आज मंगलवार, कस्ता कार्यका लागि शुभ रहनेछ ? हेर्नुहोस् २०७७ वैशाख ३० गते


हरेकपल May 11, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको ३० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको १२ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत ज्येष्ठकृष्णपक्षको पञ्चमी तिथि बिहान ९।५५ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पूर्वाषाढा नक्षत्र बिहान ८।११ बजेसम्म रहनेछन् । यसैगरी आज साध्य योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ५।१९ मा छ भने सूर्यास्त बेलुका ६।४३ बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा रहेका छन् ।


आज मंगलवार गणेशजी एवं हनुमानजीको उपासना विशेष लाभदायी रहनेछ । यसैगरी आज गणेशस्तोत्रपाठका साथै ॐ गं गणपतये नमः भन्ने मन्त्र जप पनि लाभदायी रहनेछ ।