कांग्रेसको माग : स्वदेश फर्कन चाहने प्रवासी नेपालीलाई फिर्ता ल्याऊ


हरेकपल May 12, 2020

काठमाडौं, ३० वैशाख । सांसद डिला संग्रौलाले खाडी मुलुकमा रोजगारी गुमाएका नेपालीलाई विशेष विमान पठाएर उद्धार गर्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कांग्रेसकी नेत्री संग्रौलाले दशौँ हजार नेपाली खाडीलगायत मुलुकबाट स्वदेश फर्कन पर्खिरहेकाले उनीहरुलाई स्वदेश फर्काउन माग गरेकी हुन् ।

उनले नेपाल–भारत सीमामा आइपुगेका नेपालीलाई स्वदेश भित्र्याएर क्वारेन्टाइनमा राख्न मागसमेत गरिन् । उनले प्रहरी, सेना र स्वयंसेवक परिचालन गरी स्वास्थ्य परीक्षणपछि मात्रै घर, परिवारमा जान दिन पनि सरकारलाई सुझाइन् ।

स्वदेश फर्कन चाहने प्रवासी नेपालीलाई फिर्ता ल्याउने काममा तुरुन्त कदम चाल्न उनको माग छ । नेपालीको शव विदेशबाट नेपाल ल्याउन अनुमति दिन माग गर्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।

सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावास, गैरआवासीय नेपाली संघका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेको श्रमिक सञ्जालसँग सहकार्य गरेर प्रवासी नेपालीको उद्धार गर्न उनले माग गरेकी छिन् ।