आज नृसिंहजयन्ती, महिमासहित हेर्नुहोस् २०७७ वैशाख २४ गते


हरेकपल May 5, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको २४ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको ६ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको चतुर्दशी तिथि बेलुका ७।२१ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । चित्रा नक्षत्र दिवा १।२३ बजेसम्म रहनेछन् । यसैगरी आज सिद्धि योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ५।२३ मा छ भने सूर्यास्त बेलुका ६।४० बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा रहेका छन् ।


आज नृसिंहजयन्ती हो । हिरण्यकशिपुको अहंकारलाई अन्त्य गरी भक्तप्रह्रादको दर्शन दिन नृसिंह भगवान्ले अवतारग्रहण गर्नुभएको थियो । हिरण्यकशिपुलाई न जलमा, न स्थलमा, न भित्र, न बाहिर, न मान्छेले, न त पशुले, न अस्त्रले न त शस्त्र आदि कुनै वस्तुले पनि मृत्यु नहुने वरदान ब्रहाजीबाट प्राप्त भएको थियो । यही घमण्डका कारण स्वयं आफैलाई ईश्वर घोषणा हिरण्यकशिपुले गरेको थियो । आफ्नै छोरा प्रह्रादलाई समेत तरवार लिएर मार्न उद्यत भएपछि भगवान्ले नृसिंह(आध मान्छे र आधा सिंह)को स्वरूप धारण गर्नुभएको थियो । यसपछि भगवान्ले हिरण्यकशिपुलाई सन्ध्याकालमा, ढोकाको सँघारमा बसी, काखमा राखेर नंग्रले नै अन्त्य गरिदिनुभएको थियो । अधर्मको नाश गर्न अवतार भएको दिन यही वैशाख शुक्लपक्षको चतुर्दशी रहेको थियो । आज नृसिहं भगवान्को उपासना विशेष लाभदायी रहने गर्दछ ।