श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको २२ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको ४ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको द्वादशी तिथि राति १२।१३ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । उत्तराफाल्गुनी नक्षत्र बेलुका ४।४३ बजेसम्म रहनेछन् । यसैगरी आज व्याघात योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ५।२४ मा छ भने सूर्यास्त बेलुका ६।३९ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा रहेका छन् ।
आज वैष्णवहरूको मोहिनी एकादशीव्रत परेको छ । वैष्णव सम्प्रदायकाले द्वादशीविद्ध एकादशीको व्रतधारण गर्ने भएकाले यो एकादशी स्मार्त र वैष्णवका निम्ति भिन्नाभिन्नै दिन परेको छ । वैशाख शुक्लपक्षको एकादशीलाई मोहिनी भनिन्छ । मोहिनी एकादशीको व्रतधारण गर्नाले मोहका साथै पापजालबाट पनि मुुक्ति मिल्ने फल वर्णन पाइन्छ । एकादशी भगवान्को उपासना गर्ने उत्तम दिन हो । सम्पूर्ण पपकर्म नष्टभई पुण्य फलिभूत हुने एकादशीको व्रत धारण गर्नाले इह लोकको भुक्तिका साथै परलोकमा पनि मुक्ति प्राप्त हुने फल वर्णन पाइन्छ । यसैगरी एकादशीको व्रततकथा श्रवण गर्नाले पनि सम्पूर्ण पाप नष्ट भएर जान्छन् भनी एकादशी माहात्म्यमा उल्लेख गरिएको छ ।
विशेषगरी मोहबाट छुट्कारा दिलाउने भएकाले मोहिनी नाम रहन गएको हो । भगवान् श्रीकृष्णले राजा युधिष्ठिरको जिज्ञासा समाधान गर्ने प्रसङ्गमा मोहिनी एकादशीको व्रतकथा वर्णन गर्नुभएको छ ।सम्पूर्ण शोक र मोहबाट मुक्तिदिने एकादशीको महिमा अपरम्पार रहेको छ । विधिपूर्वक भगवान्को आराधना गरी धारण गरिएको व्रतले अनैतिक पापकर्मबाट पनि मुक्तिमिल्ने फल वर्णन गरिएको छ ।