उसको सपनामा
फुल्दैनन् आरूका फूल
डुल्दैनन् भमराका हूल
बग्दैनन् निर्झर झरना
उसको सपनामा आउँछन् –
रोटीका पहाड
दूधका झरना ।
जब ब्युँझिन्छे
बटार्छ भोकले आन्द्रा
उसमा छ, निर्जीव सहनशक्ति
शरीरलाई धर्ती बनाएर
धान चुटाउने गरिबीभन्दा पनि गएगुज्रेकी छे ऊ
र पनि देखिन्न उसमा
गरिबीको रोदन
भिक्षाको भाव
बिक्रीको भाव ।
उसका
अङ्ग प्रत्यङ्गमा झल्किन्छ–
आदिम सौन्दर्य ।
उ नास्तिक होइन,
तर एकाएक निभे
ऊ भित्रको ईश्वर
जब उसका पति ईश्वरलाल
पुसको ठिहिरोले मरे ।
ऊ गिट्टीसँगै कुट्छे
आफ्ना दुख्ख
उसको हथौड़ाको चोट
यति शक्तिशाली छ
सिंहदरबारका भित्तामा अझै बज्छ ।
उसको भर्खरै जन्मिएको बच्चा
भोकै र नाङ्गै लुटपुटिन्छ माटोमा
हेर्छ, आकाशको जून
मानाँै उसको निम्ति त्यो तावामा फुलिरहेको रोटी हो ।
ऊ देखिन्छे निर्बल, निसहाय
तर उसभित्र छ विशाल हृदय
जहाँ अटाउँछ समुच्चा विश्व ।
सभ्रान्तहरू छिः छिः दुर–दुर गर्छन्
उसको शरीरबाट दूर्गन्ध निस्किन्छ
तर त्यही दूर्गन्धले मगमगाएका छन्
मल्टिप्लेक्सदेखि सपिङ कमप्लेक्स
देशी विदेशी च्यानलमा प्रशारण भइरहेछ,
सुन्दरीका क्याटवाक्
तर त्योभन्दा कयौँ गुणा सुन्दर देखिन्छ
उसको थाकेको चाल ।
रमा सुन्दरी विश्व सुन्दरी बन्न सक्दिनँ
तर उसको सुन्दरताका सामु फिक्का छन्,
विश्वका सबै सुन्दरता
ऊ माथि लेख्न सकिन्छ विश्वकै
सबैभन्दा सुन्दर कविता ।