विज्ञ भन्छन्- ‘डिस्‍इन्फेक्टेन्ट टनेल कामै छैन’


हरेकपल May 3, 2020

काठमाडौं । नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्ने गाडीलाई संक्रमणमुक्त पार्न नागढुंगामा ‘डिस्इन्फेक्टेन्ट टनेल’ जडान गरिएको छ । टनेलमा सोडियम ‘हाइपोक्लोराइट सोलुसन’ र ‘इनोक्लिन’ मिसाइएको पानी छर्किने गरिएको छ ।

गाडी आएका बेला स्विच थिचेपछि पाइपले रसायनयुक्त पानी छर्किन्छ । कोभिड–१९ संक्रमण फैलिएको क्षेत्रबाट समेत गाडी आउने भएपछि सुन्दर यातायातले शुक्रबारदेखि टनेल सञ्चालन गरेको हो ।

भक्तपुर प्रवेश गर्ने गाडीमा क्लोरिन मिसाइएको पानी छर्किन थालेको धेरै भइसकेको छ । मारवाडी युवा मञ्चले काठमाडौंको वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, धनगढीको सेती र वीरगन्जको नारायणी अस्पतालमा सेनिटाइजर टनेल राखिदिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा पनि यस्ता टनेल राखिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भने यस्ता टनेलबाट रसायनयुक्त पानी छर्कनुको अर्थ नरहेको बताउँछन् । ‘गाडीभित्र बसेका मानिसले सरसफाइका विधि अपनर सुरक्षित भइन्छ । गाडी बाहिर सफा गरेर केही अर्थ छैन । कोभिड–१९ मान्छेबाट मान्छेमा सर्ने रोग हो । हातबाट, संक्रमितले प्रयोग गर्ने सामानबाट र हाच्छ्युँ गर्दा भाइरस सर्छ । क्लोरिन छर्कनु देखावटी र खर्च बढाउने काम मात्रै हो,’ उनले भने । यसरी छर्केपछि आफू सुरक्षित भएको महसुस गरेर व्यक्तिगत सरसफाइमा कम ध्यान जान सक्ने पनि उनले बताए ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका वरिष्ठ माइक्रोबायोलोजिस्ट निरन्जन थापाले डिस्इन्फेक्टेन्टको मिश्रण छर्किनुको अर्थ नरहेको बताए । ‘लुगालाई संक्रमणमुक्त बनाउन खोजेको हो भने पनि त्यसलाई केही समय डिस्इन्फेक्टेन्टमा डुबाएर सुकाएपछि मात्रै त्यो संक्रमणमुक्त हुन सक्छ,’ उनले भने, ‘गाडीको बाहिरी सतहमा छर्किनुको कुनै औचित्य छैन । भाइरस त्यसरी सर्दैन ।’ थापाले आविष्कारका नाममा यस प्रकारका उत्पादनले स्रोतसाधन दुरुपयोग मात्रै गरेको बताए । माइक्रोबायोलोजिस्ट थापाको विचारसँग संक्रामक रोग विशेषज्ञ डा। अनुप सुवेदी पनि सहमत छन् । ‘कोभिड–१९ कसरी सर्छ भनेर थाहै नभएको मानिसले झैं व्यवहार गरेको देख्दा अचम्म लाग्छ । कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आए मात्रै यो रोग सर्छ । अहिले सडक, गाडी सफा गरेर नाटक गर्ने समय होइन । राम्रोसँग साबुनपानीले हात धोए भइहाल्यो नि,’ उनले भने ।

डा। सुवेदीले क्लोरिन पानी छर्कंदैमा भाइरस नमर्ने बताए । उनले महामारीको नाममा यसरी स्रोतको जथाभावी दुरुपयोग गर्न नहुनेमा जोड दिए । ‘अहिले त हामीले भएको सामग्री भोलि हुन सक्ने आउटब्रेकका लागि जोगाएर राख्नुपर्छ । गाडी र मान्छेमा क्लोरिन पानी छर्केर केही हुँदैन,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।