आरडिटी कीटको अभाव


हरेकपल May 5, 2020

बैतडी । बैतडीमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किटको अभाव भएको छ । जिल्लामा भारतबाट फर्केका सबै नागरिकको आरडिटी गर्ने भनिए पनि किटको अभावमा सो कार्य अघि बढाउन नसकिएको हो ।

जिल्लाका १० वटै स्थानीय तहमा भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय भएको भए पनि किटको अभावमा सो कार्य अघि बढाउन नसकिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । डिलाशैनी र दोगडाकेदार गाउँपालिकामा मात्रै भारतबाट फर्केका नागरिकको आरडिटी गर्न किट पठाइएको छ । जिल्लामा हाल ६०० किट मात्रै मौज्दात रहेका उहाँले बताउनुुभयो ।

जिल्लामा चैत महिनामा झण्डै पाँच हजार नागरिक भारतबाट फर्केका भए पनि ५४८ को आरडिटी गरिएको छ । यस्तै ४३० को स्वाब परीक्षण गरिएको थियो । अहिलेसम्म परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसका साथै गत बिहीबार मात्रै भारतबाट बैतडीका एक हजार बढी नागरिक भित्र्याइएको थियो ।

जिल्लामा आरडिटी किटको अभाव भएकाले प्रदेशमा माग गरिएको भए पनि प्रदेशमा समेत आरडिटी किटको अभाव रहेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण योजनाअन्तर्गत जिल्ला संयन्त्रको बैठकले भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय गरेको थियो तर किटको अभावमा सो निर्णय कार्यान्वयनमा समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।