अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार घटिरहे पनि नेपालमा किन घटेन ?


हरेकपल May 5, 2020

काठमाडौं, २३ वैशाख । कोरोनाका कारण विश्वव्यापी लकडाउन हुँदा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य निकै घटेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार घटिरहे पनि नेपालमा सरकारले इन्धनको मूल्य तत्काल नघटाउने भएको छ ।

भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई मे १ तारेखमा पठाएको नयाँ मूल्यसूचीअनुसार निगमलाई एक लिटरमा पेट्रोलमा २२ रुपैयाँ ४५ पैसा, डिजेलमा २५ रुपैयाँ ६९ पैसा, मट्टीतेलमा ५५ रुपैयाँ ३५ पैसा, हवाई इन्धन आन्तरिकतर्फ ३३ रुपैयाँ ५३ पैसा, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ ८४ रुपैयाँ ६४ पैसा नाफा छ ।

यस्तै खाना पकाउने ग्यासमा निगमलाई प्रतिसिलिण्डरमा एक सय ८१ रुपैयाँ ७० पैसा नाफा छ । उल्लेखित नाफा सरकारले लिने सबै प्रकारको करकट्टी गरेर भएको नेपाल आयल निगमले जनाएको छ ।

सरकारले पेट्रोलमा ४२ रुपैयाँ ७३ पैसा, डिजेलमा २६ रुपैयाँ १५ पैसा, मट्टीतेलमा २ रुपैयाँ ८८ पैसा, हवाई इन्धन आन्तरिकतर्फ २१ रुपैयाँ ५० पैसा, हवाई इन्धन अन्तराष्ट्रियतर्फ ११ रुपैयाँ १८ पैसा र एपी ग्यासमा प्रतिसिलिण्डर दुईसय तीन रुपैयाँ २४ पैसा कर भन्सार बिन्दुमै असुल गर्छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमको नाफा कोरोना रोकथाम तथा उपचार कोषमा पठाउनुपर्ने भएकाले मूल्य समायोजन नगर्ने बताए ।

मंगलबार सञ्चारकर्मीहरुसंग भर्चुअल कुराकानी गर्दै आयल निगमले सोमबार मात्रै कोरोना नियन्त्रण कोषमा ५० करोड रुपैयाँ पठाएको बताए । अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार मूल्य समायोजनका केही समय पछि गृहकार्य हुने उनले बताए ।

नेपाल आयल निगमले भने निगमको नाफा कोरोना कोषमा पठाउने निर्णय भएकोबारे अनविज्ञता प्रकट गरेको छ ।