आवश्यक सतर्कता अपनाउँदै संसद बैठक सञ्चालन गर्ने तयारी


हरेकपल May 7, 2020

काठमाडौं, २५ वैशाख । संघीय संसद सचिवालयले कोरोना भाइरसबाट जोगिन आवश्यक सतर्कता अपनाउँदै संसद बैठक सञ्चालन गर्ने भएको छ । संघीय संसदको बजेट अधिवेशन भोलि दिउँसो ४ बजेबाट सुरु हुँदै छ ।

सोही तयारीका लागि बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभाका काठमाडौंमा उपलब्ध सांसदहरूको स्वाब संकलन गरी परीक्षण गरिसकिएको छ । त्यस्तै, संसदका कर्मचारी, मर्यादापलक गरी जम्मा ४४१ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । उनीहरुको नेगेटिभ रिपोर्ट आए मात्र बैठक कक्षमा प्रवेश दिइनेछ ।

संसदमा एक मिटरको दूरी कायम गरेर दुई सिट छाडेर बस्ने व्यवस्था मिलाइएको छ । त्यस्तै, संसद भवनमा प्रवेश गर्दा र फर्कँदा फरक ढोकाको प्रयोग गर्ने, क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भिड नगर्ने तथा दूरी कायम गर्ने गृहकार्य छ ।

संसद भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाइमा विशेष ध्यान दिने, दर्शकदिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने, मिडियालाई आमरूपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भिड नहुने गरी व्यवस्थापन गर्ने सचिवालयको तयारी छ ।

सामान्य अवस्थामा विधेयकको सिद्धान्तमाथिको छलफलमा सबै सांसदले रोष्टमको प्रयोग गर्ने चलन भए पनि कोरोना संकटका कारण प्रधानमन्त्री, मन्त्री तथा दलको नेताबाहेक अन्य सांसदहरूले रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्ने व्यवस्था गर्न लागिएको छ ।