विराटनगरमा उपचार गराइरहेका ६ संक्रमित आज डिस्चार्ज हुँदै


हरेकपल May 6, 2020

विराटनगर । विराटनगरमा कोरोना भाइरस (कोभिड–१९) को उपचार गराईरहेका ६ कोरोना संक्रमित भारतीय नागरिक आज डिस्चार्ज हुने भएका छन् ।

उदयपुरको एक मस्जिदमा बसिरहेका उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि बैशाख ५ र ६ गते विराटनगरस्थित कोसी अस्पतालको कोरोना उपचार केन्द्रमा भर्ना भएका थिए।

६ जनाको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाले बुधबार डिस्चार्ज गर्ने तयारी रहेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

डिस्चार्ज हुनेमा ३०, २९, २८, २१, ३४ र २६ वर्षीय भारतीय नागरिक रहेका छन् । हाल नेपाल–भारत दुवैतर्फ लकडाउन भएकाले उनीहरुलाई डिस्चार्जपछि तत्काल विराटनगर–१६ रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने मन्त्री घिमिरेले बताए।

मस्जिदमा १० वटा बेडरुम र अलग्गै १० वटा शौचालयको व्यवस्था रहेकोले उनीहरुलाई मस्जिदमै राखिने तयारी भएको हो ।
विराटनगरको कोरोना अस्पतालमा ३१ जना स्रक्रमित उपचाररत् छन्। ती मध्ये २८ जना उदयपुरमा भेटिएका संक्रमित हुन्।