विदेशमा रहेका सबै नेपालीलाई कोरोना संक्रमणबाट सुरक्षित रहन कांग्रेस सभापति देउवाकाे अपिल


हरेकपल May 4, 2020

बाल्टिमोर, अमेरिका । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देश विदेशमा रहनु भएका सबै नेपालीलाई कोरोना संक्रमणबाट सुरक्षित रहन अपिल गर्नुभएको छ । सभापति देउवाले कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितिमा विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन सरकारले आवश्यक पहल गर्नुपर्ने पनि बताउनु भएको छ ।

विश्वका विभिन्न देशमा छरिएर रहेका जनसम्पर्क समिति र एनआरएनमा आवद्ध पार्टीका नेतृत्व तहका सदस्यहरुको सामुहिक छलफलका क्रममा सभापति देउवाले यस्तो पहल गर्नुपर्ने बताउनुभएको हो । सभापति देउवाले कोरोना संक्रमणका कारण विदेशमा निधन भएका नेपाली दाजुभाई एवं दिदीबहिनीहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै दिवंगत परिवारका सदस्यहरुप्रति समवेदना समेत व्यक्त गर्नु भएको छ ।

विदेशमा अहिलेको संकटमा रहेका र स्वदेश फर्कन चाहिरहेका नेपालीहरुको समस्याप्रति सम्बोधन गर्दै सभापति देउवाले भन्नुभयो-‘उहाँहरुलाई स्वदेश फर्काउनुपर्छ । स्वदेश फर्काउने दायित्व राज्यको हो । यसका लागि हामी राज्य गम्भीर बन्नुपर्छ भन्छौं ।’

महाधिवेशनमा प्रतिनिधित्वका सम्बन्धमा सभापति देउवा

विश्वका विभिन्न देशमा रहेका जनसम्पर्क समितिका सभापति,पूर्व सभापति,महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु एवं जनसम्पर्क समितिमा सक्रिय रहेका र एनआरएनमा आवद्ध कांग्रेस समर्थकहरु सहभागी बैठकमा सभापति देउवाले सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्दै भन्नुभयो- ‘पार्टीको महाधिवेशनमा विदेशमा रहेका जनसम्पर्क समितिका साथीहरुले भाग लिन नपाउने भन्ने छैन । पार्टीको विधानमा यस बारे प्रष्ट उल्लेख छ । विदेशमा रहेका नेपाली नागरिकहरुले पार्टी महाधिवेशनमा भाग लिन पाउनु हुन्छ । तर विदेशको नागरिकता लिइसकेका व्यक्तिहरुका बारे चाही यो व्यवस्था छैन । यसले भोली पार्टीमा समेत समस्या आउन सक्छ । यसको समाधान गर्न छलफल गर्न सकिन्छ ।’

छलफलमा पार्टी उपसभापति विमलेन्द्र निधि,सह-महामन्त्री डाक्टर प्रकाशशरण महत,संविधान सभा सदस्य डाक्टर आरजु राणा देउवा र केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमूख गोविन्द भट्टराईले पनि विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको वर्तमान अवस्थाका बारे चासो राख्दै आफ्ना भनाइहरु व्यक्त गर्नु भएको थियो ।

सहभागी नेपालीहरुले यो संकटको घडीमा स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फिर्ताका लागि पहल गरिदिन पार्टी नेतृत्वलाई पहलकदमी लिनका लागि अनुरोध गरेका थिए । यसैगरी सम्बन्धित देशमा कोरोना संक्रमणले असर पारिरहेको अवस्थामा आफुहरुले गरिरहेको सहयोगको बारे समेत सहभागीहरुले नेतृत्वलाई अवगत गराएका थिए ।

सभापतिसहित पार्टी नेतृत्व सामुहिक रुपमा यो संकटका बेला विदेशमा रहेका आफ्ना समर्थक र शुभेच्छुक माझ छलफलमा सहभागी भएको यो पहिलोपटक हो । नेपाली कांग्रेस, जनसम्पर्क समिति समन्वय विभागले आयोजना गरेको यो छलफलका लागि कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वय आनन्द विष्ट र बालकृष्ण पाण्डेसहित प्राविधिक रुपमा बेल्जियममा रहेका गंगाधर गौतम र लण्डनमा रहेका चिरन शर्माले विशेष समन्वय गरेका थिए ।

छलफलमा सबै देशका जनसम्पर्क समितिका सभापतिसहित १५० भन्दा बढी कांग्रेस समर्थकहरु सहभागी थिए । पाँच घण्टाभन्दा लामो समयसम्म चलेको छलफलमा पार्टी सभापति देउवासहित सबै नेताहरु निरन्तर सहभागी हुनुहुन्थ्यो ।