उपत्यका भित्रिने मुख्य नाकामा अनुगमन शुरू


हरेकपल May 7, 2020

काठमाडौं । मुख्य नाका र चोरबाटो प्रयोग गरेर विभिन्न नाका हुँदै उपत्यकामा यात्रु भित्रिने क्रम बढ्न थालेपछि सरकारले ती स्थानमा अनुगमन शुरू गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उपत्यका भित्रिने सवारीसाधनको कडाइ गर्ने निर्णयगलत्तै उपत्यकाका दुई महानगरपालिकासहित सबै स्थानीय तहले अनुगमन शुरू गरेका छन् ।

बुधबार काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीसहितको टोलीले नाकामा अनुगमन गरेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले बुधबार नागढुंगा, भीमढुंगालगायत विभिन्न नाका अनुगमन गरी अत्यावश्यक कामबाहेक कुनै पनि काम लिएर उपत्यका प्रवेश गर्ने यात्रुलाई पँर्णरूपमा रोक लगाइएको जानकारी दिनुभयो ।

तीन दिनदेखि लगातार नाका अनुगमनमा निस्किएको टोलीले करिब ५ सय सवारीसाधनलाई फर्काइसकेको छ । एक दर्जन नाका हुँदै उपत्यकामा यात्रु भित्रिन थालेपछि प्रहरी प्रधान कार्यालयले सबै प्रहरी कार्यालय र विशेष गरी सीमाका प्रहरीलाई कडाइ गर्न निर्देशन दिइसकेको छ ।

स्थानीय निकायसहितको टोलीले उपत्यका आउने नाका नागढुंगा, फर्पिङ, नाङ्लेभारे, गल्छी, नाला, जगाते, मुड्खु, भीमढुंगा, नाला, चापागाउँ, कात्तिकेलगायतका सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालान गरिसकेको छ ।

महाशखा प्रमुख ढकालले सीमा र राजधानीको सुरक्षा गर्न एक सिफ्टमा ७ सय ४५ जना ट्राफिक प्रहरी परिचालन गर्ने गरेको जानकारी दिनुभयो । नेपाल र सशस्त्र प्रहरीले छुट्टै प्रहरी परिचालन गरेको छ । त्यस्तै मुख्य नाकामा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ ।

उपत्यका बस्दै गरेका नागरिक दैनिकरूपमा अत्यावश्यक सवारीसाधनको दुरुपयोग गरी धमाधम भित्रिन थालेपछि सरकारले उपत्यकालाई कोरोना संक्रमणबाट सुरक्षित बनाउन अनुगमनलाई कडा गरेको हो । ट्राफिक प्रहरीले आजबाट राजधानीको सवारी व्यवस्थामा थप कडाइ गर्ने भएको छ ।
नेपाल समाचारपत्र दैनिकमा खबर छ ।