कोरोना भाइरस संक्रमण र श्रमिकमा यसको असर


हरेकपल May 2, 2020

सन् २०१९ को अन्तीम महिना गत डिसेम्बर महिनामा चीनको बुआनवाट शुरु भएको कोरोना भाइरस संक्रमण अर्थात कोभिड–१९ ले हाल विश्वभर महामारीको रुप लिइसकेको छ । वुहानबाट पहिलोपटक चमेरा, सालक वा समुन्द्री माछाबाट मानिसमा सरेको अनुमान गरिएको कोरोना भाइरसको संक्रमण अहिले संसारका २१० मुलुकहरुमा फैलीएको छ । यो आलेख तयार गर्दाको समयसम्म कोरोना भाइरसको महामारीबाट संसारभर करिव २ लाख १० हजार भन्दा बढी मानिसको निधन भैसकेकोे छ भने संक्रमितहरुको संख्या ३१ लाख पुग्नै लागेको छ । त्यस्तै उपचार पछि कोरोना भाइरसको संक्रमणबाट जोगिइ अस्पतालबाट घर फर्किनेको संख्या झन्डै ९ लाख रहेको छ ।

शुरु भएको करिब चार महिनाको छोटो अवधिमा नै मुलुक,क्षेत्र,धर्म,बर्ण, लिङ्ग , जात,धनि,गरिब केहि नछुट्याई महामारीको रुपमा मानव सभ्यताको बिरुद्ध तिब्ररुपमा फैलिएको कोरोना भाइरस संक्रमणको बिरुद्ध राष्ट्रहरुले आ–आफ्नै रणनीति बनाई यसबाट जोगिने प्रयास गर्दै आइरहेका छन् । कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिका, बेलायत, इटाली, फ्रान्स, स्पेन, ब्राजील लगाएतका धनी एवं शक्ति सम्पन्न राष्ट्रहरुले समेत ठूलो मानवीय क्षती व्यहोरिरहदा चीन, जापान , दक्षिण कोरीया, जर्मनी लगाएतका राष्ट्रहरुले अवलम्बन गरेको रणनीति व्यवहारिक एवं उपयुक्त भएका कारण तुलनात्मक रुपमा सीमित मानवीय क्षतीमा आफुलाई राख्न सफल भएका हुन की भन्ने अनुभुती गर्न सकिन्छ ।

कोरोना भाइरस एक संक्रमित मानिसबाट अर्को मानिसमा सहजै सर्ने भाइरस भएको हुँदा निश्चित दुरी कायम गर्ने, भिडभाड रोक्नका निम्ति जनचेतना अभिवृद्धि गर्दै आफ्नो मुलुक वा स्थान विशेष लाई लकडाउन गर्ने रणनीति संसारका धेरैजसो मुलुकले अवलम्बन गर्दै आएका छन् । छिमेकी मुलुक भारत एवं एसिया, युरोप, अमेरिका र अफ्रिकी मुलुकहरु जस्तै नेपालले पनि लकडाउनको रणनीति अबलम्बन गर्दै आएको छ । कोरोना भाइरस संक्रमितको उपचारका निम्ति उपयुक्त औषधीको उत्पादन एवं कोरोना भाइरस विरुद्धको खोपको आविष्कार नभएसम्म लकडाउनको अर्को विकल्प नदेखिएका कारण भारत लगायत दक्षिण एसिया, दक्षिण पुर्व एसिया एवं खाडी क्षेत्रका मुलुकहरुले कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि विगत डेढ महिना देखी लकडाउन गर्दै आएका छन ।

यसैगरी नेपालले पनि विगत एक महिना देखी मुलुकलाई लकडाउन गर्दै सबै नागरिकलाई आ–आफ्नो घरमा बस्न आग्रह गर्दै आएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिनका निम्ति लकडाउन जस्तो असहज, अप्ठेरो र कठिन परिस्थितिलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका विपक्षी दलहरु, उद्योगी–व्यवसायीहरु, किसान मजदुरहरु, नागरिक समाज लगायतले सरकारले अवलम्बन गरेको रणनीतिलाई सहज रुपमा स्वीकार गरी आफु बसेको स्थानमा नै आफुलाई कैद गरी सरकारलाई सहयोग गरिरहेका छन् ।

कोरोना भाइरसको संक्रमणले यस शताब्दीको सबैभन्दा ठुलो जन र धनको नोक्सानी गरेको छ । विश्व बंैैक र अन्तराष्ट्रिय मुद्राकोषले हालसम्मको अवस्थालाई मुल्यांकन गर्दै संसार भरीको आर्थिक बृद्धिदर ३ प्रतिशतमा सीमित रहने र एसियाको आर्थिक वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण गरेको छ । आर्थिक रुपमा उदयीमान राष्ट्रहरुको आर्थिक वृद्धिदरमा समेत व्यापक रुपमा गिरावट आउने अनुमान गरिएको छ । अन्तराष्ट्रिय श्रम संगठनको पछिल्लो प्रकाशित आंकडा अनुसार संसार भरी करिव १० करोड व्यक्तिहरु वेरोजगार भएका छन् । वेरोजगारको संख्या दैनिक रुपमा वृद्धि हुदै छ । यसबाट सबैभन्दा बढी मज्दुर, किसान, बालबालिका, अपांग, बृद्धबृद्धा, महिला लगायत सीमान्तकृत व्यक्ति तथा समुदाय अत्यन्तै पीडामा छन ।

कोरोना भाइरस संक्रमणका कारण नेपालमा हालसम्म मानवीय क्षति व्यहोर्नु परेको अवस्था नभएतापनि नेपालले अवलम्वन गरेको लकडाउनको रणनीतिका कारण लाखौको संख्यामा करार, ज्यालादारी तथा ठेक्कामा कार्यरत असंगठित क्षेत्रका मजदुरहरु, साना किसानहरु, सानो सानो व्यवसायमा संलग्न स्वरोजगार श्रमजीवीहरु, घरेलु तथा साना व्यवसायीहरु वेरोजगार भएका छन् । एकातिर दैनिक कमाएर आफ्नो जीवीकोपार्जन गर्दै आएका मजदुरहरुको रोजगारी समाप्त भएको र अर्को तर्फ आफुले काम गरेर कमाएको रकम समेत ठेकेदार, साहु तथा रोजगारदाताले भुक्तानी नगरेको कारण आम्दानीको अभावमा त्यस्ता मजदुरहरुले दैनिक हातमुख जोड्न सक्ने अबस्था छैन । आफूले कमाएर थोरै वचत गरेकाहरुको हविगत समेत अब हातमुख जोड्न गार्हो पर्ने अबस्थामा पुगेको छ । कर्मथलोमा हातमुख जोड्न नसकी जन्मथलोमा पुग्न पाए केही सहज हुन्थ्यो कि भनी गाउँ फर्कन विवश लाखौ असंगठित क्षेत्रका मजदुर एवं सानो सानो व्यवसायमा संलग्न स्वरोजगार मजदुरहरुको ताँती कहाली लाग्दो अवस्थामा विभिन्न लोकमार्गहरुमा देख्न सकिन्छ । उनीहरुको पीडामा मलम लगाउँदै गन्तब्यमा पु¥याउनुको सट्टा जहाँ भेट्यो त्यही रोक्दै अथवा आएकै ठाउँतिर फर्काउदै विभिन्न तहका सरकारहरु झनै नुन खुर्सानी छर्कन उद्यत छन् ।

नेपाल भारत सीमानामा हजारौ संख्यामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु अनागरिक जस्तै भएर नेपाल फर्कने आशामा बिभिन्न सीमा नाकामा छट्पटिएर बसिरहेका छन् । उनीहरुको नेपाल प्रवेश कहिले हुने हो अनिश्चित नै छ ।

साउदी अरव, कतार, यु.ए.ई., बहराइन, कुवेत लगायत विभिन्न खाडी मुलुक तथा मलेसिया करिव २० लाख नेपालीहरु कार्यरत छन् । उनीहरु मध्ये करिव आधाको रोजगारी गुमेको छ । रोजगारदाताले काम तथा दाम नदिने सूचना जारी गरेर घर फर्कन चेतावनी दिइसकेका छन् । उनीहरु बेखर्ची अवस्थामा ति मुलुकमा बस्न विवश छन् र चाँडै नै नेपाल फर्कने पर्खाइमा छन् ।

माल्दिभ्स तथा साइप्रस जस्ता मुलुकमा हजारौ संख्यामा कार्यरत नेपालीहरुलाई रोजगारदाताले अब काम दिन नसक्ने सूचना दिई हवाईजहाजको टिकट हातमा थमाइदिएका कारण स्वदेश फर्कनका निम्ति उड्ने पर्खाइमा छन् ।

कोरोना भाइरसको संक्रमणको डरका कारण नेपालको स्वास्थ्य क्षेत्र झनै सेवाप्रवाह गर्न नसक्ने क्षेत्रको रुपमा परिणत भइरहेको छ । मृत्युको मुखमा लग्न सक्ने अन्य रोेगहरुको उपचार समेत हुन छोडेको छ । ओ.पी.डी. सेवाहरु बन्द छन् । अप्रेशन गर्नुपर्ने रोगहरुको अप्रेशन गर्ने कार्य स्थगित गरिएको छ । धेरैजसो निजी अस्पतालहरु नागरिकलाई अत्यावश्यक स्वास्थ्य उपचार गर्नुकोे सट्टा केवल आकस्मिक सेवा खोली अन्य सेवाहरु बन्द गरेर गैर जिम्मेवारी प्रदर्शन गरिरहेका छन् । साना साना चिचिला बालबालिका नियमित खोप तथा अन्य उपचारबाट बञ्चित छन् । पेटमा बच्चा बोकेका महिलाहरु प्रसुति सेवा नपाएर छटपटिरहेका छन् । ग्रामिण क्षेत्रका अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा औषधी आपुर्ती नभएका कारण विभिन्न दिर्घ रोगहरुबाट पीडित बृद्धहरु स्वास्थ्य सेवाबाट बञ्चित छन् । यथार्थमा भन्नुपर्दा श्रमजीवी तथा सीमान्तकृत नागरिकहरु नै स्वास्थ्य सेवाबाट समेत बञ्चित हुन विवश छन् ।

एकातिर ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको कृषि उत्पादन, तरकारी, दुधजन्य पदार्थ, मासुजन्य पदार्थ बढी जनसंख्या भएको क्षेत्रमा आपुर्ती हुन सकिरहेको छैन भने अर्कोतर्फ शहरबजारमा लकडाउनमा रहेका आमजनता त्यस्ता बस्तुहरु बढी मुल्यतिरेर खरिद गर्न विवश छन् । ग्रामीण क्षेत्रका कृषि उत्पादनमा संलग्न किसान तथा मजदुरहरुले आफ्नो लागत मुल्य समेत प्राप्त गर्न नसकेको विद्यमान अबस्थामा निम्न आय भएकावर्गहरु अत्यन्तै ठुलो मारमा परेका छन् भने निम्न मध्यम वर्गका जनता निम्न आय भएका वर्गको रुपमा खस्कदै छन् ।

कोरोना भाइरस संक्रमणबाट श्रीजीत यी यावत समस्याहरुबाट उत्पन्न परीस्थितीको सामना गर्न तत्काल केहि योजना बनाएर कार्य नगरे भोलीका दिनहरु झनै संकटमय हुन जान्छन् । तत्काल चाल्नु पर्ने केहि कदमहरु यसप्रकार हुन सक्छन् ।

लकडाउनका कारण कार्यथलोमा रोजगारी गुमेकाले र अन्य आम्दानीको श्रोतको अभावमा लाखौ श्रमिक काठमाण्डौ लगायत विभिन्न शहरहरुमा बस्न नसकि आ–आफ्नो जन्मथलोमा फर्कन विवश छन् । यस्ता घर फर्कन चाहने मजदुरहरुलाई सरकारले सहयोग गर्नुको सट्टा झनै थुनछेक गर्न उद्यत देखिन्छ । यस्तो कठिन तथा भयावह परिस्थितिमा घर फर्कन चाहने श्रमजीवीहरु, स्वरोजगारहरु तथा विद्यार्थीहरुलाई निशुल्क तथा सुरक्षित वातावरणमा घर फर्कन व्यवस्था मिलाउनु पर्छ र आवश्यकता अनुसार स्थानीय तहमा क्वारेन्टाइनमा राख्नु पर्दछ ।

प्रधानमन्त्रीज्यूले करिव ८० करोड राहत वितरण गरेको जानकारी सञ्चार माध्यम मार्फत गराउनु भएको भएतापनि एउटा वर्ग नागरिकता लगायतका कागजातको अभावमा राहत पाउनबाट बञ्चित छन् । वर्तमान अवस्था महामारीको अवस्था हो । यस्तो अबस्थामा स्वदेशी वा विदेशी, स्थानीय वा बाहिरको भनेर नछुट्याई कस्कोे आर्थिक अबस्था कमजोर छ ? कसलार्ई राहतको आवश्यकता छ ?त्यतातिर प्राथमिकता दिइ सबैको बाच्न पाँउने अधिकारलाई प्रत्याभुत गर्ने दायित्व राज्यले निर्वाह गर्नु पर्दछ ।

कोरोना भाइरसको संक्रमणको रोकथामका निम्ति लामो समयसम्म कायम रहेको लकडाउनले करार, ज्यालादारीमा कार्यरत असंगठीत क्षेत्रका मजदुरहरु, पर्यटन तथा होटेल क्षेत्रमा कार्यरत मजदुरहरु, निर्माण तथा इट्टा भट्टामा कार्यरत मजदुरहरु, साना तथा मझौला उद्योग व्यवसायीक प्रतिष्ठान र विभिन्न उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवीहरुको रोजगारी गुमेका कारण आम्दानीको श्रोतमा व्यापकरुपमा ह्रास आएको हुँदा सबै क्षेत्रमा कार्यरत श्रमजीवीहरुका निम्ति तत्कालै राहत प्याकेजको घोषणा गरिनुपर्ने । साना मझौला उद्योग व्यवसायहरु एवं स्वरोेजगारहरुलाई अनुदान सहित विशेष राहतका प्याकेज तत्कालै घोषणा गर्नुपर्दछ ।

लामो समय देखी हजारौको संख्यामा नेपालीहरु भारतीय सीमा नाकामा घर फर्कने पर्खाइमा छन् । उनिहरुलाई सुरक्षितरुपमा तत्काल नेपाल भित्राउनु पर्दछ र आ–आफ्नो स्थानीय तहमा क्यारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनु पर्दछ । विश्वका विभिन्न मुलुकहरुमा वैदेशिक रोजगारीका लागि गएका श्रमिकहरुमध्य आम्दानीको श्रोत गुमेर दैनिक गुजारा धान्न नसकेका श्रमिकहरुलाई सम्बन्धित मुलुकसँग समन्वय गरी रोजगारीको संरक्षण गर्न र स्वदेश फर्कन चाहनेहरुलाई आफ्नो मुलुक फर्किने वातावरण सरकारले तयार गर्नुपर्दछ । साथै स्वदेश फर्केपछि उनीहरुलाई क्यारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनु पर्दछ ।

कुखुरा पालन,माछा पालन, तरकारी उत्पादन, दुग्ध उत्पादन, चिया उत्पादन जस्ता कृषिसँग सम्बन्धित व्यवसायमा हुने उत्पादन एवं उत्पादित सामाग्रीहरुको पहँुच बजार सम्म नभएका कारण लाखौ कार्यरत श्रमजीवीहरुको रोजगारी गुमेको छ । स्थानीय श्रोत र साधनमा आधारित कृषि तथा पशुजन्य उत्पादनको आपुर्ती तथा वितरणमा सहजता ल्याउदै यस्ता व्यवसायको संरक्षणका निम्ति विशेष राहत उपलब्ध गराउनु पर्दछ।

एक महिनाको लकडाउनबाट नै ठुला रोजगारदाताहरु समेत आर्थिक रुपमा टाट पल्टने अबस्थामा पुगेको मनस्थितीमा छन् । यथार्थमा त्यस्तो अबस्था होइन । औपचारिक क्षेत्रमा कार्यरत सम्पूर्ण मजदुरहरुलाई खाइपाई आएको तलव, भत्ता एवं सुविधालाई निरन्तर उपलब्ध गराउने शर्तमा ठुला रोजगारदाताहरुलाई व्याजमा छुट तथा नीतिगत एवं कानूनी सहजीकरण गर्नु पर्दछ । यस्तो अबस्थामा श्रमिक र रोजगारदाताले मिलेर उत्साहका साथ सहज रुपमा उद्योग व्यवसाय सञ्चालन गर्दै मुलुकको आर्थिक उन्नतीमा सक्रिय रुपमा सहभागिता जनाउन सक्दछन् ।

स्वास्थ्य नै धन हो भन्ने कुरालाई आत्मसात् गरी स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउन विभिन्न रोगहरुको उपचार एवं अप्रेशन गर्ने कार्यलाई समेत निरन्तरता प्रदान गर्नुपर्दछ । भविष्यको कर्णधार बालबालिकाहरुको स्वास्थ्यलाई प्राथमिकता क्रममा राखी नियमित खोपका कार्यक्रमहरुलाई निरन्तरता प्रदान गर्दै बालबालिका, गर्भवती, शारीरीक तथा मानसिक रुपमा अस्वस्थ एवं बृद्ध बृद्धाको उपचारमा विशेष प्राथमिकता दिनुपर्दछ ।

निजीक्षेत्रका अस्पतालहरुले सर्वसाधारणलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनुको सट्टा बहानाबाजी गरेर उम्कीरहेका छन् । त्यस्ता अस्पतालहरुलाई अनुगमनको दायरामा ल्याई विपत्तीमा सहयोग नगर्ने निजी अस्पतालहरुलाई राष्ट्रियकरण गर्नुपर्दछ ।

कोरोना भाइरसको परिक्षण अझैपनि व्यापकरुपमा हुन सकेको छैन । परिक्षणको दायरालाई अझै फराकिलो गराउनु पर्दछ । र सोहीअनुरुप संकास्पद क्षेत्रमा विशेष निगरानी बढाउनु पर्दछ ।
लकडाउन कोरोना भाइरसको उपचार होइन । यो कोरोना भाइरस फैलन नदिने एउटा संयन्त्र मात्र हो। यसका अलावा यो संकटको समयमा राहत उपलब्ध गराउन र भविष्यका लागि आवश्यक नीति तथा कार्यक्रमहरु तर्जुमा गर्नका निम्ती तय गरिएको संक्रमणकालीन तथा विशेष समय हो । यस समयमा गरीव, विपन्न, सीमान्तकृत, मजदुर तथा किसानका पक्षमा विभिन्न तहको सरकार र राजनीतिक दलहरुले आफुलाई ठुलो छाती बनाएर उभ्याउनु पर्दछ र मनैदेखी सहयोग गर्नुपर्दछ । यस्तो अप्ठयारो परिवेशमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तहका गैर सरकारी संघ संस्थाहरु र नागरिक समाजले मजदुर र किसानको पक्षमा सहयोगका हात बढाउनु पर्दछ । विभिन्न राजनीतिक आन्दोलनमा प्रतिनिधिको रुपमा अग्रपंक्तिमा उभिएका ट्रेड युनियनहरुले मजदुर माथी आइलागेको यस्तो विपत्तीमा उनीहरुलाई महसुस हुने ढंगले आफुलाई उनीहरुको पक्षमा उभ्याउन सक्नु पर्दछ । अन्यथा मजदुरको भविष्य सँगसँगै ट्रेड युनियन आन्दोलन र मुलुकको भविष्य समेत अनिश्चितता तर्फ धकेलिन्छ ।

(दाहाल, निवर्तमान अध्यक्ष, नेपाल ट्रेड युनियन कांग्रेस, राष्ट्रिय समिति हुनुहुन्छ ।)