नेपाली सेनामार्फत जर्मनीबाट किट ल्याउँदै सरकार


हरेकपल May 4, 2020

काठमाडौं, २२ वैशाख । सरकारले कोभिड–१९ को परीक्षणका लागि आवश्यक सामग्री ल्याउन थालेको छ । पहिले परीक्षणका लागि ल्याइएका किट सकिन थालेपछि पिसिआर र आरडिटीका लागि आवश्यक सामग्री ल्याउन थालिएकोे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । नेपाली सेनामार्फत जर्मनीबाट ती किट ल्याउन थालिएको हो । 

मन्त्रालयले पहिलोपटक बोलपत्र आह्वानबाट ७० हजार आरडिटी किट ल्याएको थियो । अहिले ती सबै आरडिटी किट सबै प्रदेश र स्थानीय तहमा पठाइसकेकाले मन्त्रालयसँग किट छैन । ‘पहिले आएका सबै किट हामीले परीक्षणका लागि सबै ठाउँमा पठाएका छौँ,’ उनले भने, ‘परीक्षणको कमी हुन नदिनका लागि चाँडै नै खरिद प्रक्रियाबाट किट ल्याउँदै छौँ ।’ 

पिसिआरबाट भने क्षमताअनुसार परीक्षण गरिएको छ । पिसिआर पनि थोरै भएकाले अत्यावश्यक कामका लागि मात्र प्रयोग गर्ने भनेर राखिएको उनले जानकारी दिए । सरकारले क्वारेन्टाइनमा रहेका सबैको परीक्षण गर्ने मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए । 

अहिलेसम्म क्वारेन्टाइनमा २१ हजार ९५८ रहेका छन् । पिसिआर र आरडिटीमार्फत हालसम्म ६१ हजार १०२ को स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ४१४ र आरडिटीमार्फत ४९ हजार ६८८ व्यक्तिको परीक्षण गरिएको छ ।