शान्तिका अग्रदूत : भगवान गौतम-बुद्ध


हरेकपल May 7, 2020


सर्वजनहिताय सर्वजन सुखाय
बुद्धं शरण गच्छामि

विश्वका मानवसमुदायलाई चेतनाको ज्योतिद्वारा जगाउने देश हो नेपाल । अाध्यात्मिक चिन्तनको विकासद्वारा मानव जीवन सजाउने देश हो नेपाल!सृष्टिको आदिमकालदेखि नै वेदमन्त्र तथा शान्तिपाठ घन्काउने देश हो नेपाल! मानवमात्रलाई आफ्नो कर्तव्यबोधको नैतिक पाठ पढाउने गुरुदेश हो नेपाल! हिमालयको काखमा विराजमान ज्ञानभूमि, पावनभूमि, शान्तिभूमि, साधनाभूमि, तपोभूमि , देवभूमि आदिका रूपमा विश्वसामु सुपरिचित छ,सम्मानित र सुप्रतिष्ठित छ नेपाल! ऋषिमुनिहरूको तपोभूमि,महात्मा तथा दिव्यात्माहरूको साधनाभूमिका रूपमा विश्वविख्यात छ यो देश ; वस्तुतः जीवनका शाश्वत रहस्यहरू खोतलेर मानवजीवन सार्थक बनाउनका लागि महत्त्वपूर्ण पावनस्थल हो नेपाल! पौराणिक महिमाले भरिपूर्ण, ऐतिहासिक गरिमाले परिपूर्ण, प्राकृतिक तथा सांस्कृतिक सम्पदाले ओजपूर्ण यसदेशले सभ्यताको आदिमकालदेखि न‌ै त्यस्ता सपुतहरूलाई जन्माएको छ ; जसका कारण विश्वसामु हिमाली राष्ट्रका रूपमा स्वत:स्थापित बनेको छ नेपाल! वाल्मीकि, विश्वामित्र, व्यास, पाणिनि, वशिष्ठ, अगस्त्य, लोमश,च्यवनआदि ऋषिमहर्षिको साधनास्थल, नेमुनि तथा राजर्षि जनकको शासनस्थल , जगज्जननी सीता माताको जन्मस्थल अनि विष्णु भगवानको नवौँ अवतार मानिने भगवान गौतम बुद्धको अवतारस्थल बन्ने सौभाग्य पाएको पुण्य देवस्थल हो नेपाल । अनेकौँ पुण्यात्मा महात्मा तथा दिव्यात्माहरूको पादार्पणस्थल तथा पशुपतिनाथ, मुक्तिनाथ,पार्वती आदि देवीदेवताको निवासस्थल बनेको स्वयंमा एउटा अनुपम तीर्थस्थल हो नेपाल ।

पौराणिक महिमाले भरिपूर्ण, ऐतिहासिक गरिमाले परिपूर्ण, प्राकृतिक तथा सांस्कृतिक सम्पदाले ओजपूर्ण देश हो नेपाल , यसले सभ्यताको आदिमकालदेखि नै त्यस्ता विभूतिहरूको साथ पाएको छ ; त्यस्ता सपुतहरूलाई जन्माएक‍ो छ , जसका कारण विश्वसामु स्वतःसथापित बनेको छ नेपाल । एकातर्फ विश्वकै शिरका रूपमा सर्वोच्च शिखर सगरमाथालाई अगाल्न पाएर विश्वकै उचाइमा चुलिएको छ नेपाल!अर्कातर्फ यहाँ अवतीर्ण दिव्यात्मा महात्माहरूको चिन्तनद्वारा प्रस्फुटित ज्ञानचेतनाले विश्वकै मनमस्तिष्कलाई घच्घच्याइ रहेको देश हो नेपाल! भोगमा होइन योगमा सुख छ भन्दै अति भौतिकवादमा होइन अध्यात्ममा चुर्लुम्म डुबुल्की मार्न सिकाउने देश हो नेपाल! जसको प्रशंसा यतिबेला विश्वले नै गरिरहेकाले धेरै शव्द-खपतकै आवश्यकता नराख्ने स्वयंप्रकाशशील देश हो नेपाल ।

आज हामी त्यस्तो महत्त्वपूर्ण क्षणको स्मरण गरिरहेका छौँ,हामी नेपालीले मात्र होइन यतिबेला विश्व नै हिमाल/नेपालतर्फ फर्किएर दुईहात जोडी विश्वशान्तिका लागि प्रार्थना गरिरहेको छ, पुरै विश्वले नेपाल सम्झिरहेको छ,श्रद्धा अास्थाले भरिएको छ,नतमस्तक बनिरहेको छ। विश्वलाई नै आफूतर्फ आकर्षित पार्न सक्ने अद्भूत ज्ञानात्मक चुम्वकीय सामर्थ्य भएका विश्वका पथप्रदर्शक महामानव जगद्गुरु भगवान गौतमबुद्धको जन्मदिन आज २५६४अौँ बुद्धजयन्ती । आज हाम्रालागि राष्ट्रिय गौरवको पर्व हो, अझ महोत्सव नै हो।

आज विश्वका करोडौँ बौद्धधर्मावलम्वीका लागि मात्र होइन अपितु विश्वकै लागि विशेष दिन हो , आज साँच्चै भन्ने हो भने मानवमात्रका लागि ´स्वतन्त्रतादिवस` तथा ´विश्वशान्ति-दिवस` नै हो। वैशाखपूर्णिमाको तिथिमा आजभन्दा २५६३ वर्षपूर्व(ई०पू०५६३) नेपालको लुम्विनीमा राजा शुद्धोदन(पिता) र रानी मायादेवी(माता)(मायावती)को पुत्रत्नका रूपमा राजकुमार सिद्धार्थ गौतमको जन्म भएको हो । जन्मिएको हप्तादिनमै आमालाई गुमाएका सिद्धार्थ सौतेनीमाता प्रजावतीको वात्सल्यमा हुर्कन्छन्। त्यस समयका ख्यातिप्राप्त ज्योतिर्विद्ले उनको जन्मकुण्डली अध्ययन गरेर कि अविजेय चक्रवर्ती राजा बन्ने कि त महान् योगी(साधु-महात्मा) बन्ने विलक्षण योग परेको छ , जे भएपनि विश्वविख्यात हुने भविष्यवाणी गरेकाले उनका पिता शुद्धोदन आफ्नो राज्यको राजकुमार सिद्धार्थ पराक्रमी राजा बनोस् भन्ने चाहन्थे,त्यसैले उनी राजकुमारका अगाडि मनोरञ्जन र भोगविलािका सुन्दर सामग्रीमात्र राखिदिन्थे र मनमा खिन्नता तथा विरक्ति जगाउने कुनैपनि व्यक्ति वस्तु र सामग्री सकेसम्म उनको सामुमै नपरोस् भन्ने कुरामा विशेष निगरानी राख्थे । आफ्नो छोराको चञ्चल स्वभावभन्दा पनि शान्त स्वभावले उनी वारम्वार झस्किन पुग्थे। आफ्नो छोरो संसारमै रमाओस् भनेर अत्यन्त रूपवती कन्या यशोधरा (दण्डपाणिकी सुपुत्री) सँग १६ वर्षकै उमेरमा उनको विवाह गराइदिन्छन् , जसबाट सिद्धार्थको पुत्र जन्मिन्छन् । चन्द्रमाको प्रकाशलाई राहुले ढाकिदिए झैँ आफ्नो ज्ञानज्योति प्राप्तिका लागि बाधक बन्ने ठानेरै उनले छोराको नाम नै राहुल राखिदिन्छन् । रूपवती श्रीमती र पुत्ररत्न पाएर पनि राजकुमार सिद्धार्थ अलिकति पनि रमाउन सक्दैनन्,उनलाई भोगको इच्छा नै छैन केवल ज्ञानको भोकले सताइरहन्छ । सांसारिक दुःखलाई राम्ररी हृदयङ्गम गरेका उनी सर्वथा दुःखनिवृत्ति गर्ने महान् उद्देश्य बोकेर वालक छोरा,तरुणी श्रीमती र राजकीय वैभवलाई चटक्कै भुलेर मध्यरातमा घरबाट जङ्गलतर्फ लाग्छन्। गृहत्यागका यसबेला उनी मात्र २९ वर्ष पुगेका थिए ।

जङ्गलमा उनी सुरुसुरुमा पानीसमेत नपिई निराहार घनघोर तपस्या गर्न पुग्छन्, कठोर तपस्याबाट समेत उनले ज्ञान प्राप्त गर्न नसकेपछि ´अति सर्वत्र वर्जयेत्` भन्ने मान्यतालाई आत्मसाथ गर्दै अतिवादलाई त्यागेर मध्यमार्गी बन्ने निश्चयका साथ अन्न ग्रहण गर्दै चिन्तनलाई निरन्तरता दिने निर्णयमा पुग्छन्। उनको कठोर तपस्याबाट प्रभावित बनी उनको अनुयायी बनेका शिष्यहरूपनि अन्नग्रहणपश्चात् उनलाई विश्वास गर्न नसकेर छाड्न पुगेपनि उनी अविचलित रूपमा एक्लै चिन्तन गर्दै अघि बढ्छन् र अन्ततोगत्वा ७वर्षको तपस्यापश्चात् ३६ वर्षको उमेर तथा ई०पू०५२८- वैशाखपूर्णिमाकै दिन ज्ञान(बुद्धत्व)प्राप्त गर्न सफल हुन्छन् र उनी बुद्ध बन्छन्।सिद्धार्थ गौतम आफू बुद्ध बनेपछि चुप लागेर बस्दैनन् । त्यसपछि उनी आफ्नो उमेरको ८० वर्षसम्मको आयुमा ´बहुजनहिताय बहुजनसुखाय` लाई आफ्नो जीवनको आदर्श बनाई देशदेशान्तर पुगेर आफूले पाएको ज्ञान बाँड्न थाल्छन्। उनको ज्ञानले तत्कालीन राजामहाराजादेखि लिएर विद्वान् सम्म र महाजनदेखि लिएर सामान्यजन सम्म लाभान्वित हुन पुग्छन्।त्यसैले त उनको सान्निध्य पाएका सबै नै हजारौँको सङ्ख्यामा उनका अनुयायी तथा शिष्य बन्न थाल्छन्। ३६ वर्षदेखि ८० वर्षको उमेरसम्ममा उनी ८४हजार पटक उपदेश/प्रवचन गर्छन् जुन प्रवचन/उपदेशहरू ´विनय-सुत्त-अभिधम्म-पिटक` अादि ग्रन्थहरूमा आजपनि सुरक्षित छन्।

बुद्धको जीवनमा लाग्ने गरेको मुख्य आरोप भनेकै श्रीमती र छोरा छाडेर हिँड्ने भगौडा भन्ने छ।वस्तुत: यो त झिङ्गाको टाउकोजत्रो सानो मस्तिष्कको उपजमात्र ह‍ो। लोककल्याणको महान् लक्ष्य तथा विराट-चेतना बोकेर अघि बढेका बुद्धलाई त्यति सामान्य प्रपञ्चले के छेक्न सक्थ्यो र ? उनले श्रीमती र छोरामात्रै कहाँ छाडेका हुन् र अपितु राजकीय वैभवयुक्त सारा सुखसुविधा , मानप्रतिष्ठा , रवाफ, घमण्ड, अहङ्कारको प्रतीक राजगद्दी सबै त्यागिदिएका हुन्। वस्तुतःमहान् उद्देश्य लिएर अघि बढ्ने व्यक्ति कहिल्यै घिसिडपिसिडमा अलमलिदैन पनि ।अतः वैश्विक तथा सामाजिक हितका लागि गौतमबुद्धले वैयक्तिक स्वार्थलाई तिलाञ्जलि दिएका हुन्, त्यही त्याग र तपस्या कै कारण आज विश्व लाभान्वित बनेको छ र उनी लाइट अफ एशियामात्र होइन विश्वकै ज्योति बनेर जगमगाइ रहेका छन्। मानवमात्रका लागि महामानव बनेका छन् , वन्दनीय , पूजनीय एवम् स्मरणीय भएर जनजनका हृदयलाई आफ्नो घर/दरवार/निवास बनाएर आसीन छन्। सर्वपूज्य र सर्वसम्मानित भएर ´स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते` तथा ´विद्वान् भुवो भूषणम्`जस्ता संस्कृतका सूक्तिहरू सार्थक भएका छन्। उनको त्यतिबेलाको साहसीपूर्ण त्याग कै कारणले उनी भगवान गौतम बुद्धका रूपमा समाद्रित तथा सम्पूजित भएका हुन् र हामी नेपाली पनि उनको ज्ञानबाट प्रत्यक्ष लाभ लिन नसकेपनि (ज्ञानमा हाम्रो रुचि नै जाग्न सकेन ?) गौतमबुद्धको देशका नागरिकका रूपमा परिचित हुने अवसर पाएका छौँ। पछि उनले छोडेर आएका श्रीमती यशोधरा र छोरा राहुल समेत बुद्धदर्शनबाट प्रभावित भई उनकै शिष्यत्वग्रहण गरी भिक्षु भएका छन् तर हामी फेरि त्यही कुरालाई लिएर कतै विरोधका लागि नै विरोध त गरिरहेका छैनौँ ? हामीमा चेतनाको ज्योति जाग्ने कहिले हो र हामी बुद्धु बन्न छाडेर बुद्ध बन्ने कहिले हो ?
भगवान् बुद्धका दृष्टिमा पनि कृष्णकै ´दुखालयमशाश्वतम्` (गीता) झैँ यो संसार दुुःखमय र अनित्य छ । बाह्य तथा आन्तरिक जगत्का सबै स्थूलसूक्ष्म पदार्थहरू नाशवान् छन्,अनित्य छन्,क्षणक्षणमा परिवर्तनशील छन् ! यसलाई हेर्दा ज्ञानमात्र शाश्वत तथा एउटै हुने रहेछ, चाहे त्यो गीताको उपदेश होस् चाहे उपनिषदको ´नेति नेति` , ´नेहनानास्ति किञ्चन`अादि उपनिषद्का आदेश होस् वा ´सर्वम् दुःखम् ,सर्वम् क्षणिकम् , सर्वमनित्यम्`बुद्धको सन्देश होस् , सबैमा समानता छ , एकरूपता छ। हिन्दूसंस्कृतिमा हुर्किएका र वैदिक दर्शनलाई गहिरिएर अध्ययन गरेका ( गुरु विश्वामित्रसँग बुद्धले उपनिषद पढेका थिए भन्ने प्रमाण पाइने ) बुद्धमा संसारको दुःखमयता तथा मिथ्यात्व प्रतिपादक वैदिकदर्शन तथा उपनिषद्चिन्तनको स्पष्ट प्रभाव पनि परेको देखिन्छ भन्न कुनै हिच्किचाहट गरिरहनु पर्ने देखिदैन । यद्यपि बुद्धको दर्शन अनीश्वरवादी नै हो जसले गर्दा नास्तिक दर्शनका रूपा गणना गरिन्छ ! उपनिषदले आत्मवादको सिद्धिमा जोड दिएको छ भने वुद्धले अनात्मवादको अडान लिएका छन् यही नै यी दुईथरीको लडाइँ हो । उपनिषददर्शनले ´ सर्वं खल्विदं ब्रह्म`( जे जति छन् ती सबै ब्रह्म/आत्मा नै हो ) भन्ने निष्कर्ष निकालेको छ भने बौद्धदर्शनले पनि ´सर्वम् शून्यम्`(जे जति छ ती सबै शून्य छन्) भन्ने निष्कर्ष निकालेको छ । त्यसैले चिन्तनको शैलीमा केही मतमतान्तर तथा केही मार्गान्तर अवश्य हुन्छ नै तर वस्तुतःसूक्ष्म विश्लेषण गर्दै जाँदा दर्शन दर्शनका बीच आपसी समन्वय छ । त्यसैले दर्शन दर्शनका बीचको लडाइँ जे देखिन्छ त्यो त केवल ´ म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर है` भनेझैँ मात्र हो भन्ने लेखकीय अभिमत रहेकोछ। संसारमा दुःख छ, दुःखको कारण छ, दुःख हटाउने उपाय पनि छ भन्ने बुद्धको सिद्धान्त कपिलको साङ्ख्यदर्शनसँग समेत सामीप्य राख्दछ , त्यसैले पौरस्त्य चेतनाद्वारा परिपोषित बुद्धचिन्तन तथा वौद्धदर्शन पौरस्त्य दर्शनक्षेत्रमा अग्रणी अग्रणी दर्शनका रूपमा स्थापित छ ! समग्रमा दार्शनिक क्षेत्रमा बुद्धले क्षणिकवाद, अनात्मवाद , प्रतीत्यसमुत्पाद जस्ता मुख्य सिद्धान्तको प्रतिपादन गरेका छन् , जुन दार्शनिक चिन्तनको ऊहापोह विश्लेषण यहाँ असम्भवप्राय: भएकाले यति सङ्केतमात्र पर्याप्त हुन आउँछ ।

सामाजिक दृष्टिले गौतमबुद्धलाई नियाल्दा उनी तत्कालीन समाजमा विद्यमान बेथिति र विसङ्गतिको निर्मूल गरी स्वस्थ,समुन्नत समतामूलक समाज निर्माणको चाहना बोकेका सुधारवादी अभियन्ताका रूपमा चिनिन्छन् । समाजमा विद्यमान लैङ्गिक तथा जातीय भेदभावलाई उनले हटाउन चाहेका छन्, त्यसको प्रमाणका रूपमा उनीद्वारा स्थापित भिक्षुसङ्गठन/संघ लैङ्गिक तथा जातीय विभेदमुक्त संघका रूपमा चिनिएको छ, त्यहाँ उनले सबै जातिका नरनारीलाई समान रूपमा प्रवेश दिएका छन् , कुनै भेदभावबिना आफ्नो शिष्यका रूपमा दीक्षा दिएर भिक्षु बनाएका छन्। त्यसैगरी संघमा आपसी मैत्रीपूर्ण समान व्यवहार गर्न सिकाएका छन्! त्यसैगरी आर्थिक दृष्टिले पनि उनी साम्यवादी चिन्तकका रूपमा चिनिएका छन्! आफ्नो संघमा रहेका भिक्षुहरूको लाउने वस्त्र,खाने र भिक्षा लिने पात्र बाहेक सबै संघकै सम्पत्ति रहने व्यवस्था मिलाएकाले उनी साम्यवादका पक्षपोषक प्रथम अभियन्ताका रूपमा चिनिएका छन् र उनक‌ै साम्यवादी दर्शनबाट अनुप्राणित रहेर तत्कालीन वैशाली राज्य आदर्श गणराज्यका रूपमा स्थापित देखिन्छ ।

नैतिकताका दृष्टिले समेत बुद्धको योगदान महत्त्वपूर्ण छ ! नैतिक आचरणका माध्यमले समाजलाई सुसंस्कृत एवम् अनुशासित बनाउन चाहेका छन् । त्रिपिटकमा ´सिगालोवाद सुत्त`का नामले चिनिने उपदेश नै बुद्धले देखाएका आचारशास्त्र वा विनयनियम हो। प्रात:कालमा उठेर ६ दिशालाई नमन गर्ने परम्परालाई समेत उनले मानवी जीवनसँग जोडेर पुनर्व्याख्या गरेका छन् अर्थात् कर्तव्यबोधको शिक्षा प्रदान गरेका छन्-
१.पूर्वदिशा=मातापिता , २.दक्षिणदिशा=आचार्यगुरु, ३.पश्चिमदिशा=स्त्रीपुत्रादि ,
४.उत्तरदिशा =मित्र अमात्य,
५.अधो भाग=सेवक कर्मचारी,
६.ऊर्ध्वभाग=साधुसन्त महात्मा ।

यसप्रकार ६ दिशामा जीवनका सहयोगी मनुष्यलाई लिएर कर्तव्य पालना गर्नु पर्ने मीठो नैतिकताको पाठ पढाएका छन्। यसप्रकार संघका भिक्षु र समाजका गृहस्थ सबैका लागि उनले विशेष कर्तव्यको उपदेश गरेका छन् त्यसैले उनी नीतिवादी चिन्तकका रूपमा पनि चिनिन्छन्।
राज्यसम्बन्धका दृष्टिले पनि भगवान गौतमको विचार अनुसरणीय छ । उनी प्रजतन्त्रवादी , जनतान्त्रिक अभियन्ताका रूपमा चिनिन्छन् । राष्ट्रिय विपद तथा महामारी आदिबाट राज्यले बहुमतको कदर गर्नुपर्ने विचार राखेका छन्। सफल तथा अजेय राज्य हुनका लागि निम्नानुसार ७ सूत्रहरू (गुणहरू) को पालना गर्नुपर्ने विचार राखेका छन् ; जुन आज पनि जुनसुकै राष्ट्का लागि अनुसरणीय छन् –
१.राष्ट्रसञ्चालक संसद/सरकार एकत्रित भएर सामूहिक छलफलबाट निर्णय गर्नु ,
२.सामूहिक निर्णय अनुसार कार्यान्वयन गर्नु ,
३.कानून तथा विधानलाई मानेर अघि बढ्नु ,
४. वृद्ध-वृद्धा तथा बुझ्रुक/विज्ञजनलाई समुचित सम्मान गर्नु ,
५.स्त्रीजातिप्रति अपराध/अन्याय (नारीहिंसा) नगर्नु ,
६.जातीय धर्म तथा स्थानीय रीतिरिवाजको पालना गर्नु,
७.साधुसन्त,धर्माचार्य,गुरुहरूको सुरक्षा तथा सम्मानका लागि उचित प्रबन्ध मिलाउनु ।
[स्रोत-महामानव- पृ०४९;राहूल साङ्कृत्यायन]

यसप्रकार राज(क्षत्रीय)कुलमा जन्म लिएका राजकुमार सिद्धार्थ गौतम राजकाज त्यागेर जङ्गल छिरी तपश्चर्याबाट बुद्ध बनेपनि राज्यसञ्चालनका बारेमा ज्ञाता तथा कुशल राजनीतिज्ञका रूपमा चिनिन्छन्! त्यसैले राजनीतक क्षेत्रमा प्रजातान्त्रिक गणराज्य बुद्धका लागि प्रिय देखिन्छ र प्रस्तुत सफलराज्यका सूत्रहरूको प्रतिपादनबाटै पनि उनको राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान देखिन्छ ।

धार्मिकदृष्टिले नियाल्दा बुद्ध भगवान् सबै धर्ममा समभाव राख्छन् , छुट्टै धर्मको स्थापना गर्नु बुद्धको उद्देश्य र लक्ष्य केही पनि देखिदैन ,। उनले आफ्नो धर्मलाई सनातन धर्म नै मानेका छन् र भनेका पनि छन्- ´एष धम्मो सनातनः`।। पछि गएर उनका केही अनुयायीले बुद्धलाई बौद्धधर्मका प्रतिपादकका रूपमा ग्रहण गरिदिएका हुन् अझ ´आपसमा फुटाऊ र राज गर`को नीति लिएर अघि बढेको पाश्चात्य मुलुक(विधर्मी)ले वैदिक सनातन धर्मबाट अलग्याउनका लागि पृथक् धर्मका रूपमा धूर्ततापूर्ण व्याख्या गरिदियो । हामीले आफ्नो परम्परा,रीतिरिवाज के हो? त्यसको विश्लेेषण गरेनौँ , कुनै खोजी र अनुसन्धानमा लाग्न सकेनौँ , आफ्नो मूलस्रोत ग्रन्थहरूको अध्ययन अनुसन्धान गर्न सकेनौँ , अङ्ग्रेजी भाषामा विदेशीले जे जे भन्छ त्यसैलाई महामन्त्र मानेर घोक्न र बोल्न थाल्यौँ, कागले कान लग्यो भन्नासाथ आफ्नो कान छाम्नभन्दा कागको पछि दगुर्ने प्रवृत्तिले हामीलाई गाँज्दै लग्यो जसका कारण हामीले आफ्नै खुट्टामा वञ्चरो प्रहार गरेझैँ स्वकीय अस्तित्वलाई सङ्कटको घडीमा पुर्यायौँ।

विधर्मी/विदेशीको छद्मनीति र चाललाई हामीले अझै बुझेका छैनौँ र बुझ्ने जमर्को पनि गरेका छैनौँ र चासोसमेत राखेका छैनौँ । जसले गर्दा विदेशी आफ्नो नीतिमा सफल हुँदै गएको छ भने हामी निरन्तररूपमा असफल हुँदै गएका छौँ।जहाँ जन्मिएका गौतमबुद्धले सनातन धर्मलाई विश्वकै मानव धर्मका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याए तर ठूलो विडम्बना -यही बुद्धको भूमिलाई विदेशीकै इसारामा धर्मविहीन राष्ट्रका रूपमा संविधानमै उल्लेख गर्यौँ! तथापि हामीले वत्तीमात्रै बालेर भएपनि वुद्धजयन्तीको कर्मकाण्ड निर्वाह गरिटोपलेकै छौँ । ´छातीमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ` भनेझैँ विदेशीको नाङ्गो हस्तक्षेप, दमन तथा उत्पीडनलाई चुपचाप सहेका छौँ तर पनि स्वतन्त्रता र शान्तिदिवसलाई एकैदिन भएपनि (दिवस भनेको दिन त हो नि भनेझैँ) मानिरहेका छौँ।

हामीले बुद्धले दिएको उपदेश के हो ? कहिल्यै चिन्तन गरेनौँ मात्र गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्नेमात्र घोकिरह्यौँ त्यसैले बुद्धको दर्शन तथा वैचारिक हिसावले हामी विश्वमै पछि पर्दै गयौँ। सिद्धार्थ गौतम जन्मिएको, उनले बुद्धत्व हाँसिल गरेको र महानिर्वाण प्राप्त गरेको विशेषपर्व बुद्धपूर्णिमाको पावन अवसरमा सबैलाई बुद्धत्व प्राप्तिका लागि जागरण तथा प्रेरणा मिलोस् , हामी सबै बुद्ध बन्न सकौँ यही नै मङ्गलमय शुभकामना ! जय होस् !!ॐ!!