सीमा अतिक्रमण र साहित्यिक आन्दोलन


हरेकपल May 12, 2020

समसामयिक नेपाली साहित्यका कवियुगल छन्दकविताका अभियन्ता बलराम दाहाल र गद्यकविता वाचन-प्रवीण भैरवी भूगोल ढुङ्गानाद्वारा २०७७ वैशाख ०१ गतेबाट सुरु हुन्छ साहित्यिक अभियान ´लकडाउनको समय : बनाअौँ सिर्जनामय`। वैश्विक महामारी कोरोनाबाट विश्व सन्त्रस्त रहेको र नेपालसमेत त्यसक‍ो प्रभावबाट जोगिन लकडाउनमा थन्किएर निष्क्रिय रहन्छ जतिबेला त्यति नै बेला यी जोडीको मस्तिष्क सल्बलाउन पुग्छ । पट्यारलाग्दो लकडाउनको उराठ समयलाई सदुपयोग गर्दै आफूपनि रमाउने अनि सबै नेपालीलाई समेत मनोरञ्जन दिलाउने साथै नेपाली कविप्रतिभालाई एकै ठाउँमा सामेल गराई सिर्जनामा भुलाउने र कविताको नवनव स्वाद चखाउने मूल उद्देश्यले नै यस कार्यक्रमले जन्मने अवसर प्राप्त गर्छ । आज ३० गते,यस कार्यक्रमले सुरुका दिनदखि आजसम्म नै कवियुगलको जोश, जाँगर र उमङ्गम एकरूपता छ, अझ उत्साह छ कुनै ह्रास छ‌ैन, थकान देखिँदैन!भक्तपुरकोे घरको एउटा कोठाबाट यी कवियुगल दिनको ठीक ४:००बजे आफ्नो मोवाइलबाट लाइभ कार्यक्रम चलाउन सुरु गर्छन् अनि देशविदेशमा छरिएर रहेका सयौँ कविप्रतिभा र हजारौँ साहित्यानुरागी आफ्नो मोवाइल हातहातमा समाउँछ्न् , कोरोनाको त्राशबाट २ घण्टा हराउँछन् र काव्यको रसास्वादनमा रमाउँछन् र कतिपय कविप्रतिभाहरू त त्यही बसाइमा पनि थुप्रै कविता जन्माउँछन् ।

सानो पाठकीय प्रतिक्रिया लेख्नु नै मेरो उद्देश्य हो त्यसैले महिनादिनदेखि चलेको यो यात्राको समग्र रूपरेखा यस आलेखमा उतार्न सहज पनि छैन। कार्यक्रमको समग्र समीक्षा गर्नु मेरो जिम्मेवारी र बाध्यता पनि होइन, त्यसैले यहाँ हस्तक्षेप गरिनु पनि हुँदैन भन्ने ममा पूर्ण बोध छ र त्यस्तो धृष्टता पनि म गर्दिन! म लेखिरहने व्यक्ति भएकाले आफ्ना मनका भाव स्वान्त:सुखाय लेख्छु त्यसैले यसलाई समीक्षाको कसीमा मापन गरिरहने कष्ट म आफू गर्दिन र विद्वज्जनलाई त्यो कष्ट पनि दिन चाहन्न ! अतःधेर‌ै भूमिका बाँध्नपट्टि नलागेर अब सिधै सीमाविशेष साहित्यिक आन्दोलनका बारेमा संक्षेपमा प्रकाश पार्ने प्रयास गरिन्छ ।

´कविर्मनीषि:परिभू:स्वयम्भू:`भनेर वैदिकवाङ्मयमा कविलाई सर्वद्रष्टा सर्वव्यापक सर्वचिन्तक मनीषिका रूपमा सम्मान गरिएको पाइन्छ ! हिन्दीमा ´जहाँ न पहुँचे रवि वहाँ पहुँचे कवि` भनाइले पनि कविको सर्वद्रष्टृत्वलाई पुष्टि गर्दछ!कविको चेतना सर्वत्र प्रवाहित हुन सक्छ , त्यस प्रवाहलाई कुनै क्षेत्र,भाषा,जाति आदिले रोक्न र छेक्न सक्दैन! कवि शिक्षक र प्राध्यापक भनेका चेतनाको ज्योति जगाउँदै अज्ञानरूपी अन्धकारलाई निवारण गरी ज्ञानरूपी ज्योति जगाउँदै व्यक्ति ,समाज , राष्ट्र र विश्वलाई नै सही दिशानिर्देश गर्ने वन्दनीय व्यक्तित्व हुन्, समाजका समादरणीय सभ्य सज्जन हुन्! त्यसैले ´हितेन सह सहित:,तस्य भाव साहित्यम् `भनेर संस्कृतमा लोककल्याणकारी भावनाले युक्त सिर्जना नै साहित्य हो भनेर साहित्य शव्दको व्युत्पत्ति र अर्थ गरिएको पाइन्छ। त्यसैले सामाजिक तथा राष्ट्रिय हितका लागि राष्ट्रका सचेत तथा बौद्धिकवर्ग ,कवि-कलाकार तथा साहित्यकार आफ्नो सिर्जना-शक्तिका माध्यमले नित्यनिरन्तर लागिरहन्छ र लाग्नै पर्छ भन्ने कुराको बलिय‍ो उदाहरण बनेर देखापर्छ हिजो[२९गते]को ´साहित्यिक आान्दोलन` अर्थात् ´लकडाउनको समय : बनाअौँ सिर्जनामय`को २९अौँ श्रृङ्खला नृपाली कविसाहित्यकारको सभ्य र शिष्ट ढङ्गले राष्ट्रभक्त सबै नेपालीलाई सचेत र जागरुक बनाउन राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको अावाज उठाउने महत्त्वपूर्ण दिन बन्छ।

हिजो माइतीघर मण्डलामा ´भारतीय विस्तारवाद मुर्दावाद!`को नारा घन्किरहँदा यता भने कविआवाजमा राष्ट्रियताको स्वर गुन्जिरहन्छ। देशभर र विदेशमा समेत रहेका प्रायः सबै स्रष्टाहरू आफ्नै घरमा बसीबसी आन्दोलनमा सहभागी हुन्छन् र क्रान्ति र विद्रोहको आगो दन्कन थाल्छ ! कार्यक्रमको सुरुवातमा विरोधसूचक कालोपट्टी निधारमा बाँधेका कवियुगल मध्ये छन्दवाचन-शिरोमणि बलराम दाहालको बुलन्द आवाजमा नेपाली भाषासाहित्यका वन्दनीय व्यक्तित्व प्रा०डा०माधवप्रसाद पोखरेलज्यूको कविता यसरी घन्कन थाल्छ-

महाभारतको दाजु दुःशासन उचाल्दछ!
दुर्योधन उचाल्दैछ शकुनि किन पाल्दछ?

किर्ते कागत नक्साको केरमेट सँधै गरी !
जङ्गे खाँवा सधैँ चोर्छ लोभी सामन्तझैँ गरी!!

आँखा गाड्दछ सीतामा लुम्विनी लिपुलेकमा!
हाम्रा वस्तु यहाँ जे छ त्यसैमा गिद्धेदृष्टि छ !!

भाइका धनमा लुव्धो कौडा हान्दछ दाउको!
खुट्टा टेक्न कहाँ दिन्छ?थिच्नै खोज्दछ टाउको!!

नेता-हाकिम किन्दैछ जाल हान्न हिरिक्क छ !
नाकाबन्दी नटेरेमा लाउनै किन ठिक्क छ? !!

हस्तक्षेप र छेकारो मिचाइ किन ल्याउँछ ?
आफ्नै सम्पत्तिले पुग्थ्यो हाम्रा खोला सुकाउँछ!!
[प्रा०डा०माधवप्रसाद पोखरेल]
=============================

राष्ट्रियतालाई नै मुख्य विषय बनाएर प्रस्तुत गरिएको यस साहित्यिक अान्दोलन कार्यक्रममा ३०जना भन्दा बढी स्थापित कविप्रतिभाहरूका कविताहरू वाचन हुन्छन्। राष्ट्रप्रति जिम्मेवार र सचेत नागरिक कविहरूको पूर्ण प्रतिनिधित्व गराउने प्रस्तोता कवियुगलको प्रयास स्तुत्य र प्रशंसनीय देखिन्छ। कार्यक्रममा प्रा०डा०मोहनप्रसाद तिमल्सिना, प्रा०डा०गोविन्द भट्टराई, डा०तुलसीभट्टराई, डा०जीवन अधिकारी, डा०हेमनाथ पौडेल, दुष्यन्त भट्टराई, रमेश भट्टराई, डा०मुकुन्दप्रसाद लामिछाने,डा०रामप्रसाद ज्ञवाली,खोलाघरे साहिँलो,गोर्खे साहिँलो, भुवन शिवाकोटी चौघरे, भीषण माहिला, हेम प्रभास, कविराज पौडेल,पर्वतराज घिमिरे´नगाधिराज`, टीएन भट्ट विश्वामित्र, सुमन शर्मा, गायत्री चापागाईँ, शिव त्रिपाठी, शशी थापा, चन्द्रप्रसाद न्यौपाने, पर्शुराम परासर, गोविन्द घिमिरे वेदमणि, भवानी खतिवडा, केदार खतिवडा, कृष्णदेव रिमाल, बलराम तिमल्सेना, हरिशरण खनाल, सीताराम अधिकारी, कौशल्या रिसाल,शान्ति सापकोटा, मेघराज पौडेल, डिल्लीराज अर्याल, शम्भु गजुरेल, छन्दमणि,मृनुका,सुधीर शर्मा आदि कविज्यूहरूका कविताहरू एकै बसाइमा सुन्न पाइन्छ र ती कविता गद्य र पद्य दुबैथरी अनि कविहरू पुराना र नयाँ सबै समेटिने गरी, राष्ट्रियता,स्वाधीनता र स्वतन्त्रतालाई विषय बनाई लेखिएका सशक्त कविताहरू । सबैजसो कविका कविताले भारतीय विस्तारवादप्रति आक्रोश र नेपाली नेतृत्वको लाचारप्रवृत्तिप्रति तीव्र व्यङ्ग्य प्रहारपूर्वक शासक तथा सरकारलाई सीमासुरक्षणका लागि सचेत र जागरुक रहन आह्वान गर्छन् ! छिमेकीक‍ो मिचाहा प्रवृत्तिप्रति कवि सबै आक्रोशित देखिन्छन् भने नेतृत्वको दासमनोवृत्तिप्रति घृणासमेत प्रकट गर्छन् ! नेपाल राष्ट्रको ऐतिहासिक वीरताको महिमा , हिमाल,नदीनाला अादि प्राकृतिक सौन्दर्य तथा सम्पदाको गरिमा, राजर्षि जनक, गौतमबुद्ध, भृकुटी, सीता आदि वन्दनीय पुर्खाको योगदान , पौराणिक गाथा र चरित्रको उच्च प्रशंसा गाउँदै नेपाली भूमि जोगाउनका लागि नेपालीजाति अझपनि तत्पर रहेको आशावादी तथा राष्ट्रवादी विगुल फुक्नकमा सबै कविता सफल देखिन्छन्! यसकार्यक्रममा प्रस्तुत भएका कविता र तिनमाथि गरिएका टिप्पणीहरू पढ्दा र सुन्दा सहभागी सबैको हृदय राष्ट्रियता र वीरताको भावनाले जुरुकजजुरुक हुन्छ ! ती सबै कविता यहाँ उपस्थापन गर्ने सम्भावना नरहेकाले सबै मान्य कविवरका कविताप्रति उत्तिकै महत्वपूर्ण र मेरो उच्च सम्मान रहँदा पनि यहाँ समेट्न सकिने स्थिति रहेन , त्यसैले सबै कविज्यूमा सम्मानपूर्वक यहाँ प्रतिनिधित्वका हिसावले एउटा गद्य कविता राख्नु न्यायसङ्गत देखिन्छ! नेपाली र अङ्ग्रेजी भाषासाहित्यमा समेत ख्यातिप्राप्त कवि प्रा०डा०गोविन्दराज भट्टराईज्यूक‍ो कविता कार्यक्रमको मध्यतिर गद्यकविता वाचन-प्रवीण भ‌ैरवी भूगोल ढुङ्गाना यसप्रकार गुन्गुनाउँछिन् :-

मुटुमै लाग्न सक्छ
हुरी चलेको यत्ति बेला
हल्लिएका छन् जोडले बृक्ष्यहरू
गुँडमा बसेका भोका बचेरा
काम्दै छोपेर बसेका आमाहरू
दूर देशमा उड्दै होलान् कतै
चारो खोज्ने बाबुहरू

कतिबेला तल नुहिन्छ टुप्पो
भुँइ नै छुँला जसरी
कतिबेला उचालिन्छ पल्लो
रूखैमा ठोक्किने गरी
डिम्बा झर्ने हुन् कि माटामा गुँडसितै
बचेरा खस्ने हुन् कि बाटामा

यस्तो बेला माथि शीरमा
उड्दै छ कालो चिल निर्भय
सिरिसे साप पनि एउटा
चढ़दैछ तलको भीरमा निर्भय
त्यही गुँड ताकेर

हेर्नु नि ! हुरी छ कत्रो उडाउनेगरिको
हेर्नु नि !आगनमै लाप्पा छ मूर्ख गोठालाहरुको
यस्तो बेला गुलेली नताक व्याधाहरु हो !
त्यो लिपुलेकमा ज्यूदै छन् हाम्रा वीरहरू
हाम्रो मुटुमै पनि लाग्न सक्छ
तिम्रो पनि मुटुमै लाग्न सक्छ।

“यस्तो बेला किन हो काईंला
उध्याइरहेको देख्छु ?”
ऊ भन्छ–
” किन यो रगत बिहानैदेखि
यसरी उम्लेर मर्छ !
भन !
वीर बलभद्र लडेको किल्ला
यहादेखि कति टाढा पर्छ ?”

[___गोविन्दराज भट्टराई ]

दुईघण्टासम्म चलेको यस साहित्यिक आन्दोलन कार्यक्रमका अन्तमा समसामयिक नेपाली साहित्यका स्थापित कविप्रतिभा अग्रणी छन्दअभियन्ता डा०रामप्रसाद ज्ञवालीको राष्ट्रियताको चेतना छताछुल्ल भएर पोखिएको सशक्त , राष्ट्रवादी कविता छन्दकवि तथा यसअभियानका संयोजकश्री बलराम दाहालज्यूको कर्णप्रिय आवाजमा यसप्रकार वाचन हुन्छ:-

शीर्षक : – देश यो मर्न दिन्नँ म –

लुक्दै सेता परेवा छन् ढुक्दै क्रूर हुँडार छ
छिमेकी भैदिँदा दुष्ट आतङ्कित समाज छ
सधैँ सधैँ परेवामा बाजकै डरत्रास छ
ब्युँझ हो ए परेवा हो ! नयाँ नेपाल आज छ !

ब्वाँसो हे ! क्रूरता तेरो सधैँ सधैँ सहन्नँ म
सधैँ लाछी सधैँ रुन्चे सधैँ कायर हुन्नँ म
अब तेरो इसारामा पानी बन्दै बहन्नँ म
मेरो जीवनमा तेरो हस्तक्षेप सहन्नँ म !

मेरो भूमि नदीनाला तँलाई टेक्न दिन्नँ म
मै लेख्छु जिन्दगी मेरो तँलाई लेख्न दिन्नँ म
नयाँ नेपालको यात्रा तँलाई रोक्न दिन्नँ म
कानमा गीत गाएर गालामा टोक्न दिन्नँ म !

मिचेर भूमि यो मेरो र्‍याल काढ्दै तँ बाँच्दछस्
सीमास्तम्भ उखेलेर बौलाहासरि हाँस्दछस्
तेरो सोच तथा हाँसो असाध्यै अपवित्र छ
नछो नेपालको माटो यो असाध्यै पवित्र छ !

तेरो सेतो लुगाभन्दा सेतो मेरो हिमाल छ
तेरो चौडा जिमीभन्दा छाती मेरो विशाल छ
नटेक् यो वीरको भूमि क्रान्तिका बीज छन् यहाँ
नछो यो बुद्धको भूमि शान्तिका दीप छन् यहाँ !

नठानेस् दास तेरो हुँ जे गरे नि सहन्छु म
आफ्नो अस्तित्वका निम्ति युगौँ लडिरहन्छु म
हार्छ नेपाल ठान्दो होस् वीरता हार्छ पो कहाँ ?
कसरी हार्छ यो राष्ट्र म ज्युँदै छु अझै यहाँ !

तँलाई देशमा मेरो साँढे झैँ चर्न दिन्नँ म
मेरो अस्तित्वमा दागा तँलाई धर्न दिन्नँ म
यो मेरो देशमा राज्य तँलाई गर्न दिन्नँ म
मर्नुपरे म नै मर्छु देश यो मर्न दिन्नँ म !

मेरो शरीरमा रातो रक्त बाँकी रहेतक
देशका निम्तिमा मर्ने भक्त बाँकी रहेतक
नेपाल राष्ट्र यो मेरो रहने छ सुरक्षित
यो देशका सबै शत्रु हुने छन् क्षत-विक्षत ।
[डा०रामप्रसाद ज्ञवाली]
————————————————-
सबै कविज्यूका कविता सुनेर लाइभमा तत्कालै जुन प्रतिक्रिया मैले अभिव्यक्त गरेको छु त्यसलाई नै सबै कविहृदयप्रति सम्मान समर्पण गरेको मैले मानेको छु। त्यसैले कविता श्रवणपश्चात् स्वतस्फूर्त ती स्वकीय प्रतिक्रिया (टिप्पणी) लाई यथावत् उपस्थापन गरिनु सान्दर्भिक र उपयुक्त देखिन्छ । जुन टिप्पणीहरू क्रमशः निम्नानुसार छन् :-

१.´लकडाउनको समय बनाअौँ सिर्जनामय`
सञ्चालक कवियुगलमा नमन !!सबै साहित्यानुरागी तथा रसिक कविमनलाई सुस्वागतम् तथा नमन!!जय होस् !अाहा !देशै दुःखेको बेला सीमा विशेष कार्यक्रम!

२. कवि-प्रा०डा० माधव पोखरेलज्यूप्रति नमन !!
महाभारतको दाजु दु:शासन उचाल्दछ००आहा !!छिमेकी राष्ट्रको शोषक सामन्तीप्रवृत्तिप्रति तीव्र आक्रोश र नेपाली नेतृत्वको दासप्रवृत्तिप्रति कडा व्यङ्ग्य प्रहार गरिएको उच्च स्वाभिमानप्रेम प्रकट भएको उत्कृष्ट राष्ट्रवादी कविता ! नमन कविवर!!

३.प्रा०डा०गोविन्दराज भट्टराईज्यूको-मुटुमै लाग्नै सक्छ-आहा हृदयस्पर्शी,मुटुनै हल्लाउनेकविता !! वीरताको गाथा गाइएको विम्वात्मक प्रतीकात्मक तथा व्यङ्ग्यात्मक उत्कृष्ट राष्ट्रवादी गद्य कविता!!नमन!!

४.डा०तुलसी भट्टराईज्यूको नेपाली धर्तीको दिव्यताको महिमा गाउँदै नेपाली लाचार नेतृत्वको मौनताप्रति प्रश्नचिन्ह ठड्याइएको उत्कृष्ट राष्ट्रवादी कविता ! नमन कविवर !!जय होस्।

५.प्रा०डा०मोहनप्रसाद तिमल्सिनाज्यूको-आजको खाँचो-कवितात्मक सौन्दर्यले परिपूर्ण छोटो , हृदयस्पर्शी , बेजोड कविता ! साथै राष्ट्रियचेत अभिव्यक्त सन्देशप्रधान कविता !! नमन कविवर!!जय होस्।।

६.परशुराम पराशरज्यूको वीररसप्रधान उत्कृष्ट राष्ट्रवादी कविता! वाह !!विस्तारवादीप्रवृत्तिप्रति कडाप्रहार!!नमन कविवर!!!
७.कविराज पाैडेलज्यूको भारतलाई चेतावनीपूर्ण खवरदारी गरिएकाे उत्कृष्ट राष्ट्रवादी कविता ! नमन कविवर ।

८.दुष्यन्त भट्टराईज्यूको नेपाली बहादुरीप्रति सुन्दर बयान गर्दै छिमेकी राष्ट्रको हेपाहा-मिचाहाप्रवृत्तिप्रति कडा व्यङ्ग्यप्रधान गरिएको सुन्दर राष्ट्रवादी कविता र उस्तै मीठो गजल!!

९.बलराम तिमल्सिनाज्यूको -हाम्रो संवेदनालाई समवेदना-!आहा हृदयस्पर्शी र व्यङ्ग्यप्रधान उत्कृष्ट सिर्जना!जातीय तथा क्षेत्रीय दृष्टिले हामीलाई दुःख्ने भन्दै नेपालीप्रवृत्तिप्रति तीव्र व्यङ्ग्य!अाहा! नक्कली राष्ट्रवादप्रति वाग्वाण प्रहार!राष्ट्रियता मर्दै गएकोप्रति चिन्ता प्रकट!व्यङ्ग्यप्रधान उत्कृष्ट कविता!नमन कविवर!!

१०.हरिशरण खनालज्यूको-ऐतिहासिक गरिमाको प्रशंसापूर्वक वर्तमानको दयनीय अवस्थाको चित्रण गरिएको कविता!वाह!!
विश्वले देखोस् दृष्टान्त देशप्रेमको मीठो कविता!
११.शान्ति सापकोटाज्यूको देशभक्ति र भारतीय हस्तक्षेप विरूद्ध कडा चेतावनी दिइएको उत्कृष्ट कविता ! नमन!!
१४.ऋषवदेव घिमिरेज्यूको म मेरो देशका लागि ००।रगतको वलिदान गर्न नेपाली तयार छन् भन्ने राष्ट्रवादी उत्कृष्ट कविता !नमन!!
१४. अावाज शर्माज्यूको नेपालीजातिको वीरतालाई स्मरण गराइएको उत्कृष्ट कविता ! नमन कविवर !!

१५.काैशिला रिसालज्यू काे मेरो माटाको सिमाना-भौगोलिक विविधताका साथै हिमाल नदीनाला झरना डाँफे अादि प्राकृतिक सौँन्दर्यको कलात्मक चित्रणपूर्वक राष्ट्रिय अखण्डताको कामना गरिएको!नमन!!
१६.छन्दमणि त्रिपाठीज्यूको अाक्रोशात्मक अभिव्यक्ति!राष्ट्रियसीमाप्रति सचेत नेपाली जागरुक रहेको चित्रण गर्दै छिमेकीप्रति दह्रो खवरदारी!नमन!!
१७.मेनका पाेखरेज्यूको मीठो कविता!छिमेकीको कालोदृष्टिका विरुद्ध नेपाली उत्रन आह्वान गरिएको उत्कृष्ट कविता!नमन!
१८.सुधीर थापाज्यूको मीठो सिर्जना-बलेकोछ छाती!!देश मिच्चिँदा जनता हृदय जलेको मार्मिक अभिव्यक्ति!नमन!
१९.भुवन शिवाकोटी चौघरेज्यूको आमा लुटिएको टुलुटुलु हेर्नुपर्दाको नेपाली सन्ततिको व्यथालाई मार्मिक ढङ्गले लेखिएको उत्कृष्ट व्यङ्ग्यप्रधान राष्ट्रवादी कविता!नमन!
२०.कृष्णदेव रिमाल ज्यूको सीमा सुरक्षणका लागि शासकवर्गलाई सुझाव दिइएको सन्देशमूलक सिर्जना!!नमन!!

२१.मुकुन्द लामिछानेज्यूको सुन्दर सिर्जना!सीमाबन्धन अनुशासन हो र सीमा उल्लङ्घन गर्नु दुराचार हो भन्ने नैतिक सन्देश प्रदानपूर्वक राष्ट्रिय स्वाभिमान प्रकट कविता!नमन!!
अाहा!अाज त एकसे एक सुन्दर मीठा कविता सबै!!´-सीमा हडप्दै छ रे`_अाहा ऐतिहासिक गरिमाको महिमा गाइएक‍ो र वर्तमानको लुटाहाप्रवृत्तिप्रति अाक्रोशपूर्ण सुन्दर अभिव्यक्ति! नमन!!
२२.डिल्लीराज अर्याल सीमासम्बन्धी सशक्त राष्ट्रवादी कविता .म त्यसै छाेड्दिन्न…अाहा! नमन!!
२३.गाेर्खे साहिँलाेको सीमा सम्बन्धी सशक्त राष्ट्रिय चेत तथा देशप्रेम झल्किएको उत्कृष्ट राष्ट्रवादी कविता ! नमन कविवर!!
२४.शम्भु गजुरेलज्यूको -गर्भ बाेक्दैछु म भन्छिन् अामा -आहा!छिमेकीको खेताला बनेका नेतृत्वप्रति कडाप्रहार !!उत्कृष्ट राष्ट्रवादी विम्वात्मक तथा जीवन्त कविता!नमन!!
२५.राजबाबु श्रेष्ठ सागरज्यूको सरकारलाई देश बचाउनका लागि अघि बढ्न सचेत गराउँदै लेखिएको व्यङ्ग्यप्रधान राष्ट्रवादी उत्कृष्ट गद्यकविता!
२६.खोलाघरे साहिँलाेज्यूको -एकताको आह्वान-आहा!सबै नेपालीजनतालाई रिपुका विरूद्ध जागरुक भएर अघि बढ्नका लागि आह्वान गरिएको उत्कृष्ट राष्ट्रवादी कविता!!नमन!!
२७.केदार खतिवडा गजल-यो मुद्दामा पटक पटक सिंहदरवार चुकेको छ!अाहा बेजोड सिर्जना!एकआपसमा दोषारोपण गर्न छाडेर राष्ट्रिय सीमासुरक्षणका लागि नेतृत्ववर्गलाई अाग्रह गरिएको उत्कृष्ट गजल!
२८.नगाधिराजज्यूको -माटो-माथिको दृष्टिकोण अत्यन्त मीठो!ऐतिहासिक गरिमाको महिमागान पूर्वक वर्तमानको दासमनोवृत्तिप्रति घृणा प्रकट गरिएको उत्कृष्ट राष्ट्रवादी कविता ! नमन!!
२९.प्रा०डा०हेमनाथ पौडेलज्यूको-माटो/सीमा-कवितामा नेपालीजातिको बहादुरीको वयान गरिएको उत्कृष्ट राष्ट्रवादीकविता!!नमन!!
३०.गायत्री चापागाईँज्यूको आहा राष्ट्रियचेतले परिपूर्ण सुन्दर सन्देशप्रधान राष्ट्रवादी कविता !! नमन कविवर !!जय होस्।
३१.परचक्री छिमेकीको मिचाहाप्रवृत्ति र स्वदेशी शासकको कमजोरीप्रति आाक्रोशपूर्ण अभिव्यक्ति!ऐतिहासिक गरिमाको महिमा उत्कृष्ट। भवानी खतिवडा ज्यूप्रति नमन!!
३२.शिखर भट्टज्यूको-पर्खाल-व्यङ्ग्यप्रधान प्रतीकात्मक उत्कृष्ट गद्यकविता!सीमा जोगाउनका लागि वीर पुर्खाले प्राण आहुति गर्नुपरेको ऐतिहासिक स्मरण गरिएको हृदयस्पर्शी तथा मातृभूमिप्रति आस्था प्रकट गरिएको राष्ट्रवादी कविता!!
३३.डा०रामप्रसाद ज्ञवालीज्यूको-देश यो मर्न दिन्न म!-
शान्तिप्रिय परेवारुपी नेपालीलाई हुँडाररूपी परचक्रीको आक्रमणका विरूद्ध जुट्न आह्वान गरिएको उत्कृष्टतम राष्ट्रवादी कविता!न छो यो बुद्धको भूमि०अाहा!राष्ट्रियता तथा स्वाधीनताप्रति सचेत स्वाभिमानी नेपाली जाति देशलाई जोगाउन अझै लाग्ने आशावादी स्वरप्रवाह!!नमन!!नेपालजननीम् वन्दे!!
३४.-खबरदार- र भैरवी भूगाेलजी ! मीठो कला र गला दुबै!आहा सरकारलाई सचेत गराउँदै लेखिएको उत्कृष्ट राष्ट्रवादी कविता !! नमन गरेँ!!
३५.बलराम दाहालज्यूको स्वकीय अस्मिता गाँसिएक‍ो, मातृभूमिप्रति अगाध अास्था र श्रद्धा प्रकट गरिएको उत्कृष्ट राष्ट्रवादी सङ्कल्प!!नमन कविवर!!
परचक्रीको आक्रमणको समयमा सीमाविशेष सिर्जनात्मक विरोध समारोह सार्थक रह्यो ! राष्ट्रियताले हृदय पुलकित भय‍ो !! जय स्वाभिमान! जय अभियान!! सबैमा नमन!!

अन्तमा प्रशंसनीय कविकर्मप्रति भावकीय माया समर्पण !
०=================================०
अाहा! अाहा! अाहा! साँच्चै अाहा ! वाह्! वा!धन्य! भन्न लायक कार्यक्रम ! कत्ति मीठो कार्यक्रम ! अनि कत्ति सरस र कति मनमोहक ! साँच्चै हृदय-आल्हादक अनि ज्ञानवर्धक पनि! नववर्षको अवसर पारेर लकडाउनको बेस्वादिलो फुर्सदको सदुपयोग गर्दै सबै कविहृदय तथा भावकसमुदायलाई एकैठाउँमा जम्मा गरेर काव्यामृतको चप्प चप्प रसास्वादन गराउने यस रसमय कार्यक्रमको सामान्य वर्णनमात्र गर्न पनि शब्दको अभाव खड्किरहेको छ मलाई यतिखेर ! मात्र वाह्.! बलराम !! आहा..! भैरवी! भनिरहन मन लागेको छ साँच्चै !
´एउटै सानो सरल कृतिमा पूर्ण संसार देऊ`भनेर राष्ट्रकवि घिमिरेले आह्वान गरेझैँ यो कार्यक्रम साँच्चै पूर्ण र सिर्जनामय बनेको अनुभव गरिरहेको छु । दुवै कविले यहाँ अाफ्नैमात्र कविता तथा सिर्जनामात्रै सुनाएर पनि हामीलाई लट्ठ पार्न सक्ने क्षमता यी कवियुगलमा रहँदारहँदै पनि त्यस्तो धृष्टता नगरेकोमा पुनः कवियुगलमा धन्यवाद दिन चाहन्छु ।अग्रजस्रष्टाप्रति उच्च सम्मान , वर्तमानका सहयात्री सर्जकप्रतिको यथोचित सम्मान र अनुजसर्जकप्रतिको मीठो प्रोत्साहन गर्दै यहाँ कविता वाचन भइरहेका छन् । एकै बसाइमा यहाँ महाकवि देवकोटाको कल्पनामा डुब्न पाइएको छ,स्वतन्त्र कवि उडानमा उड्न पाइएको छ। कविशिरोमणि पौड्यालको सेता कञ्चन दारी छाम्न पाइएकोछ; नैतिकताको पाठ पढ्न पाइएकोछ,त्यसैगरी राष्ट्रकवि घिमिरेको राष्ट्रगान सुन्न पाइएकोछ ;देशभक्तिको भावमा चुर्लुम्म डुबुल्की मार्न पाइएकोछ।त्यसैगरी समकालीन युगका अग्रजस्रष्टाहरू, समालोचना क्षेत्रका महामनीषि प्रा०डा०वासुदेव त्रिपाठीको सिर्जनाचेत जान्न पाइएको छ,प्राध्यापक राजेन्द्र सुवेदी,प्राध्यापक कोषराज नेउपाने,प्रा०डा०रामप्रसाद ज्ञवालीजस्ता गुरुवरको कक्षालाई स्मरण गराएकोछ;गुरुवरको सिर्जनचेतनाद्वारा सिञ्चित हुन पाइएकोछ । त्यसैगरी नवसर्जकको सिर्जना सुनेर नवयुग र नवीनपुस्ताको युगचेतनालाई जान्न र छाम्न पाइएकोछ। त्यसैले कसरी वाह् र आहा नभनौँ त हामीले ? पाठकीय हृदय त जीवित छ सबैमा नत्र किन पो सुनेर बस्न सकिन्थ्यो होला र !
—अझ एकै वसाइमा यहाँ देशविदेशमा छरिएर बसेका सहपाठीमित्र र सहकर्मी साथीहरूलाई भेट्न पाइएकोछ , लुकिछिपि भलाकुसारी पनि गर्न पाइएको छ अनि धन्यवाद बलराम! धन्यवाद भुगोल! कसरी नभनौँ र ?
अन्तमा पुनः यो उराठलाग्दो वैश्विक महामारीको सन्त्रासमय क्षणलाई समेत उल्लासमय र रमणीय बनाउने उद्देश्यले जुन अनुसरणीय तथा नमनीय कार्यक्रम ´लकडाउनको समय;बनाअौँ सिर्जनमय`सञ्चालन गरी यसकार्यमा पनि सर्वप्रथम हुन सफल भएकोमा देशविदेशका विभिन्न स्थानबाट यसकार्यक्रमलाई नियालिरहेका सबै साहित्यानुरागीका तर्फबाट समेत कवियुगललाई आभारपूर्वक हार्दिक बधाई तथा साहित्यिक अभिवादन ! जय होस् ।