आज मोहिनी एकादशीव्रत(स्मार्त) महिमासहित हेर्नुहोस् २०७७ वैशाख २१ गते


हरेकपल May 3, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको २१ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको ३ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको एकादशी तिथि राति २।३८ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पूर्वाफाल्गुनी नक्षत्र बेलुका ६।१८ बजेसम्म रहनेछन् । यसैगरी आज ध्रुव योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ५।२५ मा छ भने सूर्यास्त बेलुका ६।३८ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा रहेका छन् ।


आज स्मार्तको मोहिनी एकादशीव्रत परेको छ । स्मृति मान्ने स्मार्त हुन् । वैष्णवसम्प्रदायले द्वादशीमा एकादशीव्रत लिने भएकाले भोलि परेको छ । बैशाख शुक्लपक्षको एकादशीलाई मोहिनी भनिन्छ । मोहिनी एकादशीको व्रत धारण गर्नाले मोहका साथै पापजालबाट पनि मुुक्ति मिल्ने फल वर्णन पाइन्छ । एकादशी भगवान्को उपासना गर्ने उत्तम दिन हो । सम्पूर्ण पपकर्म नष्टभई पुण्य फलिभूत हुने एकादशीको व्रत धारण गर्नाले इह लोकको भुक्तिका साथै परलोकमा पनि मुक्ति प्राप्त हुने फल वर्णन पाइन्छ । यसैगरी एकादशीको व्रततकथा श्रवण गर्नाले पनि सम्पूर्ण पाप नष्ट भएर जान्छन् भनी एकादशी माहात्म्यमा उल्लेख गरिएको छ ।

विशेषगरी मोहबाट छुट्कारा दिलाउने भएकाले मोहिनी नाम रहन गएको हो । भगवान् श्रीकृष्णले राजा युधिष्ठिरको जिज्ञासा समाधान गर्ने प्रसङ्गमा मोहिनी एकादशीको व्रतकथा वर्णन गर्नुभएको छ ।सम्पूर्ण शोक र मोहबाट मुक्तिदिने एकादशीको महिमा अपरम्पार रहेको छ । विधिपूर्वक भगवान्को आराधना गरी धारण गरिएको व्रतले अनैतिक पापकर्मबाट पनि मुक्तिमिल्ने फल वर्णन गरिएको छ ।


व्रतका समयमा अरुको आलोचना गर्नुहुँदैन भनेर बताइएको छ । यसैगरी खानपिनमा जलाहार, फलाहार एवं सात्विक आहार लिन सकिन्छ । दिनमा भगवान्का विभिन्न लीलावताका कथाको श्रवण पनि लाभदायी मानिएको छ । यसैगरी बेलुका भागवान्को विशेष आरती गर्नुपर्दछ ।
रात्रिमा भगवान्को नाम संकीर्तन गर्दे जागरण रहनु पनि लाभदायी रहन्छ । एकादशीको भोलिपल्ट विहान स्नानादि कार्य गरी ब्राह्मणलाई पूर्णपात्र, सिदादि दक्षिणा दिई भोजन गराई आफूले पनि भोजन गर्नुपर्दछ । यसरी गरिएको एकादशीव्रत समस्त मनोकामना सिद्धिदायी रहने कुरा एकादशी माहात्म्यमा वर्णन गरिएको छ ।