नान्दीश्राद्ध : शास्त्रीय विवेचना


हरेकपल May 14, 2020

                                                                         

 विषय प्रवेश :

पूर्वीय धर्म दर्शनमा श्राद्धका विविध प्रकार  बताइएको छ । श्राद्ध के हो ? श्राद्ध किन गरिन्छ ? कसरी गरिन्छ ? कहिले गरिन्छ ? भन्ने विषयमा हाम्रो वैदिक सनातन धर्मशास्त्रमा विशद् चर्चा पाइन्छ । प्रेत पितृंश्च निर्दिश्य भोज्यं यत्क्रियमात्मन : ।  श्रद्धया दीयते यत्र तच्छ्राद्धं परिकीर्तितम् ।। ( निर्णयसिन्धु   तृतीय परिच्छेद श्राद्ध प्रकरण )

निर्णयसिन्धुले श्रद्धापूर्वक गरिने कार्यलाई श्राद्ध भनेको छ । श्रद्धाले विधिपूर्वक गरिने कार्य पितृहरूको उद्देश्य राखी विद्वान् ब्राह्मणलाई नियमपूर्वक निमन्त्रणा गरी दान गर्नु श्राद्ध  हो । ब्रह्माबाट प्रारम्भ भएको श्राद्ध गर्ने चलन बिस्तारै लोकमा प्रचलित हुँदै गयो र मानिसहरू आफ्ना दिवंगत पितृहरूका सम्झनामा श्राद्ध गर्न थाले   । यो परम्परा आज पनि सम्पूर्ण सनातन धर्म अनुयायीहरूमा उत्तिकै सान्दर्भिक छ र यसलाई निरन्तरता दिइएको छ  । नित्य, नैमित्यिक, काम्य, सपिण्ड, वृद्धि, पार्वण, गोष्ठी, कर्माङ्ग, तीर्थलागायत श्राद्ध लोक प्रचलनमा छन् ।यीमध्ये वृद्धि श्राद्ध एक महत्वपूर्ण श्राद्ध हो   । यो श्राद्धका विविध र भेटिएसम्मका विषयवस्तु समेटी यसका बारेमा शास्त्रीय चर्चा यस लेखमा स्पष्ट गरिने छ  ।

    के हो नान्दी श्राद्ध ? कहिले र कसरी गरिन्छ ?

 नान्दी स्त्री नन्दन्ति देवा अत्र नन्द घञ् वृद्धि .  ङिप्  प्रत्यय लागेर नान्दी शब्द बन्दछ । नान्दी श्राद्ध माङ्गलिक श्राद्ध हो   । यस श्राद्धलाई वृद्धि , नान्दी र आभ्युदयिक नामले पनि लोकमा चिनिन्छ । मङ्गल कामना तथा अभ्युदय प्राप्त गर्न यो श्राद्ध गरिन्छ  ।  विशेषत : पुत्रजन्म, चूडाकर्म, उपनयन (ब्रतबन्ध)विवाह, गृह प्रवेश, भागवत पुराण, नवाह पुराण, तथा श्रौतकर्महरूमा तथा कुनै पनि शुभ कार्यका प्रारम्भमा यो श्राद्ध गरिन्छ  । पितृहरूबाट तत्काल आशीर्वाद प्राप्त गर्नका लागि गरिने आभ्युदायिक श्राद्ध नै नान्दी वा वृद्धि श्राद्ध हो  । कन्यापुत्रविवाहेषु प्रवेशेषु च वेश्मन : । नामकर्मणि बालानां चूडाकर्मादिके तथा  ।। सिमन्तोन्नयने चैव पुत्रादिमुखदर्शने  ।नान्दीमुखं पितृगणं पूजयेत् प्रयतो गृही  ।।विष्णुपुराण ३/ १३ (५ – ६ )

त्यसैगरी पितृयागमा पनि पहिला मातृहरूको पूजा गर्नुपर्दछ   ।   मातृका पूजा गरिएन भने मातृकाहरू क्रोधित  भई श्राप दिन्छन्  र गरेको यागको फल मिल्दैन । अनिष्ट्वा पितृयज्ञेन वैदिकं किञ्चिदाचरेत्  ।तत्रापि मातर  पूर्वं पूजनीया प्रयत्नत : ।। अकृत्वा मातृयागन्तु वैदिकं य:समाचरेत् । तस्य क्रोध समाविष्टा हिंसामिच्छन्ति मातर : ।।  ( गदाधरभाष्य श्राद्धसूत्रम् पृ . ७९७ ) त्यसैगरी यस विषयमा शातातपको भनाइ पनि उल्लेख गरिन्छ । अकृत्वा मातृयागं तु य: श्राद्धं परिवेषयेत्  ।तस्यक्रोधतमाविष्टा हिंसामिच्छन्ति मातर : ।। ( निर्णयसिन्धु तृतीय परिच्छेद शातातपको वचन पृ. ७४८ ) मातृका पूजा गरेर धूपदीप नैवेद्य अर्पण गरी  श्राद्ध गर्नुपर्दछ  ।पष्पैर्धूपै : सनैवेद्यैर्गंन्धाद्यैर्भूषणैरपि  ।पूजयित्वा मातृगणं कुर्याच्छ्राद्धत्रयं बुध : ।। (कूर्मपुराण ) शुद्ध प्रतिमा , कपडामा लेखिएका वा अक्षताका पुञ्जमा पुजिएका मातृकालाई घरको भित्तामा  नजिकैबाट पाँच वा सात घृतधारा ( वसोर्धारा ) गरी श्राद्ध गर्नुपर्दछ । मातृगण को हुन् ? भन्ने बारेमा भविष्यपुराणमा यसरी बताइएको छ । गौरी पद्मा शचीमेधा गायत्री (सावित्री ) विजया जया ।देवसेना स्वहास्वधा मातरो लोकमातर : ।।  धृति : पुष्टिस्तथा तुष्टिरात्मदेवतया सह  ।।

 विविध  कर्महरू गर्दा कथं कदाचित् आशौच परेमा तोकिएको साइत वा मुहूर्तमा काम अवरुद्ध हुन सक्छ । अर्को अनुकूलको समय नमिल्न सक्छ भनेर शास्त्रमा आभ्युदयिक श्राद्ध गरेमा आशौच लाग्दैन र कर्म गर्न सकिन्छ भन्ने प्रमाण पनि पाइन्छ । कुन कर्मका लागि कति दिनअगाडि श्राद्ध गर्ने भन्ने विषयमा धर्मसिन्धुमा श्रौत यज्ञहरू एक्काइसौँ  दिनभित्र , विवाह दसौँ दिनभित्र , चुडाकर्म तीन दिनभित्र , उपनयन छ दिनभित्र पर्ने गरी नान्दी श्राद्ध गर्न सकिन्छ भन्ने उल्लेख छ । एकविंशत्यहर्यज्ञे विवाहे दसवासरा : । त्रिषड्चौलोपनयने नान्दी श्राद्धं विधीयते ।। ( धर्मसिन्धु : तृतीय परिच्छेद , विवाह प्रकरण ) वृद्धिश्राद्धमा माता , पितामही , प्रपितामही पिता, पितामह, प्रपितामह, तथा सपत्नीक मातामह, प्रमातामह, वृद्धप्रमातामहलाई विश्वेदेवपूर्वक नवदैव s त्य श्राद्ध गरिन्छ । यिनै वृद्धिश्राद्धका श्रद्धेय पितृ हुन् ।

 मातृभ्य : कल्पयेत्पूर्वं पितृभ्यस्तदनन्तरम् । ततो मतामहानां च कुर्यात्छ्राद्धं क्रमेण वै ।। ( निर्णयसिन्धु : तृतीय परिच्छेद पृ . ७४५ ) वृद्धि श्राद्ध मूलत : पितृकार्य भए पनि यो कार्यलाई देवकार्यका रूपमा लिइएको छ । “यथैवोपचरेद् देवांस्तथा वृद्धौ पितृनपि ।” (निर्णयसिन्धु : तृतीय परिच्छेद हेमाद्री : शातातपको वचन ) वृद्धिश्राद्ध  तथा पार्वणश्राद्ध आदि अन्य श्राद्धहरूमा प्रशस्त भिन्नता पाइन्छ ।  वृद्धश्राद्ध माङ्गलिक श्राद्ध भएकाले सव्य एवम् पूर्व फर्केर गरिन्छ ।  यसैगरी पुत्र जन्मादि वृद्धिका अवसरमा नान्दीमुख पितृहरूका लागि दायाँवर्त आह्वान गरी पूजा गर्नुपर्दछ । साथै पिण्डका सन्दर्भमा याज्ञवल्क्यले दही र बयर फल मिसाई पिण्ड दिनुपर्दछ भन्ने कुरा बताएका छन्  । एवं प्रदक्षिणावत्को वृद्धौ नान्दीमुखान्पितृन्  ।यजेत दधिकर्कन्धुमिश्रान्पिण्डान्यवै : क्रिया : ।। ( याज्ञवल्क्यस्मृति ; आचाराध्याय श्लोक  २५० )

श्राद्धमा तिल प्रमुख  वस्तु भए पनि वृद्धिश्राद्धमा तिलको सट्टामा जौ प्रयोग गरिन्छ ।  तिलसाध्या : सर्वा: क्रिया यवै : कर्तव्या : ( या.स्मृ .पूर्ववत् )श्राद्ध गर्दा पितृतीर्थको प्रयोग नगरी देवतीर्थको प्रयोग गरिन्छ । ‘ सत्य ’ संज्ञक र ‘ वसु ’ संज्ञक दुई विश्वदेवको स्थापना र पूजा गरिन्छ  ।  आभ्युदयिके युग्मा ब्राह्मणा अमूला दर्भा ; प्राङ्मुखो यज्ञोपवीति स्यात्प्रदक्षिणमुपचारो यवस्तिलार्थो गन्धादिदानं द्विर्द्वि :   ऋजुदर्भानासने दध्यात्  (आश्वलायन ) । सङ्कल्प वाक्यमा षष्ठी चतुर्थी र सम्बोधन विभक्तिको  प्रयोग गर्नुपर्दछ   ।। (श्राद्धकाशिका क. ६ , पुराणसमुच्चयको वचन ) अन्य श्राद्धहरूमा झैं यस श्राद्धमा समन्त्रक आह्वान,  अर्घ्यदान, पिण्डदान, विकिरदान, अक्षयोदकदान, स्वधावाचन  गरिंदैन  । सङ्कल्पमा ‘अस्मद् ’ शब्द तथा ‘वसुरुद्रआदित्य ’ स्वरूपको उच्चारण निषेध मानिएको छ । अस्मच्छ्ब्दं न कुर्वीत श्राद्धे नान्दीमुखे क्वचित् । ( श्राद्धकाशिका क. ६ पुराणसमुच्चयको वचन ) ‘ तृप्ता स्थ :’  का ठाउँमा  ‘सम्पन्नम् ’ शब्दको प्रयोग गरिन्छ ।‘ स्वधा ’ शब्दको प्रयोग गरिँदैन । पिण्डदान अगाडि विकिर भने दिनुपर्दछ ।

स्वधावाचनलोपो स्ति विकिरस्तु न लुप्यते ।सम्पन्नमिति तृप्ता  :  स्थ प्रश्नस्थाने विधीयते  ।।सुसम्पन्नमिति प्रोक्ते शेषमन्नं निवेदयेत्  ।। ( गदाधरभाष्य श्राद्धसूत्रम्  पृ . ७९८ ) वृद्धिश्राद्धमा पिण्डदानको अनिवार्यताका बारेमा पनि फरक मत पाइन्छ । आफ्नो कूल परम्पराअनुसार कतै कतै बयर, दही र मह मिलाई वेलको फल परिमाण बराबरका चार पिण्ड दिने चलन छ । पिण्ड दिँदा  ‘ सुसम्पन्ना —पिण्डा:’ भनेर दही, बयर फल, अक्षता मिश्रित पिण्ड दिनुपर्दछ । ‘ तृनावाहिष्ये ’ का ठाउँमा नान्दीमुखान्पितृनावाहयिष्ये भन्ने प्रश्न गर्नुपर्दछ  ।              पिण्डनिर्वपणं कुर्यान्न वा  कुर्याद्विचक्षण : । वृद्धिश्राद्धे महावाहो कुलधर्मानवेक्ष तु ।। ( भविष्य पुराण )

  २ .  वृद्धिश्राद्ध काल :  

 विभिन्न श्राद्दका फरक फरक काल वा समय विधान गरिएको छ | पूर्वाह्नमा मातृश्राद्ध, मध्याह्नमा पितृश्राद्ध  र अपराह्नमा मातामहश्राद्ध गर्नुपर्दछ । विशेष गरेर वृद्धिश्राद्ध पूर्वाह्न अर्थात् प्रात : कालमा नै गर्नुपर्दछ  । मातु : श्राद्धं तु पूर्वं स्यात् पितृणां तदनन्तरम्  ।  ततो मातामाहानां च वृद्धौ श्राद्धत्रयं स्मृतम्   ।। ( निर्णयसिन्धु  : तृतीय परिच्छेद पृ. ७४५ शातातपको  वचन  ) यसै विषयमा शातातपको वचनअनुसार कुनै पनि वृद्धि कर्महरूमा पितृहरूलाई तृप्त गर्न सकिएन भने गरेको कुनै पनि कर्मको फल प्राप्त गर्न सकिँदैन र त्यसरी गरिएको विधि राक्षसी विधि हुन् जान्छ  । पूर्वाह्णमा  मातृश्राद्ध , मध्याह्णमा पितृश्राद्ध  र अपराह्णमा  मातामहश्राद्ध गर्नुपर्दछ । वृद्धौ न तर्पिता ये न पितरो पितरो गृहमेधिभि : । तद्धीनमफलं ज्ञेयमासुरो विधिरेव च             ।।  ( शातातप निर्णयसिन्धु तृतीय परिच्छेद  )    मातृश्राद्धं तु पूर्वं स्यात्  पितृणां तदनन्तरम् ।  ततो मातामाहानां च वृद्धौ श्राद्ध त्रयं स्मृतम्  ।। ( शातातप  नर्णयसिन्धु तृतीय परिच्छेद  )

आभ्युदयिक  वा वृद्धिश्राद्ध प्रात : कालमै गर्नुपर्दछ । प्रात : काल भन्नाले सार्धप्रहर अर्थात् सूर्योदयदेखि साढे एक प्रहर सम्मको अवधि  प्रात : काल भन्ने बुझिन्छ  । यो समय पुत्र जन्मभन्दा फरक प्रसङ्गलाई  भन्न खोजिएको हो  । अत्रिका अनुसार जन्मनिमित्तक समयबाहेकका अवस्थामा वृद्धिश्राद्ध पूर्वाह्नमा नै गर्नुपर्दछा । जन्मनिमित्तक चाहिँ पुत्र जन्मेका समयमा नै गर्नुपर्दछ भन्ने शास्त्रीय मान्यता छ ।    पूर्वाह्णे वै भवेद्  वृद्धिर्विना जन्मनिमित्तकम्  ।   पुत्रजन्मनि  कुर्वीत श्राद्धं  तात्कालिकं बुधै  : ।। ( निर्णयसिन्धु ; तृतीय परिच्छेद पृ . ७४५ अत्रि   )                                                                                                            

 ३ .   श्राद्ध कर्ता  :   

नान्दीश्राद्ध तथा वृद्धि श्राद्धमा माता , पितामही ,प्रपितामही , पिता,प्रपितामह , प्रपितामह ,तथा सपत्नीक माता ,मातामह ,वृद्धप्रमतामाहका क्रमले विश्वेदेवपूर्वक गरिने श्राद्ध नान्दीमुख पितर श्राद्धका रूपमा लोक प्रचलित छ । आफ्ना मातापिता जीवित हुनेले पनि आफ्ना पितृतर्फ र मातृतर्फका उपल्लो पुस्ताका दिवंगत पितामही , प्रपितामही ,वृद्धप्रपितामही अनि पितामह ,प्रपितामह र  वृद्धप्रपितामह  (सपत्नीक ) को  श्राद्ध कर्ता हुन सक्छन्   ।  पिता जीवित भए पनि छोराले गर्न मिल्ने श्राद्ध भनेको वृद्धि श्राद्ध मात्र हो ।  पिता जीवित हँदा हुँदै पुत्रले किन गर्ने भन्ने जिज्ञासा हुन सक्छ तथापि वृद्धिश्राद्धको कर्ता पुत्र  नै हुनुपर्दछ । तर आफ्ना पिताले जो जो वा ज जसलाई जुन जुन नामबाट श्राद्ध गर्दछन्  तिनैलाई नाम उच्चारण गरी आभ्युदयिक श्राद्ध गर्नुपर्दछ । येभ्य एव पिता दद्यात् तेभ्यो दद्यात् स्वयं सुत : ।    जीवेत्तु  यदि   वर्गाद्यस्तद्वर्गं  तु    परित्यजेत्    ।।   इदं अपि जीवत्पितृकेणापि कार्यम्  । ( कर्कस्मृति : )

त्यसैले यो आभ्युदयिक वा नान्दी , वृद्धि जे  भने पनि यस श्राद्धका कर्ताका पिता जिउँदै रहेका अवस्थामा पनि जिउँदालाई छोडेर दिवंगत पितृलाई पुत्रले नान्दीश्राद्ध गर्न मिल्दछ  तर पिताले सम्झनुपर्ने सबै पितृहरू पुत्रले सम्झेर श्राद्ध गर्नुपर्दछ  ।

४  . निष्कर्ष  :

नान्दी ,वृद्धि र आभ्युदयिक श्राद्धका नामले लोकमा प्रचलित शास्त्रीय विधिद्वारा गर्नुपर्ने अभ्युदय र वृद्धिका निमित्त तत् तत् दिवंगत  मातृ पितृहरूको सम्झना गरेर गरिने श्राद्धलाई हाम्रो धर्मशास्त्रले वृद्धिश्राद्ध मानेको छ । मानिसहरूमा यस श्राद्धका बारेमा विभिन्न जिज्ञासा उत्पन्न हुनु स्वाभाविक पनि हो  ।  यसका नामबाट पनि यो श्राद्धाले कस्तो फल दिन्छ भन्ने पुष्टि हुन्छ  ।   नान्दीश्राद्ध विशेष देवपूजा  ( शुभ र  मङ्गल कार्य ) को नै प्रधान अङ्ग  हो । विवाह ,उपनयन , चुडाकर्म , गृहप्रवेश , विभिन्न  श्रौतयज्ञ आदि कर्म तथा संस्कार , देवपूजनमा पूर्वाङ्गरूप नान्दीश्राद्ध गर्नु अनिवार्य  मानिन्छ । देवपूजा गर्नु तथा पितृपूजा नगर्नु भनेको आशान्वित पितृहरूलाई अपमान गर्नु र पितृप्रति कृतघ्न बन्नु हो । फलस्वरूप पितृहरू रिसाई नाना प्रकारका सङ्कट आइपर्छन् । सबै प्रकारका विघ्न बाधा हटाई तत्काल उदय हुने  मनोकामना पूर्तिका लागि नान्दीश्राद्ध गरिन्छ र यसको औचित्य पनि यही हो । कर्ताले आफूले गर्नुपर्ने पितृहरूको सेवा नगरी वा श्राद्ध नगरी अन्य कर्मलाई मुख्य मानेर कर्म गर्दा त्यसको फल प्राप्त हुँदैन त्यस्तो कर्म आसुर कर्म बन्न पुग्दछ ।   वृद्धौ न तर्पिता ये वै  पितरौ  गृहमेदिन ; ।   तत्सर्वमफलं  ज्ञेयमासुरो  विधिरेव  च   ।। त्यसैले गृहस्थीले वृद्ध पितृहरूको  अशेष श्रद्धाले युक्त भई विधिपूर्वक गरिएको श्राद्धले नै अपूर्व र तात्कालिक र दीर्घकालिक फल प्रदान गर्दछ । अस्तु

सन्दर्भसूची

उपाध्याय ,काशीनाथ  ,  ( संवत् २०४८ ) , धर्मसिन्धु ,वाराणासी : चौखाम्बा संस्कृत संस्थान

भविष्यपुराण ( ई . १९१६ ) मुम्बयी  : वेङ्कटेश्वरयन्त्रालय ।

भट्ट ,कमलाकर , ( ई. १९९६ ,संवत् २०५३  ) , निर्णयसिन्धु , श्री वेंकटेश्वर प्रेस , मुम्बइ – ४००-००४

याज्ञवल्क्य , ( ई . १९४९ ) याज्ञवल्क्यस्मृति बम्बई  : निर्णय सागर प्रेस