलाई नेटवर्क नपुगेर रुखमा चढ्नुपर्ने देशमा प्राविधिक शिक्षा मार्फत देशका सबै विद्यार्थीलाई अनलाइन कसरी पढाइने हो थाहा छैन?

अब उच्च माविको बोर्ड परीक्षा कहिले हुने र कहिले कक्षा १२ को पढाई शुरु हुने हो भन्ने प्रश्नले मेरो मन पिरोलिरहेको छ। अरु देशहरुमा विश्वविद्यालयका सेमेस्टर परीक्षाहरु खप्टने भन्ने खबर पनि सुनिएको छ । हाम्रो पनि एघारको परीक्षा बाह्रको सगैं हुने हो कि? अझ भारतको केही ठाउँहरुमा त एघारको बोर्ड परीक्षा नै नलिइकन बाह्र पठाइने गरेको छ भन्ने कुरा पनि सुनेकी छु। हामीपनि ११ को बोर्ड परीक्षा नभई १२ मा पढ्ने हौ कि? तर मेरो बिचारमा कोरोनाभाइरस तत्काल अन्त्य नभई ठुलो संक्रमण नफैलने भए एन-९५ मास्क र सेनिटइज़रको प्रयोग गर्दै सामाजिक दुरी कायम राखेर सरकारले एसइइ, ११ र १२ लगायतका परिक्षा समयमै लिए उचित होला । कोरोना संक्रमणलाई छिटो नियन्त्रण गर्न नसेकेको खण्डमा हाम्रो विद्यालय पनि अझै दुई-तीन महीनासम्म बन्द हुने हो कि?

अहिले एनटिसीले विशेष ई-शिक्षा प्याकेज अन्तर्गत ५०० रुपैयाँमा १५ जीबी डाटा उपलब्ध गराउने खबर पनि आएको छ । तर अझै पनि नहुने बर्गका विद्यार्थीको लागि यो मूल्य निकै महगो हो । तसर्थ सरकारले देशको हरेक कुना कुनामा कम भन्दा कम शुल्कमा राम्रो इन्टरनेट सुविधा उपलब्ध गराउन सके मात्र अनलाइन शिक्षा केही हदसम्म प्रभावकारी हुनसक्ला। तर पठनपाठन भने सामाजिक दुरी कायम गर्न गाह्रो हुने भएकोले सरकारले देशको हरेक कुना कुनामा कम भन्दा कम शुल्कमा राम्रो इन्टरनेट सुविधा उपलब्ध गराउन सके मात्र यो अबधिसम्म अनलाइन शिक्षा दिनु नै उपयुक्त होला । नत्र हुने खानेले मात्र अनलाइन शिक्षा लिने र नहुनेले लिन नसक्ने छन् ।