आज गौतमबुद्धजयन्ती, उभौलीपर्व पनि हेर्नुहोस् २०७७ वैशाख २५ गते


हरेकपल May 6, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको २५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको ७ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको पूर्णिमा तिथि बेलुका ७।३ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । स्वाती नक्षत्र दिवा ११।५० बजेसम्म रहनेछन् । यसैगरी आज व्यतिपात योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।२२ मा छ भने सूर्यास्त बेलुका ६।४० बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा रहेका छन् ।
आज गौतमबुद्धजयन्ती, उभौलीपर्वका साथै चण्डीपूर्णिमा पनि परेको छ । यसैगरी पूर्णिमाको व्रत लिने दिन पनि आज नै हो । शान्तिका अग्रदुत भगवान् गौतमबुद्धको वैशाख शुक्लपूािर्णमाकै दिन जन्मका साथै यसै दिन महापरिनिर्वाण पनि भएको थियो । यस अवसरमा आज भगवान् बुद्धको विशेष पूजा आरधना हुने गर्दछ ।


आज किराँत समुदायमा उभौली पर्व मनाउनुका साथै चण्डी नाच पनि विशेष प्रदर्शन गरिन्छ । यसैगरी पूर्णिमाको अवसरमा विभिन्न धार्मिक स्थलमा मेला लाग्नुका साथै कूलपूजा, गोठधूप आदि कार्य पनि हुने गर्दछन् ।