वैशाख २५ पछि लकडाउनको स्वरुप परिवर्तन गरिने, सीमा नाका र हवाई उडान नखुल्ने


हरेकपल May 3, 2020

काठमाडौं, २१ वैशाख । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २५ गतेपछि लकडाउनको स्वरुप बदल्ने निर्णय गरेको छ ।

लकडाउनकै कारण कोरोनाको जोखिम बढ्न नपाएको निष्कर्षसहित मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय सीमा नाकामा अझै कडाइ गर्ने निर्णय गरेको छ । सरकारले तत्काललाई अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान भने नखोल्ने भएको हो ।

लकडाउन खोल्न जिल्लालाई जोखिमको आधारमा गाढा रातो, रातो, पहेँलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यसै आधारमा क्रमशः अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्याउन लागिएको छ ।

स्वास्थ्य मन्त्रालयले अतिउच्च र उच्च जोखिमलाई पूर्ण लकडाउन गर्ने र सामान्य जोखिमलाई आंशिक रुपमा बन्दाबन्दी गर्ने गरी मस्यौदा तयार गरेको छ । सोही आधारमा लकडाउनको व्यवस्था हुनेछ ।