बुद्धका उपदेश परिपालन गरे राष्ट्रिय एकता थप सुदृढ : राष्ट्रपति


हरेकपल May 7, 2020

काठमाडौं । राष्ट्रपति विद्यादेवी  भण्डारीले शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सके राष्ट्रिय एकतालाई थप सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन्।

बिहीबार २५६४ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेकी छन्।
सन्देशमा भनिएको छ, ‘शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच  सहिष्णुता र आपसी सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु।’

विश्वव्यापी महामारीका रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) को महाविपत्तिबाट सम्पूर्ण विश्वले शीघ्रातिशीघ्र मुक्ति पाउने कामना गर्दै राष्ट्रपतिले बुद्धजयन्तीका यस अवसरमा एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महाभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।