नेविसंघ अध्यक्ष, महामन्त्रीसहितको रिहाइको माग गर्दै मसाल जुलुस प्रदर्शन


हरेकपल May 11, 2020

काठमाडौं, २९ वैशाख । आफ्ना नेता रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघले मसाल जुलुस प्रदर्शन गरेको छ । दुई छिमेकीको बलमिच्याइँविरुद्ध नेपाली कांग्रेस तारकेश्वर नपा ४को संयोजनमा नेपाल विद्यार्थी संघले मसाल जुलुस निकालेको हो ।

भारतीय विस्तारवाद र चीन सरकारले सगरमाथामाथि लगाएको गिद्धे नजरविरुद्धआन्दोलन गर्दा पक्राउ परेका नेविसंघ अध्यक्ष, महामन्त्री सहित साथीहरूको तत्काल रिहाइको माग गर्दै मसाल जुलुस निकालिएको नेविसंघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले बताए ।

प्रदर्शनकारीले लोलाङदेखि बाइपाससम्म मसाल जुलुस र विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनमा नेपाली कांग्रेस तानपा४ सभापति मनोज राना, महासमिति सदस्य डिल्लिराम सापकोटा, वरिष्ठ अधिवक्ता ठाकुरराम आचार्य, प्राध्यापक संघका केन्द्रीय सल्लाहकार धनेश्वर नेपाल पनि सहभागी थिए ।

त्यसैगरी सो विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु सन्तोष गुरुङ, जीवन राना, सुशान्त आचार्य, सुदीप अधिकारीका साथै स्थानीय नेताहरु देविराज छत्कुल्ली, खड्गबहादुर थापा, कृष्ण अधिकारी, रामशरण अधिकारी, टेकनाथ दाहाललगायतको उपस्थिति थियो ।