कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली हान्न पाउने


हरेकपल May 15, 2020

काठमाडौं, २ जेठ । पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने निर्णय भएको छ । गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट दुईजना संक्रमित भागेपछि सुरक्षाकर्मीलाई यस्तो अधिकार दिइएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बिहीबार सम्पन्न संकट व्यवस्थापन केन्द्रको बैठकले अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार सुरक्षाकर्मीलाई दिएको हो ।

सो बैठकमा नारायणी अस्पतालका डा. मदन उपाध्याय, प्रमुख सेनानी मदनजंग राणा, प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरलगायतको सहभागिता थियो । 

गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुईजना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए । प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो ।