हिमालको काखमा बसेको
शान्त, सौम्य मेरो देशलाई सञ्चो छैन
काखमा बसेको
बिरामी बालकलाई
काख हल्लाउँदै निदाउनलाई थमथम्याउँदा
मेरो देशमा भुइँचालो जान्छ ।
०००
बालकलाई
काखमा राख्न
जुन हातहरू प्रयोग भए
ती हातहरू रोगी थिए
उसलाई काखमा राख्न
जस्ता वातावरण तयार भए
ती वातावरण प्रदूषित थिए
र
तिनै वातावरणले
बालकमा ‘इन्फेक्सन’ भयो
र ऊ
घरीघरी आमाको काखमै मूच्र्छा पर्छ
चेतनाशून्य हुन्छ,
विवेकशून्य हुन्छ ।
०००
ऊ यति कमजोर छ
दुई ओठले आामाको स्तन चुस्ने
परिश्रम गर्नुभन्दा
‘स्यारलेक्स’ र ‘लेक्टोजिन’ मन पराउँछ
आफ्नो हात उठाएर
आमाको स्तन खोज्नुको सट्टा
त्यो छाती अरूले खोलिदिनु पर्छ
त्यो छाती खोल्ने ‘अरू’भित्र बाउ पर्दैन
त्यो छाती खोल्ने ‘अरू’भित्र
डाक्टरलगायत आफ्ना नातेदार पनि पर्दैनन्
त्यो छाती खोल्ने
हातका औँलाहरू यस देशका थिएनन्
थिए त–
सौजन्य हातका औँलाहरू थिए
जो कठोर न कठोर थिए
कठोर औँलाहरूले
कोमल स्तन निचोरेर
बालकलाई चुसाउँदा
निचोर्नेको अनुहार हेरेर
बालक हाँस्दैहाँस्दै दूध चुस्दै थियो ।
०००
आमा, तिमी
यो पीडा कसरी सहन्छ्यौ
दौरा सुरुवाल र टोपी लाउनेहरू हो !
तिमीहरू यो दृश्य कसरी हेर्छौ
जुन छाती हाम्रो इज्जÞत हो
गौरव हो
स्वभिमान हो
सार्वभौम हो
सुरक्षा हो ।
आमा !
तिमी आफ्नो काखबाट
त्यो बालकलाई तुरुन्त हटाएर
अर्कों स्वस्थ्य बालकलाई राख ।
०००