नेकपा स्थायी कमिटी बैठक स्थगित


हरेकपल May 6, 2020

काठमाडौं, २४ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकमा छलफल हुँदै गर्दा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ‘म थाकेँ’ भनेर हिँडेपछि बैठक विनानिष्कर्ष टुंगिएको थियो । बैठक टुंगिएपछि दुई अध्यक्षबीच पुनः छलफल गरेर बैठक स्थगित गरिएको हो ।

यसअघि शनिबार बसेको सचिवालय बैठकले २५ गतेका लागि स्थायी कमिटीको बैठक बस्ने निर्णय गरेको थियो । तर, बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको प्रस्ताव तयार पार्न नभ्याएको बताएका थिए ।

सरकारले बिहीबारका लागि बजेट अधिवेशन बोलाएको छ । प्रधानमन्त्री ओली सो कामका लागि व्यस्त रहेकाले पनि स्थायी कमिटी बैठक तत्कालका लागि स्थगित गरिएको हो ।

स्थगित बैठकबारे जानकारी गराउँदै महासचिव विष्णु पौडेलले भने, ‘सचिवालयले हामीलाई प्रस्ताव तयार पार्ने जिम्मा दिएको थियो । हामीले भ्याएनौं, भोलिको बैठक स्थगित भएको छ । अर्को बैठकको मिति पछि तय हुन्छ ।’