संक्रमणग्रस्त क्षेत्रबाट फर्कन खोज्‍ने बढे


हरेकपल May 7, 2020

काठमाडौं । लकडाउन घोषणा गरिएसँगै थुप्रै व्यक्ति राजधानीलगायतका सहरी क्षेत्र छाडेर गाउँ फर्के । धेरै श्रमिक सयौं किलोमिटर हिँडेरै घर गए । पछिल्लो साता भने कोरोना संक्रमितको संख्या बढेका जिल्लाबाट राजधानीलगायतका सहर फर्कन खोज्नेको भीड बढेको छ ।

नेपालगन्जमा समुदायमा कोरोना संक्रमण फैलिएपछि विद्युतीय पास लिएर यहाँबाट अन्यत्र जाने बढेका छन् । गृह मन्त्रालयले अत्यावश्यक कामका लागि मात्र पास उपलब्ध गराउन जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । तर पछिल्ला दिनमा झुक्याएर पास लिने बढेका छन् । बाँकेबाट सबैभन्दा धेरै संघीय राजधानी काठमाडौंका लागि पास जारी भएका छन् । जिल्ला प्रशासनका अनुसार सांसद, एम्बुलेन्स र औषधिवाहक, दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने सवारीसाधनलाई पास आवश्यक पर्दैन ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले गृह मन्त्रालयको निर्देशनका आधारमा अहिलेसम्म काठमाडौं आउजाउका लागि पास उपलब्ध गराउँदै आएको बताए । तर लकडाउन सुरु भएपछि कति पास जारी गरियो, त्यसको अभिलेख नरहेको उनले जनाए ।

रौतहटबाट काठमाडौं जान पास माग्नेले जिल्ला प्रशासन कार्यालयमा हैरानी पार्न थालेका छन् । लकडाउनयता घर फर्किएकाहरूले तराईमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि पुनस् काठमाडौं फर्कन पास माग्न थालेका हुन् । पछिल्लो एक सातामा काठमाडौं जानका लागि प्रतिदिन १५/२० जनाले पास माग्ने गरेको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत शशिमोहन दासले बताए ।

ई–पास लागू हुनुअघि १ हजार १ सय ८६ जनाले काठमाडौं, पोखरालगायतका स्थान जान पास लिएको प्रशासनको तथ्यांक छ । यसैगरी इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले चैत ११ यता ६ सय ६६ जनालाई पास उपलब्ध गराएको छ । काठमाडौं फर्कन पास माग्नेको संख्या बढेपछि बिरामीबाहेकलाई नदिएको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख चेतनाथ बरालले बताए । प्रशासनले मुटु र क्यान्सरलगायतका गम्भीर प्रकृतिका बिरामीलाई बाहेक काठमाडौंलगायत बाहिर जाने पास दिन बन्द गरेको छ । जिल्लामा वैशाख १ यता ईशनाथ, बृन्दावन र देवाहीगोनाही नगरपालिकाका तीन जनामा कारोना संक्रमण देखिएको छ । उनीहरू सबैको वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।