काठमाडौं, २६ वैशाख । हिजो वैशाख २५ गते अर्थात् आख्यान दिवस । २०७० सालदेखि निरन्तर मनाउँदै आइरहेको आख्यान दिवस कोरोना संक्रमणको जोखिमका कारण हिजो जुमबाट भर्चुअल कन्फेरेन्स गरेर मनाइयो ।

भर्चुअल कन्फेरेन्समा आख्यानपुरुष डा. ध्रुवचन्द्र गौतम, वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, वरिष्ठ आख्यानकार सनत रेग्मी, ध्रुव सापकोटा, वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाल, कृष्ण धराबासी, नारायण तिवारी, गोपाल अश्क, रोशन थापा ‘निरव’, विपिन शर्मा, समालोचक कुमार कोइराला, ज्ञानु पाण्डे, कवि नारायण सापकोटा, देवराज मिश्र, प्रतिभा निरौला, कविता खनाल आदिको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको हरेकपल डट कमको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । ‘आजको परिस्थितिमा साहित्य पठन संस्कृति’ विषयक अन्तरक्रिया कार्यकमका सहभागीहरूले पठन संस्कृतिका सकारात्मक, नकारात्मक पक्षको विवेचना गर्दै यसले सार्थक बहसको आरम्भ गरेको तथ्य ठम्याएका थिए । कार्यक्रममा हरेकपल डटकमका सम्पादक प्रकाश थापा र साहित्य संयोजक मनोजादित्य न्यौपाने सहजकर्ताकोरुपमा हुनुहुन्थ्यो ।
भर्चुअल कन्फेरेन्सबाट उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था प्रा. लि.को ‘उपलब्धि साहित्य विकास उपसमिति’बाट वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमद्वारा स्थापित ‘दीप–गोविन्द स्मृति सम्मान कोष’ बाट यस वर्ष सम्मानित हुने स्रष्टाहरूको नाम घोषणा समेत गरिएको थियो ।
सम्मानित हुनेहरुमा दीप–गोविन्द स्मृति सम्मान–२०७६ बाट नगेन्द्रराज शर्मा (विशिष्ट आख्यानकारिताको लागि), ध. च. गोतामे स्मृति सम्मान–२०७६ बाट डा. अञ्जना वस्ती भट्टराई (स्मृतिलोकको यात्राः संस्मरणात्मक कृतिका लागि) र गोपाले गोतामे स्मृति सम्मान–२०७६ बाट बिनु सुवेदी (सिर्जनशील पत्रकारिताको लागि) हुनुहुन्छ ।
सम्मान उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना दिवस, २०७७ साउन ७ गतेका दिनको समारोहमा समर्पण गरिने ‘उपलब्धि साहित्य विकास उपसमिति’का संयोजक रोशन थापा ‘नीरव’ ले जानकारी दिनुभयो ।