त्यो नराखिएको बम


हरेकपल May 16, 2020

दुई दिनभित्र भएका मृृत्युका तीनवटा घटनाले म निकै बिथोलिएँ । भन्नुहोला, मृत्युको खबर बिथोल्ने नै त हुन्छ । जुन घटनाले म धेरै बिथोलिएँ, त्यही घटनाले अरू त्यति सारो नबिथोलिएको किन होला ? यो लेख यसैसँग सम्बन्धित छ । एउटा कुरा प्रस्ट पार्छु – कोरोना कहरका समयमा यी घटना भए पनि यसमा कोरोनाको कुनै भूमिका छैन । तर मलार्ई लाग्छ, मनुष्यताका कुरा गर्दा यस्ता महामारीलाई नभुल्नु राम्रो हुन्छ ।

घटना – १
वि.सं. २०७७ साल वैशाख १७ गते ।
कलाकार इरफान खानको मृृत्यु ।
उमेर – ५३ वर्ष ।
मृत्युको कारण – क्यान्सर ।

घटना – २
वि.सं. २०७७ साल वैशाख १८ गते बिहान ।
कलाकार ऋषि कपुरको मृृत्यु ।
उमेर – ६७ वर्ष ।
मृत्युको कारण – क्यान्सर ।

घटना – ३
मिति– वि.सं. २०७७ साल वैशाख १७ गते साँझ ।
चार बालबालिकाको मृत्यु ।
क्रमशः नाम र उमेर –
१) विजय खत्री ।
उमेर – ५ वर्ष ।
२) विमला खत्री
उमेर– ११ वर्ष ।
३) गौरव नेपाली ।
उमेर–१३ वर्ष ।
४) नोखिराम डाँगी ।
उमेर– १४ वर्ष ।
मृत्युको कारण – बम विस्फोट ।

कलाकार द्वयको मृत्यु उपचारका क्रममा अस्पतालमा भयो । इरफानको मुम्बईको कोकिलाबेन अस्पतालमा र ऋषिको मुम्बईको सर एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा । चार बालबालिकाको मृत्यु बाख्रा चराएर घर फर्कने क्रममा रोल्पाको माइतेकापिना जङ्गलमा भयो । बम शक्तिशाली थियो । तिनलाई अस्पताल पुग्ने अवसर दिएन । सोझै मृत्युमा मुखमा पु¥याइदियो ।

यी तीनवटा घटनामा पनि तेस्रो घटनाको खबर सुुनेर म सारै मर्माहत हुन्छु । मानाैँ, बम मभित्रै विस्फोट भएको होस् । आजभन्दा पौने दुई दशक जति अघिको घटना सम्झिएँ । घटना २०५८ सालको हो । नेपाल बन्दको दिन गाडी चलाएको निहुँमा चितवनको भण्डारामा आन्दोलनकारीले यात्रुलाई उत्रन नदिई बसमा आगो लगाईदिए । त्यसभित्र ८ वर्षे बालिका काजोल खातुन पनि थिइन् । जो जलेर मरिन् । त्यसबेला धेरै कविहरूले लेखेथे उनीमाथि कविता । मैले पनि लेखेथेँ–

आगो !
तिमीलाई लाज लागेन
एउटी सानी नानीलाई जलाउन
तिम्रो के बिगारेकी थिई र उसले
यस संसारमा ?

… ….

मन्दिर, मस्जिद, चर्च, चैत्य
सबै एकै थिए उसका निम्ति
हिन्दू, मुस्लिम, बौद्ध, इसाई
किन र कसरी होइन्छ ? ऊ बुझ्दिनथी
राजनीति, वर्ग, जीवन, मृत्यु
उसको दिमागले भ्याउने कुरा थिएनन् ।

उसले त संसार त्यसरी नै बुझेकी थिई
जसरी रूखपातले बुझ्छन्
चराचुरुङ्गीले जान्दछन् ।

यस कविताका केही शब्द फेरिदिने हो भने यी चार बालबालिकाको मृत्युको सन्दर्भमा लेखेको भन्न पनि मिल्ने रहेछ– जस्तो कि ‘आगो’ को साटो ‘बम’, ‘एउटा सानी नानीलाई जलाउन’ भन्ने पङ्क्तिको साटो ‘यी बालबालिकाको जीवन चुँड्न’ र त्यस्तै बाँकी पङ्क्तिहरूमा आएका सर्वनाम र क्रियापदलाई बहुवचनमा लग्ने बित्तिकै यो कविताले चार बालबालिकाको मृत्युको पीडा अभिव्यक्त गर्ने रहेछ । प्रसङ्गवश यसो भनेँ । तर काजोलमाथि लेखिएको कवितामा ‘काजोल’ एउटी बालिकामात्र नभएर उनीजस्ता धेरैको प्रतिनिधि पात्र बनेर आएकी हुन् । उनी मनुष्यताको क्षयको पीडामाथि लेखिएको कवितामा माध्यम बनेर आइन् । यहाँ उल्लिखित चार बालबालिकाहरू पनि विजय, विमला, गौरव र नोखीराम मात्र होइनन् । उनीहरूजस्ता धेरै–धेरैका प्रतिनिधि हुन् । कविता र समाचारमा हुने भेद यही त हो । कुनै एक कालखण्डमा लेखिएको भए पनि कविता अरू कालखण्डका लागि पनि उत्तिकै अर्थवन्त हुन्छ, समाचारजस्तो बासी हुँदैन ।

०००

इरफानले यी चार बालबालिकाको मृत्युको खबर सुनेका भए के गर्थे ? अति नै शोकविह्वल हुन्थे । मलाई यस्तो लाग्नुकोे कारण के हो भने उनी जति राम्रा कलाकार हुन्, त्यत्तिकै असल मानिस पनि । उनले कतिपय अन्तर्वार्तामा भनेका छन्, ‘बुबा, मलाई साथमा लिएर जङ्गलमा शिकार गर्न जानुहुन्थ्यो । मलाई जङ्गल त मन पथ्र्यो तर जनाबर मारेको मन पर्दैनथ्यो । म सोच्थेँ, यी मरेपछि यिनका सन्तानलाई कस्तो हुँदो हो ? यिनका आमालाई के कस्तो पीडा भयो ?’

अनुप बरालले अन्नपूर्ण पोष्टको फुर्सदका पृष्ठमा इरफानसँगको पहिलो भेटलाई यसरी सभ्झेका रहेछन्, ‘नाट्य विद्यालयको जुनियर भएर होला, उनले मेरोबारे चिन्ता गरे– ग्याँस कहाँबाट ल्याउँछौ ? कहाँ बसिराखेका छौ ? केही अप्ठेरो भए भन है ।’ इरफानको यो ‘पन’ उनको अभिनयमा पनि छ । ‘अंग्रेजी मिडियम’ फिल्म हेर्दा मैले यस्तै अनुभूति गरेँ । यो फिल्म हेरेपछि आफन्तजस्तै बनेर बसे उनी मेरो मनमा । उनी मलाई आफ्नै छिमेकमा बस्ने, आफूसँग घुलमिल भएका मानिसजस्ता लागे । मैले उनलाई पर्दामा अभिनय गर्ने कलाकार नठानेर एउटै चिया पसलमा चिया खाएर दुखसुख बाँड्ने चिनारु मान्छे ठान्न पुगेँ । मेरो घरमा छोरालाई कसरी राम्रो अङ्ग्रेजी मिडियमको स्कुलमा पढाउने भन्ने छलफल हुने भएर पनि होला, उनको पिताको भूमिकाले मेरै कथा भनेझैँ लाग्यो । सारै जिउँदो अभिनय गर्ने कलाकार हुन् उनी । म निकै नै मर्माहत बने उनको मृत्युमा ।
०००

इरफानको मृत्युले मलाई दुखाइरहेको थियो । भोलिपल्ट बिहानै सुन्नुपर्यो ऋषि कपुरको मृत्युको खबर । उनको नाम सम्झँदा म फिल्मभन्दा पनि बढी मीना अय्यरले लेखेकोे आत्मकथाको किताब ‘खुल्लम खुल्ला : ऋषि कपुर अनसेन्सर्ड’ लाई सम्झन्छु । यस किताबमा ऋषिले खुल्लम खुल्ला ढङ्गले आफ्नो र आफ्ना परिवारको पाखण्डलाई पर्दाफास गरेका छन् । यस्तो इमान्दारिता नेपाली साहित्यका धेरै कम साहित्यकारले मात्र प्रकट गर्न सक्छन् । ऋषिले यस किताबमा आफ्ना पिताको विवाहेतर सम्बन्धका पोल खोल्न हिच्किचाएका छैनन् । बुबा र वैजयन्तीमाला बीचको सम्बन्धका कारण आमा कृष्णाले ऋषिलाई साथै लिएर घर छोडेको र यो प्रेम अध्याय समाप्त भएपछि मात्र घर फर्केको कुरालाई समेत उल्लेख गरेका छन् । विवाहपूर्वका आफ्नै प्रेमिकाका बारेमा पनि केही कुरा लुकाएका छैनन् । सविस्तार बताएका छन् । ३० हजार रुपैयाँमा फिल्मफेयर अवार्ड किनेकोे कुरा पनि ढाँटेका छैनन् । अन्डरवल्र्ड डन दाउद इब्राहिमसँगको भेटलाई पनि खुलासा गरेका छन् । कस्तो इमान्दारिता ! कस्तो आँट !

डीपी भण्डारी दाइलाई मैले एकपल्ट सोधेथेँ, ‘दाइ, लेखनका लागि सबभन्दा जरुरी कुरा के हो ?’ उहाँको जवाफ थियो, ‘आफ्नै पाखण्डमाथि लेख्ने आँट ।’ त्यो आँट ऋषिले देखाए खुल्लमखुल्ला ः ऋषि कपुर अनसेन्सर्ड’ किताबमा । मलाई उनी लेखक भएका भए पनि राम्रोसँग स्थापित हुन्थे जस्तो लाग्छ । यिनले अभिनय गरेका फिल्मका कतिपय गीत अचेल पनि म गुन्गुनाइरहेको हुन्छु । उनको मृत्युले पनि मलाई निकै विह्वल बनायो ।
०००

फेसबुकको भित्तोमा धेरैले राखे इरफान र ऋषिका तस्बिर । उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नेहरू धेरै नै देखिए । प्रभावशाली अभिनय गर्ने कलाकारप्रतिको सम्मान पनि हो यो । मैले पनि अरूले गरेको पोस्टको कमेन्ट बक्समा गएर श्रद्धा सुमन अर्पण गरेँ । तर ऋषिको मृत्यु भएकै दिन साँझपख मृत्यु भएका चार बालबालिकाको बारेमा मेरा फेसबुकका साथीहरू बेखबर हुनुले मेरो दुखाइ अझ बढायो । हो, यी कुनै चिनिएका नाम थिएनन् । केटाकेटी नै थिए, बाँचेका भए केही हुन्थे कि ? त्यो अलग कुरा हो । तर बम विस्फोटमा बालबालिकाको मृत्यु हुनु भनेको सामान्य कुरा होइन । यो हिंसा वा सो सरहको भयानक कुरा हो । यसप्रति किन कोही संवेदनशील देखिएनन् ? किन हामीलाई यस घटनाले छोएन ? सायद नाम चलेका बौद्धिक वर्ग, प्राध्यापक, मानव अधिकारवादी, कविलेखक, पत्रकार, प्राज्ञ दुर्गममा नबसेर सहरमा बस्ने भएर पो हो कि !

पुगीसरी आएको भए यो लकडाउनमा यी चार बालबालिका घरमै बस्थे । अनलाइन कक्षा लिन्थे । भिडियो गेममा समय बिताउँथे । सद्दे खेलौनाहरू तोडफोड गर्थे । अलेलि तोडफोड भएका खेलौनालाई पूरै बिगार्थे । बल खेल्न मैदानसम्म पुग्थे । कि टिकटकमा रमाउँथे कि फेसबुकमा पोष्ट, कमेन्ट र लाइक गरेर बस्थे । अरू जे–जे गरे पनि बाख्रा चराउनलाई जङ्गलचाहिँ जाँदैनथे । पुगिसरी आएको स्थिति नभएर नै अभिभावकले ५ वर्षको बच्चालाई पनि साथै लगाएर बाख्रा चराउन पठाएका हुन् ।

यी बालबालिका कुनै उपचार हुनै नसक्ने रोगले मरेका भए, म यतिसारो मर्माहत हुन्नथेँ । त्यस्तो स्थितिमा तिनको मृत्युको समाचार पनि बन्ने थिएन सायद । समाचार नबनेपछि मलाई थाहा पनि हुन्नथ्यो । यदि तिनीहरूको मृत्यु कोरोनाका कारणले भएको भएचाहिँ पक्कै समाचार बन्थ्यो । निकै महत्त्वका साथ छाप्थे मिडियाले यो खबर । तर के यी बालबालिकाको समाचार महत्त्व नपाउनु पर्ने खालकै हो त ? ज्यान कुनै महामारीले लियोस् या बम विस्फोटले क्षति उही होइन र ! इरफान र ऋषिले कति सम्पत्ति परिवारलाई छोडेर गए भन्ने समाचार छाप्ने हाम्रा मिडियाहरूले यी चार बालबालिकाका बाबुआमाका कस्ता सपनाहरू तुहिए भन्ने पनि त समाचार बनाउन सक्थे नि । इरफानले मरेका जनावरको बाबुआमाको चिन्ता गरेको कुरालाई भारतीय मिडियाले महत्त्व दिएको देख्दा नेपाली मिडियाले चार बालकबालिकाको मृत्युमा तिनका बाबुआमाको पीडालाई लेख्न जाँगर चलाउँदा के बिग्रिन्थ्यो ! यो पीडालाई (मिडियाले होस् या हामी सर्वसाधारणले) नबुझ्नु भनेको भयानक र असह्य कुरा हो । मलाई यो मौनताले भत्भती पोल्यो ।

यो बम आफैँ उत्पत्ति भएको नभएर विद्रोहका क्रममा राखिएको हो । विद्रोहीहरूले सरकारी सेनाबाट बच्न भनौँ वा तिनलाई क्षति पु¥याउन राखेका हुन् । त्यसो त बम राख्नेहरूले खास उद्देश्य बोकेर युद्ध गरेका थिए । त्यो उद्देश्यभित्र पाँच वर्षे बच्चाले बाख्रा चराउन जानु परोस् भन्ने आशय त पक्कै थिएन होला । विद्रोह रोकियो र शान्ति सम्झौता पनि भयो । तर त्यस सम्झौताको उल्लङ्घन गरिरहेका छन् विद्रोहका क्रममा राखिएका बमहरूले । यो समयमा आएर विस्फोट भएर ।

‘काजोलको कविता’को शैली सापटी माग्दै बमलाई एउटा प्रश्न सोध्न मन लाग्छ –
ए, बम !
तिमी नै भन
यसरी कोपिलालाई
फक्रन नै नदिई समाप्त पारेर
कस्तो संसारको कल्पना छ तिमीसँग ?

यो कवितालाई रूपकका रूपमा बुझ्नुस् । त्यसपछि यसको जवाफ तपाईं पाठकवृन्दले पनि दिनुपर्ने हुन्छ । भन्नुहोला, पहिला त यिनको मृत्यु हुनुमा दोषी को हुन्– त्यसलाई खुट्याउनुप¥यो । ल तपाईं नै भन्नुस्, दोषी को ! बालबालिकाहरू ? या तिनका बाबुआमा ? या त्यो बम भन्ने वस्तु ? या शान्ति सम्झौता अनुसार बम निस्क्रिय पार्न असफल सरकार ? या त्यो बम राख्ने तत्कालीन विद्रोही ? या तपाईँ–हामी ? या सबै पक्षले हिसाब किताब गरेर जिम्मेवारी लिनुपर्ने हो ? तपाईं भन्नुहोला, बम पट्की त सक्यो । बच्चाहरू मरी त सके । अब ती फर्किएर आउने होइनन् । तिनलाई बिउँताउने कुनै उपाय भए पो तिनको चिन्ता गर्नु ! चिन्ता गरेर हुने नै के हो ?

गल्ती नै हाम्रो यही हो, खोला तरेपछि लौरो बिर्सिदिने । फेरि खोलो तर्नुपर्छ भन्ने नसम्झिने । यी बालबालिका पो फर्किएर आउँदैनन् तर अरू बालबालिकाको भविष्य सोच्नुपर्छ कि पर्दैन हामीले ? यो पट्किएको बम पो फेरि पट्किँदैन । तर पट्कन बाँकी बम खोज्नुपर्छ कि पर्दैन हामीले ? बम हिजो जुन कारणले राखिएको थियो, भोलि पनि त राखिन सक्छ । त्यो नराखिएको बमका बारेमा सोच्नु आवश्यक छ कि छैन ?

म यो बम विस्फोटको घटनालाई अनुभवचक्रमा राखेर हेर्नुपर्छ, भन्ठान्छु । यसरी हेर्दा नयाँ अर्थबोध हुनसक्छ, जुन कतिलाई अप्रियलाग्दो होला । तर यसले समस्या समस्याको अध्ययन गर्न सघाउ पु¥याउँछ । त्यसैले जस्तो होस्, त्यसलाई ग्रहण गर्न सक्नुपर्छ । त्यसका लागि चाहिन्छ, इरफानको जस्तो संवेदना र ऋषिको जस्तो आफ्नै पाखण्डलाई पनि नलुकाउने सामथ्र्य । नत्र नयाँ बमका लागि समयभित्र बारुद भरिँदै जान सक्छ । सबैलाई चेतना भया ।