ट्रेड युनियन नुवाकोटद्वारा पत्रकारलाई प्रेस ज्याकेट, स्वास्थ्यकर्मीलाई ‘पिपिइ’


हरेकपल May 12, 2020

नुवाकोट । नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले कोरोना संक्रमण रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गरिरहेका पत्रकारहरु र स्वास्थ्यकर्मीहरुलाई सहयोग सामग्री उपलब्ध गराएको छ । युनियनले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट र सूर्यगढी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई ब्यक्तिगत सुरक्षा उपकरण( पिपिइ) उपलब्ध गराएको हो ।

मंगलबार नेपाल पत्रकार महासंघ नुवाकोटको सभाहलमा एक संक्षिप्त कार्यक्रमका बिच नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटका अध्यक्ष शिव देबकोटाले पत्रकार महासंघका अध्यक्ष कपिलदेब खनाल र प्रेस युनियन नुवाकोटका अध्यक्ष नवराज सुबेदीलाई २०–२० थान प्रेस ज्याकेट हस्तान्तरण गरे । उक्त प्रेस ज्याकेट काँग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाको सहयोगमा प्राप्त भएको युनियनले जनाएको छ ।

यसैगरी मंगलबार नै युनियनका जिल्ला अध्यक्ष देबकोटाले सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर तमाङ र प्रमुख प्रशासकीय अधिकृत यज्ञेश्वर पाण्डेको रोहवरमा गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र डंगोललाई यशोदादेबी भगवानसिंह मेमोरियल ट्रष्टको सहयोगमा प्राप्त ५ थान पिपिइ हस्तान्तरण गरे ।

त्यसक्रममा गाउँपालिका अध्यक्ष घलेले कोरोना संक्रमण रोकथामका लागि सबैको ऐक्यबद्ध प्रयत्न आवश्यक रहेको बताउँदै ट्रेड युनियनको सहयोगले अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने धारणा ब्यक्त गरेका थिए ।