के देशलाई सञ्चो छैन ?


हरेकपल May 16, 2020

यताको पातलो शब्द,
मसिनो आवाज,
आँत रोएर लेखेको
नम्र निवेदन
सिंहदरबारको ढोकाबाट छिर्छ कि नाइँ ?!

निर्बाध, निसङ्कोच
बिना सूचना
जानकारी बिना
लिपुलेकमा निर्मित सडक उद्घाटनको
आकस्मिक खबर प्रसारणको समय
सिंहदरबारभित्रको सरकार
पूर्ण निद्रामा थियो कि अर्ध निद्रामा ?!

बोल्दा आक्षेप लाग्न सक्छ
भन्न सक्छन् निम्छरा आरोप
यो कुनै आरोप, आक्षेप र आवेगको अनुरोधपत्र होइन
तमतम्याइलो ऐंठन मनमा नमथ्नू
दम्को भएर टन्कियो भने पत्रको आशय बुझ्नू !

घरमा लागेको आगो निभाउने सिलसिलामा
व्यक्तिमा रूपान्तरण भएको दमकलले
लागेको आगो निभाउन सफल भएको समयसीमा
हप्ता ननाघ्दै
सिंहदरबार बाहिर मूल ढोकामा प्रदर्शनको आँट
निषेधित क्षेत्र तोडेको खबर
राष्ट्रसेवकको टाउकोमा लागेको चोट
सिंहदरबारभित्रको कुर्सीलाई दुख्यो कि दुखेन ?!

यताको निरीह शब्द
रुग्ण आवाज
राष्ट्रियता दुखेर रोएको
बहको आँसु
सिंहदरबारभित्र छिर्छ कि छिर्दैन ?!

कोभिड –१९ नामको भाइरस
महाव्याधिको प्रकोपले थिलथिलिएको समय
घरदेशभित्रको घर पुग्न नसकेको आवाज
परदेशको भूमिमा
स्वदेशको नागरिकता हेर्दै
देश फर्किन खोज्नेको पुकार
घर भित्रिन चाहनेको चाहना
लकडाउनले मात्र कतिञ्जेल रोकेर राख्ला !

बग्रेल्ती गुनासा, अहँ होइन
समस्याले भतभती पोलेको हृदयको आगोले
विकराल रूप लिन खोज्दा रोक्न विवशजनहरूको
कथा, व्यथा र यथार्थ चित्र
सरकार, तिमीले नबुझे कसले बुझ्ने !

विषयको समाधानभन्दा पर
मात्र सम्बोधनको आशा रोपेको हो यो पत्रले
बोल सरकार यो समय
यो दुःखको घडीमा
तिमी कहाँ छौ ?!

र, भन –
तिमी नै बिसञ्चोमा परेको भए
के सिंहदरबार एक्लैले
यो आर्तनादमा मलम लगाउने हिम्मत गर्ला ?!
०००