काठमाडौं, २९ वैशाख । नेपालमा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । यससगै नेपालमा कोरोन संक्रमितको संख्या १३४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार संक्रमित देखिएकामध्ये ६ जना कपिलवस्तु, ६ जना रुपन्देही र बर्दियामा १ जनामा संक्रमण देखिएको हो ।
संक्रमितमध्ये कपिलवस्तुको यशोधरा–८ र बुद्धभूमि नगरपालिका–७ निवासी १५,१९, २३, ३०,३२ र ३८ वर्षीय पुरूष छन् । त्यस्तै, रुपन्देही सम्मरीमाई गाउँपालिका–७ र लुम्बिनी साँस्कृतिक नगरपालिका–६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुष रहेका छन् भने बर्दिया राजापुर–५ की ११ वर्षीय बालिका छन् ।
उनीहरुको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ ।
यसअघि आजै सप्तरीका एकजना र कपिलवस्तुका १० जना गरी ११ जना संक्रमित भेटिएका थिए । कपिलवस्तुका संक्रमितहरु १८,१९,२४, ३०, ३१ वर्षका एक–एक पुरुष र २० वर्षका दुई तथा ३४ वर्षका दुई पुरुष थिए । यसैगरी एकजनाको भने उमेर खुलेको छैन भने सप्तरीका १८ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो ।
नेपालमा देखिएका १ सय ३४ संक्रमितमध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने तीनजनामा पुनः संक्रमण देखिएर अस्पतालमा उपचार गराइरहेका छन् ।