नेपाल–भारत सिमाना तारबारसहित बन्द गर्न साझा पार्टीको आग्रह


हरेकपल May 15, 2020

काठमाडौं– नेपाल–भारत सिमाना तारबार लगाउन साझा पार्टीले सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार साझा पार्टीका प्रवक्‍ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी सीमा क्षेत्रका स्थानीय वासिन्दालाई समस्या नपर्ने गरी तारबारसहित बन्द गर्न माग गरेको हो ।

विज्ञप्तिमा राहदानी, नागरिकता र परिचयपत्रको साथै अन्य प्रविधिको सहयोगमा सीमा वारपारलाई नियमन गर्नु नेपाल र भारत दुवैको दीर्घकालीन हितमा हुने बताइएको छ ।

साझा पार्टीले खुला सिमानाले चोरी, डकैती, तस्करीलगायत राष्ट्रिय सुरक्षाका संवेदनशील पक्षमा अनगिन्ती जटिलता निम्त्याएकाले बन्द गर्न सुझाब दिएको हो ।

भारतसँगको सीमा समस्या कूटनीतिक र राजनीतिक तहमा वार्ता गरेर सल्टाउन सो पार्टीले आग्रह गरेको छ । द्विपक्षीय वार्तामा ढिलाइ हुने अवस्था भएमा सीमा विवाद नभएका ठाउँमा नेपालले एकतर्फी रूपमै तारबार लगाउन पहल गर्न साझाले सरकारको ध्यानाकर्षण गराएको छ ।