परीक्षण रिपोर्ट नआउँदै घर पठाइएका व्यक्तिमा कोरोना पुष्टि


हरेकपल May 12, 2020

लहान, ३० वैशाख । सप्तरीमा अघिल्लो सोमबार कोरोना संक्रमण पुष्टि भएका १८ वर्षीय युवकलाई प्रयोगशाला परीक्षण रिपोर्ट नआउँदै आइतबार घर पठाइएको खुलेको छ । क्वारेन्टाइनबाट घर पठाइएका ती युवकमा कोभिड–१९ पोजेटिभ पुष्टि भएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाबाट ती युवकको परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । उनी आइतबारै घर पुगेर गाउँभर हिँडडुल गरेको र हटिया गएर किनमेल गरेकाले समुदायमा संक्रमणको जोखिम बढेको छ ।

सोमबार दिउँसो जिल्ला सुरक्षा समिति, स्वास्थ्य कार्यालय र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको टोलीले युवकको घर पुगेर उनलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

उनको परिवारका चारजना र उनको क्लोज कन्ट्याक्टमा आएका अन्य पाँचजनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।