सरकार छ रे हो ?


हरेकपल May 9, 2020

लौन ए, हजुर !
हामी किन यसरी परिचयविहीन बनाइयौँ ?
हामी त पाखुरी बजारेर
नङ्ग्रा खियाएर
गरिखाने मजदुर हौँ, मजदुर ।

ज्यामी भने नि भन्नुस्
भरिया भने नि भन्नुस्
केही फरक पर्दैन हामीलाई
रत्तिभर चित्त दुख्दैन हाम्रो
सारै फराकिलो छ मन
मनभरिको चित्त पनि छ ।

तपाईं हुनेखानेसँग हामी कहिल्यै दाँजिएका छैनौँ
हुँदा खान्छौँ, नहुँदा पटुकी कस्छौँ
‘भएपछि खाउँला है’ भन्दै अगेनीमा लोहोरो पोल्न हालेर
केटाकेटीलाई फुल्याउँछौँ– ‘यो आलु हो आलु !
पाकेपछि खाउला !’
हो त, तपाईं हुनेखानेलाई लाग्दो हो ‘उखान’
उद्गम त हामी भुइँमान्छे नै हौँ नि ।

आन्दोलन गरियो
हामी नै भोकै बस्यौँ
नाकाबन्दी भनियो
भोकै बस्नेमा हामी नै थियौँ
भूकम्प आयो
हाम्रैलागि मात्रै आएको जस्तो भयो
बाढी आउँछ
हाम्रै झुपडी वास बगाउँछ
पहिरो झर्छ
हाम्रै उठिवास बनाउँछ
हुरीबतासले नि
हाम्रै छानो उडाउँछ
बिपत्ती पनि कतिकति !
अब के हो यो कोरोना भनेको ?
रस त अनेक चिन्थ्यौँ तर यो भाइरस भर्खर सुन्दैछौँ
यसको कहरमा रुने हामी नै भएका छौँ
रस न बिरस !
रुन पनि आँत भरिलो चाहिने रहेछ
आँखा भरिएपछि मात्रै टिलपिलाउँदै आँसु झर्ने रहेछन् ।

पापी पेटको लागि शहर पसेथ्यौँ
मुग्लान भासिएथ्यौँ
बालुवाको भुङ्ग्रोमा पोलिएथ्यौँ
यतिबेला किन हाम्रैलागि मात्र
सबैतिरका ढोका बन्द गरिएका हुन् ?
खान, खान पाइएन
हिँड्न, हिँड्न पाइएन
शरीर नाङ्गिएको छ
पेट खोक्रिएको छ
आफैँ हामी ‘डाउन’ छौँ उहिल्यैदेखि
अहिले बाटो हिँड्दा नि किन ‘लकडाउन’ भन्दै करङ भाँचिन्छ ?

यो देशमा नि सरकार छ भन्ने त सुनेथ्यौँ
खै कहाँ छ त्यो सरकार ?
कसको लागि हो रहेछ सरकार ?
हुँदा खान्थ्यौँ हामी
यतिबेला केही छैन धरोधर्म
सरकारसँग ऐना होला कि नहोला ?
यतिबेला सबै उस्तै हृष्टपुष्ट देखिए पनि
एकपटक विगत हेर्ने चेष्टा गरियोस्
एक मिनेट मौनधारण गरेरै भए पनि
पूर्वस्मृतिमा फर्किने प्रयत्न गरियोस्
हो, ठीक त्यतिबेलाकै अनुहारसँग हाम्रो अनुहार नि मिल्ने छ
यतिबेला त तपाईंहरू फुक्नु भो
हामी चाउरिएको चाउरियै छौँ
लौन, कसैले सरकारलाई भेट्नु भो भने
हामीसम्म पठाइदिने कृपा गर्नुहोला
अनुहारसम्म देख्न पाए पनि
जय जयकार गर्ने छौँ सरकारको !!