जिन्दगी : एक गणित


हरेकपल May 9, 2020

शून्यदेखि एक, दुई … … गर्दै
नौसम्मको अर्थ बुझेपछि
र तिनीहरूको सम्बन्ध थाहा भएपछि

अक्सर बाँचुञ्जेल
हार–जित र नाफा–नोक्सान
जोड्दै र घटाउँदै
अनि
कहिले गुणन र भागा गर्दै
औसतमा
औसत निकाल्दै
आफैँमा आफ्नासँग
कहिले त्रिसठ्ठी त कहिले छत्तीसको आँकडा बनेर
अङ्कै अङ्कको
जालबाट हिँड्नु पर्ने जिन्दगी
कहिले लाग्छ अङ्कगणितजस्तो !

जिन्दगीका अवयवहरूको
पहिचान र सम्मिश्रणपछि
सफलता र आनन्दका
समीकरण र सूत्रहरूलाई
प्रयोगको रूपमा
प्रतिस्थापित र स्थापित गर्दै
विभिन्न उत्प्रेरकहरूको सहयोगमा
सन्तुलन कायम राखी
निरन्तर बढ्नु पर्दा
कहिले लाग्छ जिन्दगी
यौटा वीजगणितजस्तो !

त्रिभुजजस्तै
सपनाका पिरामिड बोकेर
वृत्ताकार भूगोलको एक खण्ड
समुद्र मन्थनबाट
मोती निकाल्नका लागि
कति सरलरेखाजस्ता,
कति समानान्तर

कति वक्ररेखाहरूजस्ता
प्रियहरूको सम्बन्धलाई
साथ लिएर
समुद्रमा मियो गाड्न
व्यास र अर्धव्यासको मापन गर्ने
कहिले लाग्छ, यो जिन्दगी रेखा गणितजस्तो !