एउटा बिछोड


हरेकपल May 16, 2020

उसले नसम्झेला यो कुरा –
ऊ सानै थियो, जुनबेला ढाडमा उसलाई मजेत्रोले बाँधेर म मेलापात जान्थेँ । खेतको डिलमा घुम ओढाई सुताउँथे र असारको झम्झम् पानीमा भिजीभिजी धान रोप्थेँ– मात्र दुई छाकको जोहो गर्न ।

उसले नबिर्सिनुपर्ने हो–
बिहानभरि अरूका भाँडा माझेर नौ बजे हतारहतार म उसको लागि जहाँ जे मिल्छ, त्यही खाने कुरा लिएर आउँथे । उसलाई स्कुल जान तयार पार्थेँ । स्कुल पठाएपछि मात्र दिउँसोको काममा लाग्थेँ । साँझ म फर्कँदा ऊ स्कुलबाट फर्किसकेको हुन्थ्यो । जत्ति नै थाकेकी भए पनि म उसलाई सोध्थेँ, ‘बाबु, आज के पढिस् ?’ अनि ऊ फुर्कँदै सुनाउँथ्यो, दिनभरको कथा । यतिञ्जेल सम्ममा जाउलो, खिचडी या अरू नै केही खानेकुरा उसका निम्ति मैले बनाइसकेकी हुन्थेँ ।

के यी सबै कुरा उसले बिर्सेकै हो त ? सोच्दो हो, उसले त्यो बाटो अब कहिल्यै हिँड्नुपर्दैन । त्यसैले त ऊ ती सब कुरा सम्झिराख्न आवश्यक ठान्दैन । उसलाई र मलाई एउटै चुहिने छानामुनि उभ्याइदिने त्यो समयले उसभित्र कुनै पनि छाप छोडेन त ?

आज यी सब कुराहरू म किन सोचिराखेकी छु ? किन भन्न सक्दिनँ ? किन उसलाई एकाबिहानै पूर्वतिर देखाएर म भन्दिनँ, ‘बाबु, अझै साक्षी छ यो घाम – हाम्रा ती दुर्दिनहरूको ।’ भन्न खोज्छु तर भन्न सक्दिनँ । मेरो लागि सबै भौतिक सुखहरूले भरिएको आजको दिन नै जीवनको सबैभन्दा दुःखलाग्दो दिन बनेको छ ।

हो, हाम्रो सोचाइलाई हामीले बदल्नुपथ्र्यो, तर सकेनौँ । उसलाई त आफूखुसी गर्न दिएका थियौँ । आफूले पढेको डाक्टरी र उसलाई पढाउनका निम्ति बुबाले गरेको कर्मकाण्डको हिसाबकिताब पनि उसले गर्नुपर्ने हो । तर गरेन । सायद गर्नै सकेन ।

आज बिहान उसले भन्यो, ‘आमा, घर छँदै छ, म पनि बारम्बार आउने गर्छु … …. …’, बोल्दाबोल्दै ऊ अक्मकियो । मानौँ उसले भन्न चाहेको कुरा, उसको घाँटीको नलीभन्दा पनि बढी बक्र थियो । ‘यहाँ बस्दा केही अफ्ठ्यारो भयो । त्यसैले अफिसको छेउमा नै डेरा लिएर बस्ने विचार गरेँ ।’ उसको कुरा स्वाभाविक थियो । उसका अप्ठेराहरू थिए । तर हामी ?! के हामी यो घरमा भौतिक विलासका लागि मात्र बसिरहेका थियौँ ?! सायद उसले यस्तै सोचेको हुनुपर्छ । कि त उसले यसबारेमा केही सोच्दै सोचेन । भन्छन्, गर्भमा हुँदा आमाको दुःखसमेत सन्तानले अनुभव गरेको हुन्छ । उसले आफ्नो विवेकको ढोका बन्द गरेको पनि हुनसक्छ । आफैँ तर्सेको पनि हुन सक्छ, आफ्नो विवेकसँग । पुराना दिनका स्मृतिहरूलाई उसले प्रवेश निषेध गरेको पनि हुनसक्छ ।

हो, हामी यहाँ आफ्नै खुसीले आयौँ । ऊ एक्लो छ भनेर आयौँ । गर्न त सबै कुराको व्यवस्था उसैले गर्यो । हामी आएपछि घर बनाउने भन्यो । हामीले रेखदेख गरिदियौँ । घर बन्यो । एकपटक उसले एउटी नर्सलाई घरमा लिएर आयो र तिनलाई चिनायो, ‘उनी हुन् सरला । अस्पतालमा राम्रो सेवा गरेर सबैको मन जितेकी छिन् ।’ हामीलाई लाग्यो, कतै उसको पनि मन जितिसकेकी होलिन् । कहिलेकाहीँ ऊ भन्थ्यो, ‘एक्लो हुँदा अव्यस्थित भइँदोरहेछ ।’ यसको अर्थ यही होला भनेर मैले उसलाई दबाब दिएजस्तो गरेँ । उसले तुरुन्त हुन्छ त भन्न सकेन तर एकछिन हुन्न भनेजस्तो गरेर आखिरमा स्वीकृति दियो । हामीले ढिला गरेनौँ । आफूले गर्नुपर्ने जति गर्यौँ । आफ्नो कर्तव्य अनि उसको अभाव दुवै पूरा गरिदियौँ अर्थात् उसैको अस्पतालकी नर्ससँग उसको विवाह गरिदियौँ ।

त्यस्तो केही त भएको थिएन, जसको कारण उनीहरूले हामीबाट छुटकारा खोज्नुपरोस् । हो, यत्ति चै भनेकी थिएँ मैले सरलालाई, ‘दुलही, यसरी रात बिरात नभनी ड्युटी नगर । घरको पनि ख्याल राख । अहिले त तिमीहरू दुईजना मात्र छौ । हामी जे जसरी गरिहाल्छौँ । पछि बच्चा भएपछि समस्या हुन्छ ।’ सायद मैले त्यति पनि नभन्नुपथ्र्यो । सबै कुरा आफूलो सोचेजस्तो हुन्न । पहिलो कुरा त हामीले यहाँ बस्नै हुन्नथ्यो । यस्तो यान्त्रिक ठाउँ ! दुःखबिमारमा परियो भने पनि आफन्त भेट्न आउन पाउँदैनन् । मरियो भने पनि आफ्नो काम छोडेर आउन कतिलाई फुर्सद नहुँदो हो ! यहाँ सबैलाई आफ्नो मात्र चिन्ता छ ।
०००

सर्वेशको बुबाले हाम्रा सबै सामानहरू कस्नुभयो । यो यान्त्रिक सहरलाई चाँडोभन्दा चाँडो छाड्ने हिसाबले । हामी आफ्नै गाउँ जाने भयौँ, जहाँ हरेक सुखदुःखमा साथ दिने आत्मीय इष्टमित्रहरू छन्, जहाँ मर्दाका मलामी र पर्दाका सहयोगीहरू छन् ।

यसैबेला सर्वेश आइपुग्यो । अनि भन्यो, ‘बुबा ! आमा ! यो सब के देख्दै छु म ?’

बुबाले निस्फिक्री जवाफ दिनुभयो, ‘तँ ठीक देख्दै छस् छोरा । हामी जानै पथ्र्यो, त्यसैले जाँदै छौँ ।’

अनि मैले भनेँ, ‘बाबु, यदि हाम्रो कारणले तँ घरबाट बाहिरिन खोजेको भए हामी त्यसो हुन दिँदैनौँ । अन्यथा तँ आफ्नो लागि आफैँ निर्णय गर्न सक्छस् । यो सहरसँग हाम्रो अब के नै नाता रह्यो र ?’

सरला घरमा थिइनन् । बाहिर एउटा ट्याक्सी रोकियो । हामी त्यसलाई भेट्न चाँडोचाँडो निस्क्यौँ । ढोकामा पुगेर एकपल्ट फर्किएर हेर्न मन लाग्यो । सर्वेश भित्तामा टाउको अड्याएर सायद रोइरहेको थियो । मभित्र भक्कानु फुटेर आयो । सारीको सप्कोले मुख छोपेँ र निर्विकल्प पाइला अगाडि बढाएँ ।