कोरोना कविता


हरेकपल May 9, 2020

योद्धाको युद्धजस्तो छ शस्त्र अस्त्र उसैसित ।
गोलाबारुद जे–जे छन्, सबै छन् कि उसैसित ।।
निराकार स्वयम्भूझैँ सारा मौन छ स्पन्दन ।
आतङ्क सिर्जना गर्दै मान्छेको रोक्छ धड्कन ।।
(१)

मुखमा नाकमा बस्ने सबैका हातहातमा ।
न धामीझाँक्रीले रोक्छन्, झन् बोक्छन् साथसाथमा ।।
प्रार्थना कसको सुन्छ ? इसा, अल्लाह जे भन ।
शिव जप्ने जपेकै छन्, तैपनि हान्छ चड्कन ।।
(२)

बुद्धको मठ खाली छ, गुरुको द्वार बन्द छ ।
प्रकृति छ रुँदै आफैँ, पूर्ण आकाश बन्द छ ।।
हर्ताकर्ताहरू आफैँ कोषमा दाइँ गर्दछन् ।
देशको चीर हर्नेमा शक्ति खर्चेर मस्त छन् ।।
(३)

न ध्यान ज्ञानमा नै छन्, बनेको छैन ओखती ।
भिडन्त भिडका भित्र थपिन्छन् कतिका खती ?!!
नाता सम्बन्धका रेखा दूर होलान् अझै कति ?
उज्याला पुरमा होलान् नूर गिर्ने अझै कति ?!!
(४)

न पस्न दिन्छ ढोकामा, न बस्न दिन्छ आसन ।
न त रासनको चिन्ता ! कस्तो यो क्रूर शासन ?
कोरोना मित्र मानेर जोगाउँछ कुशासन ।
कात्रोमा र्याल काढेर रमाउँछ दुशासन ।।
(५)

विपन्न भोकले मर्छन्, कति रोग र शोकमा ।
तिनैका भोटले नेता झुत्तिन्छन् नोटनोटमा ।।
मुखमा माड नै छैन, के गर्नु मास्कका कुरा ?!
धानखाने मुसा मिल्छन्, जुट्छन् सेटिङमा पूरा ।।
(६)

आँखा छन् रेल तान्नेका सधैँ दक्षिण–उत्तर ।
पानीजहाजको हाँसो झनै खप्नु कहाँ छ र ?
ठूलाजहाजका पङ्खा, पङ्खाभित्रै कता लुके ?
बोराका सुनका डल्ला भागशान्ति कता पुगे ?
(७)

कोरोनाले सबै खायो न्याय–निसाफका कला ।
आरोपी मारिने बन्छ, मार्नेका गर्विला गला ।।
अपराध सबै माफ, सन्धान–विधि रुग्ण छन् ।
कुण्ड आफ्नाहरू बाँच्छन्, अरूका लास गन्दछन् ।।
(८)
सृष्टि शून्य हुने हो कि ? उद्विग्न तर शान्त छ ।
लय ईश्वरको हो वा अझै प्रलय डाक्नु छ ?
विज्ञान ज्ञानको द्रष्टा कसरी हुन सक्छ र ?
के हो यो अणुको खेल, कसले भन्न सक्छ र ?
(९)

अणुबाट अझै जन्मी परमाणु बनेछ त ?!
अदृश्य जीव त्योभन्दा शक्तिशाली रहेछ त ?!!
पाञ्चभौतिकको व्याख्या, जुट्ने फुट्ने सबै कथा ।
तर कर्ता कहाँ बस्छ ? प्रश्नभित्रै छ क्यै व्यथा ।।
(१०)

अहङ्कार छ सत्तामा संसार ठान्छ मुठ्ठीमा ।
परिहास छ सर्वत्र, अझै मख्ख छ गुड्डीमा ।।
देखेर लासका दृश्य रुँदैछन् कति मानव ?!
सत्ता–कुण्डलीमा हांँसो ! होला यो कति दानव ?!!
(११)

फोर विद्रोहका माथ, रोक विद्रोहका स्वर ।
मसान घाटको निम्ता गर्नमै शक्तिको शिर ।।
जीर्ण शरीरको भार रोगले लत्रिँदा पनि ।
कोरोना भोकले पेट भर्न साँच्दै छ यो जुनी ।।
(१२)

छाना–नाना कतै छैनन्, खानाको छैन सञ्चय ।
लालाबाला रुझेका छन्, गन्तव्य छैन निश्चय ।।
नारा विपन्नको सत्ता, काम सामन्त शान छ ।
लुटाहाको बनी रानो ! सर्वहारा विचित्र छ ।।
(१३)

कोरोना घरभित्रै छ, सत्ताभित्रै छ जीवित ।
लासझैँ लासमा बस्छन्, दासझैँ आस मूच्र्छित ।।
हत्यारा सब हाँस्तै छन्, ठग भ्रष्ट सँगैसँगै ।
सत्तावृक्ष सबै बोक्छ, बलात्कारी छ काँधमै ।।
(१४)

कोरोना त्रासको भन्दा कुकर्मी खेलको डर ।
जनताले कता भेट्ने बाँच्ने औषधी क्यै छ र ?!!
ढोका बन्द गरी राखे कोरोना मुक्ति मिल्दछ ।
ढोका खोली, गई झम्टे कुकर्मी छेउ लाग्दछ ।।
(१५)

घुँडा टेकेर घोप्टिन्छ, लम्पसार उता परी ।
काँढा बन्दै यता घोच्छ देशलाई सधैँभरी ।।
स्वाभिमान कथा कथ्दै घरको शान लुट्दछ ।
माग्ने हात उँधो राख्छ, उँभो फर्केर गाउँछ ।
(१६)

विचित्र कोरोनापन्थी जरो गाड्दैछ झन् तल ।
खोल मानिस हो, आँखा पस्ला सिर्जनमा भल ।।
डर हो, प्रेम हो, यद्वा विश्वास कसरी भयो ?!
कोरोना त्रासले आज घर जेल हुँदै गयो ।।

(१७)