राष्ट्रपतिद्वारा संसदका दुवै सदनको अधिवेशन आह्‍वान


हरेकपल May 3, 2020

काठमाडौं, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्‍वान गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी संसदका दुवै सदनको अधिवेशन आह्वान गरिएको जनाएको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते शुक्रबार ४ बजेका लागि संसद बैठक आह्‍वान गर्न राष्ट्रपति भण्डारीलाई सिफारिस गरेको थियो ।

संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्‍वरमा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसादघिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।