त्रासदी समय


हरेकपल May 16, 2020

पखालेर सबै मैला
साबुन पानीले
लगाएर कीटनाशक सुई
आफ्नो आयु
प्युरीझैँ तन्काउँदै
सय वर्ष कटाऊँ भन्दै गर्दा
आइपुगेछ कहाँबाट
मृत्युको अलाप गाउँदै कानकानमा
भाइरसरूपी यमराज ।

पखाल्दा–पखाल्दा
साबुन पानीले हात
खडेरीले धाँजा फाटेको खेतझैँ
चरचरी भइसके ।

बन्द पर्खालभित्र कैद हुँदाहुँदै
कुजिँइसके खुट्टा
रित्तिइसक्दा प्लास्टिकको भकारी
खाली पेटमा खन्याउँदैछ
ग्यास्टिकले गोलाबारूद ।

दैनिक ज्यालाबाट आश्रित
मजदुरको परिवार
फर्किँदैछन् भोकभोकै
जसरी कुनै हिंस्रक जनावरको भयले
खाली पेट फर्किन्छन्
चरनबाट बाख्राबस्तु ।

तीन दिने सुत्केरो आलो घाउसँग
चुहाउँदै रगत आँखाबाट
मध्येचैतको उष्णतामा
उसिनिँदै आलुझैँ हिँडिरहेछु
गोमनझैँ लमतन्न सुतेको राजमार्गै राजमार्ग ।

सडक किनार ठडिएका महलतिर
दौडिन्छन् आशाका किरण
तातो भातको आसमा
उफ !
तर्सिएझँै राँके भूतसँग तर्सिँदा रहेछन्
मान्छेसँग मान्छे
याचनाको लागेन कुनै अर्थ
संवेदनाशून्य समयलाई ।

रसाउन छाडे पनि थुक
मातृहृदय रसाउन भने छाडेको छैन
यसरी मुटुको टुक्रा भोकले चिच्याई रुँदा
फाट्दो रहेछ धर्तीझँै विवश
आमाको छाती ।

अरूले चपाए पनि सुत्केरो दाँतले
राम्रो चपाउँदैन रहेछ चिउरा, चाउचाउ
पाएको राहतलाई चपाई निल्नै गाह्रो
राहतले आहत हुँदै
तातो मासुभातको कल्पनाको रोटे पीङमा मच्चिँदैछ
दावा लागेको पेट ।

यतिका दिन खोज्दा पनि भेटिएन कतै ईश्वर ! जसलाई पेटभरि तातोभातको इच्छा
जाहेर गर्न सकूँ ।

यदि कसैले भेट्यो भने ईश्वर
भनिदिनू
फेरि आज गर्दैछ
भोकले आत्महत्या ।
०००