समय गुरुद्रोणाचार्य–३२


हरेकपल May 9, 2020

अकारण पाठकमा भ्रम सिर्जना गराएर अल्झाउने मनसाय राखेको छैन । भ्रम बाँडिँदो रहेनछ, हुँदो रहेछ । ‘म हुँ कि होइन’को भ्रम सारसुहाउँदो अवस्थामा सायद कसैलाई भएको हुनुपर्छ । यो बाङ्गो प्रश्न भयो, कसैले पनि यस्तो असान्दर्भिक प्रश्न गर्दैन । तर गहिरिएर हेर्दा लाग्यो, धेरै भित्र यस्ता प्रश्न छन् । जीवित रहने अर्थमा प्रश्न अस्वाभाविक लागे पनि जीवनको सार्थकताको खोजीले व्यक्तिलाई त्यो बिन्दुमा पनि पु¥याउँदो रहेछ । यसलाई सजिलोको निम्ति अस्तित्वबोधी चेतना मानौँ र खोजौँ उत्तर ! कतिले यसको सही उत्तर पाए ?

आफू हुनुभित्र धेरै कुरा अटाएर बस्दा रहेछन् । किर्केगार्ड, नित्से, सात्र्र, काम्यू आदि पश्चिमी नामहरू लिऊँ र आफू हुनु वा नहुनुको प्रश्न गरौँ । सबैले आफ्नै निम्ति प्रश्न गरे, उत्तर खोजे, कालान्तरमा तिनीहरूका प्रश्न र उत्तरका खोजी विश्वका बने । आज अस्तित्वको सबैभन्दा बढी चलिरहेछ । व्यवहार भेद, नाम भेद, प्रक्रिया भेदहरू छन् तर भित्र उद्देश्य आफू हुनुको खोजी चलिरहेछ ।

बरू पूर्वमा के देखियो भने व्यक्ति गौण रहे, योगदान महत्त्वका बनेर आए । ‘वेद’ धार्मिक मान्यताले हेर्दा अपौरूषेय मानियो अर्थात् पुरूष हरायो । यदि पौरूषेय नै मानेर हेर्ने हो भने सायद वेदको गहनतामा केही प्रश्न उब्जिन्थे । कृतिको तुलनामा लेखकको कम महत्त्व छ । पुराणहरू, रामायण, महाभारत आदि पनि लेखकले भन्दा कृतिको गुणवत्ताले चिनिएका छन् । घटना र कार्यहरू बढी महत्त्वका छन् । तर म हुनुको खोजी प्रच्छन्न त्यहाँ पनि बसेको छ । वेदान्त दर्शनमा अस्तित्त्वकै खोजी छ । त्यस्तै गीतामा कृष्णले ‘सबै म हुँ’ भने (९÷३४) । त्यस्तै पुराणहरूमा नायकहरूले आफू हुनुको प्रमाण अनेक चमत्कार गरेर दिए । ती सबैले मानिसलाई आफ्नो खोजी गर्न सिकायो । डार्विनले करोडौँ वर्षको जीवाश्म खोजेर आफू पत्ता लागेको घोषणा गरे ।

‘म हुँ’ भन्न पनि सजिलो रहेनछ । त्यसैले ‘म हुँ’ को खोजी विभिन्न ढङ्गले भएको छ । मानिसले अरूको अस्तित्व मानेर होस् वा नमानेर होस् आफ्नो अस्तित्व खोज्दै हुन्छ । पहिला मानिस हुनुको प्रमाण अनि आफू हुनुको प्रमाणस्वरूप अनेक रूपात्मक र क्रियात्मक स्वरूपहरू प्रदर्शन गर्दछ ।

त्यस्तै भएको छ । ‘स्वरूप’को खोजीमा व्यक्तिहरू पात्रको स्वरूपमा आएर अस्तित्वको छलफलमा सामेल भएका छन् । अनेक अर्थमा, स्वभावमा, कारणमा, अकारणमा, विषयमा, अविषयमा, हर्षमा, विस्मातमा, स्मृतिमा, अनुभूतिमा, आफ्नोमा, अरूको–मा हरेकमा पात्रहरूले चासो राखेका छन् । रिसाएका छन्, खुसाएका छन्, झगडेका छन्, मिलेका छन् । कारणको कारणले, अकारणको कारणले, समस्याले, अहङ्कारले, आफ्ना विविध रूपलाई प्रकट गरेका छन् । कसैलाई के लाग्न सक्छ, कसैलाई के लाग्न सक्छ तर सबै यहीँ उठेका छन्, यहीँ मेटिएका छन् । झगडा सकिँदा राग सकिएको पनि छ, आकाङ्क्षा सकिँदा विराग सकिएको पनि छ । बाङ्गोटिङ्गो जीवनको बाटोमा लड्दै पड्दै हिँड्नु जीवनको अपरिहार्यता रहेछ । केही प्राप्ति वा अप्राप्ति निराधीन रहेछन् । तर कर्म अपरिहार्य रहेछ भन्ने बोध लामो बहस र अन्तक्र्रियापछि मात्र थाहा लागेको छ । थाहा लाग्ने नै त्यसरी रहेछ– केही पढेर, केही परेर । पढेर थाहा लागेकोलाई परीक्षण गर्दै छन् । परेर थाहा लागेकोमा, कतै आधार मिलेको छ, कतै विमति प्रकट भएको छ । सबै पात्रले आफ्नै ढङ्गले व्यवहार गर्दै छन् । लेखक पनि पात्र भएर घटनामा सरिक भएको छ । लाग्छ यो उसैको कथा हो– त्यो पनि तीतो, पीरो पचाउनै गाह्रो पर्ने गरी आएको पात्रको जीवनको आरोह, अवरोहमा पाठकको सहभागिता आवश्यक अनुभव गरिएको छ ।

एउटा घर छ, अर्थात् पति, पत्नी र छोरीले बनेको परिवार हो । त्यसैलाई घर मानिएको छ । वास्तवमा भाडाको घरमा पति, पत्नीबीच दैनन्दिन व्यवहार सञ्चालनको समस्याबाट समस्याले हाँगा हाल्दै जान्छ र एउटा समस्याको घना वृक्षको निर्माण हुन्छ । घर समस्यामात्रैले चल्दैन त्यसलाई समाधान चाहिन्छ, खोजिन्छ । समस्या पनि अनेक र अनन्त समाधानको खोजी, प्रयत्न र गति पनि अनन्त । पूर्ण नहुने स्वरूप जीवन र जगत्मा आंशिक पूर्णताको खोजी भइरहेछ । अघि बढिएको छ, पछि फर्किएको छ, गाउँ बसिएको छ, शहर पसिएको छ, देशको भइएको छ । यी अनेक प्रसङ्गमा नयाँ केहीजस्ता भएर आएका छन् । पुरानै हुन् रूपान्तरणका भेदले नयाँजस्ता भएका छन् । कारण उहिल्यैको कार्यले आज रूप लिँदै छ । समय एउटै भूत, भविष्यत् र वर्तमान भएर विभाजनको अर्थमा सजिलो पर्न आएको छ ।

कथा केही छैन, विकथामा कथाको भ्रान्ति छ । भ्रान्ति अन्योल छर्न आएको छैन, बोध सिकाउन आएको छ । सत्यहरू जो लिएर आएका हुन्, ती हुन् कि मानिएका भएका छन्, ती हुन् ? पात्रलाई पर्गेल्न धौ परेको छ । एकातिर आफ्नो अस्तित्वको खोजी चलिरहेछ, अर्कोतिर अस्तित्व धरापमा परेको सूचना पाइएको छ । अहिले लेख्न देश ज्यादै राम्रो विषय बनेको छ । देशलाई अथ्र्याएर ढङ्गढङ्गमा कृतिहरू रचना भएका छन् । पुरस्कार वितरण भएका छन् । देश लेख्ने हातहरू र देश देख्ने आँखाहरू उस्तै–उस्तै छन् । देशलाई सबैले आ–आफ्नै किसिमले देखेका छन् र लेखेका छन् । नराम्रोलाई राम्रो पार्ने कला सिपालु हातमा हुन्छ । त्यो राम्रोको कथाले विजय पाएको खुसीमा सबै सामेल हुन सके राम्रो । देशनै विषय भएको राम्रो हो– यो परिस्थितिमा हरेक दृष्टिले । यो बेला चिरिच्याँट्ट पारेर देश सिँगारेको राम्रो हुन्थ्यो होला । तर देश भनेको मभन्दा छुट्टै वस्तु हो भन्ने नै लागेन । यहाँ म सिँगारिन सकेको छैन भने देश कसरी सिँगारिन सक्छ ? देश सुन्दर हुन पहिले म सुन्दर हुनु पर्छ ।

घरमा जान्छ लेखक । भाउजू बुहारी विधवा छन् । भतिजाभतिजी टुहुरा छन् । बहिनीले कोरा बारेकी छे । भाइले वीरगति पायो । कोही पुराना घाउ बल्झेका छन् । कोही नयाँ घाउ जन्मिएका छन्््् । यस्तै–यस्तै छन् समाचार देशका । गाउँमा तोरी फुल्दैन । बारीमा बारूद गनाउँछ । वृद्ध, अशक्त र नाबालकहरूले गाउँको रखवारी गरिरहेका छन् । पाठशालाहरूमा प्रतिशोधी संवादहरू पढाइन्छ, जो आफ्नै भाइबन्धुहरूलाई लक्ष्य गरेर बनाइएका छन् । शहर मानिसहरूको मरूभूमि बनिसक्यो, जहाँ विकृतिमात्रै पन्पिरहेको छ । यसो मन बिसाउन आफूतर्फ फर्कियो, आफैँ अशान्त र तनावमा बाँचिरहेछ । तनाव केके हुन् ? सबै देशका हुन्, आफ्ना हुन्, आफन्तका हुन् । माया ममता साट्दा र बाँड्दा लागेका असाध्य रोगले आफँैलाई खान बल गर्छ । देश त माटो हो कि भनेर सुँघ्न खोज्यो, केकेको गन्ध आउँछ र भाउन्न हुन खोज्छ ।

खाई–खेली हुर्केको गाउँ हरेक दृष्टिले पहिलेजस्तो रहेन । शहर सभ्यताको सोपान हो भन्ने परम्परित धारणा असफल भइसक्यो । आफन्त र पराइ चिन्न धौ परको बाध्यता बेहोर्नु परेको छ । यसरी जताततैबाट समयको लखेटो शिरमा बोक्ने र भारी पाइलाले देशमा हिँड्ने म कोही पनि नेपाली हुन सक्थेँ, त्यो यहाँ भएको छु । समय छ, म छु र मसँग जोडिएका आफन्त छन् अनि छ छातीभरि बल्केर दुख्ने देशको घाउ ।

जीवनको संवाद जताबाट पनि थालिन्छ । देशको प्रतिज्ञा गरेर देशका कुरा थालिन्छन् जीवनमा, आफ्ना पारेर देशका कुरा थालिन्छन् । देश नै आफू र आफू नै देश भनेको सायद यसरी नै अर्थ गर्दा होला । अर्थको यो हानि पनि देशले नै बेहार्नु परेको छ । देशलाई आफ्नो मान्नु देशै भजाएर खानु कहाँ हो र ? तर यहाँ अपव्याख्याहरूको अर्थ चलिरहेछ । देशलाई माया गर्नु घाँटी अँठ्याउनु पनि त होइन तर यहाँ त्यही चलिरहेछ । देशलाई घर, आफूलाई पहरेदार, देशलाई वाग, आफूलाई माली, मान्ने अर्थ अब पुरानो भइसके छ । अब मेरो नाता कस्तो छ भनेर चिनाऊँ ? अनि के भनेर विश्वास दिलाऊँ ? इमान्दार भन्ने नागरिकले यो प्रश्न उठाउन सक्थ्यो, मैले उठाएँ ।

तिम्रो देशभक्तिको श्रुतिमधुर भजन हामीलाई सुन्न र सुनाउन तयार गरिएको हुनुपर्छ । हाम्रा कानले सुन्नेभन्दा पर र आँखाले देख्नेभन्दा टाढा यति मीठा भजनको अर्थ गरिएको म पाउन्न । तिम्रोजस्तै देश मेरो पनि हो, सम्भवतः नेपाली भन्नेहरू सबैको हो । खोई, तिमीले जस्तै आर्षवाणी अरूले बोलेको थाहा छैन । तिम्रो यो चिन्तनलाई चिन्तन मानौँ कि चिन्ता मानौँ र तिमीलाई देशप्रेमी घोषणा गरौँ जस्तो भइसक्यो ।

यो जबाफ जसले पनि गर्न सक्थ्यो, मेरामध्येबाट, प्रेमिका, पत्नी, मित्र वा मलाई ‘म’ भनेर चिन्ने अरू कोही । यहाँ प्रश्न आफ्नै पत्नीबाट आएको मानिएको छ । किनकि सुखदुःखमा सबैभन्दा नजिकबाट सहभागी हुनेहरू नै यसो भन्ने अधिकार राख्छन् । साथै मेरो व्यवहारको प्रत्यक्ष प्रभाव जसमा पर्छ, उही नै हृदयको भाषा बोल्छ ।