कोरोना भाइरसको महामारी अमेरिकामाथिको इतिहासकै ठूलो आक्रमण : ट्रम्प


हरेकपल May 7, 2020

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी अमेरिकाको इतिहासमै ठूलो आक्रमण भएको बताएका छन् ।

उनले कोरोना महामारीलाई दोस्रो विश्वयुद्धका क्रममा जापानी सेनाले पर्ल हार्वरमा सन् १९४१ गरेको आक्रमण र ११ सेप्टेम्बर सन् २००१ मा पेन्टागनमा अल कायदाले गरेको आक्रमणभन्दा पनि भयानक हमला भएको बताए ।

पर्ल हार्बरमा भएको आक्रमणपछि अमेरिका औपचारिक रुपमा दोस्रो विश्वयुद्धमा प्रवेश गरेको थियो।

कोरोना भाइरसको महामारीले अमेरिकालाई पर्ल हार्बरमा जापानी सेनाका बम बर्षक विमानले गरेको आक्रमण भन्दा पनि गम्भीर रुपमा हमला गरेको बताएका छन् ।

ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘हाम्रो देशमाथि भएको अहिलेसम्मकै ठूलो आक्रमणबाट हामी गुज्रिएका छौँ, यो अहिलेसम्मकै ठूलो आक्रमण हो । यो कहिले हुन हुँदैनथ्यो । यसलाई उद्गम थलोमै रोक्न सकिन्थ्यो । चीनमा सीमित गर्न सकिन्थ्यो । तर त्यस्तो हुन सकेन ।’

चीनले कोरोना भाइरसको सुरुमै नियन्त्रण गर्न नसकेको र त्यसको जानकारी पनि विश्वकालाई नदिएकाले अहिलेको अवस्था आएकाले चीनमाथि सजाय हुने बताएका छन् ।

चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ७४ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ ।