मान्छेको डर लाग्छ


हरेकपल May 16, 2020

अचेल मलाई सबैभन्दा डर मान्छेको लाग्छ
मान्छे नजिक जादाँ अत्यास लाग्छ
सबैको शत्रु मान्छे लाग्छ
कोरोनाको कहर होइन
संक्रमणको संत्रास होइन
सामाजिक सम्पर्कको भय होइन
मान्छेको अस्तित्वप्रति नै आशंका लाग्छ

चिया खर्च खोज्ने चौकिदार भन्दा
ठाडै घुस माग्ने खरदार भन्दा
टेबुलबाट फाइल टसमटस गर्न नखोज्ने सुब्बा भन्दा
‘आज भ्याउन्न, अर्को साता आउनुस्’ को उर्दी तोक्ने अधिकृत भन्दा
‘हामी त सरकारी ढुकुटीबाट वेतन बुझ्ने राष्ट्र सेवक
सेवा नै हाम्रो धर्म हो’, भन्ने
सरकारी कार्यालयका सुकिला हाकिमभन्दा
तछाँडमछाँड गर्ने सेवाग्राही देख्दा डर लाग्छ

नेपाली टोपीले आधा ढाकिएको निधारमा
रातो टीका टल्काएर
‘सादा जीवन उच्च विचार’ को पाठ पढाउँदै गर्दा
शहरका सभ्यहरुप्रति असन्तुष्टिको आक्रोश पोख्दै
बिस्तारै माथि सर्दै गएको छात्राकोे स्कर्टतिर घरघरी आँखा फ्याक्ने
नैतिक शिक्षाका गुरुभन्दा
छात्राको बढी डर लाग्छ

डाइनिङ टेबलमा ‘टेबल म्यानर’ ख्याल गर्दै
‘नाइफ’, ‘फोर्क’, र ‘स्पुन’ को स्पर्शले ‘डिसेज्’ कुत्कुत्याउँदै
‘गरिबी न्यूनीकरणमा लक्षित ’न्यू प्रोजेक्ट लन्च’ को खुलासा गर्ने धनाढ्य भन्दा
उब्रेको काउलीको झोलमा काउली खोज्न तल्लीन हातहरु
हप्रेको पिधँमा बचेको घीउ किटको कराईमा छर्केर
कसौडीमा टाँस्सिएका केही खैरा डल्लाहरुलाई
भोलीपल्ट सबेरै ‘फ्राइड राइस’ मा मिसाएर
मुखमा बुजो हाल्दै मेलो हिड्ने घाँसीको डर लाग्छ


प्राडा को डिग्रीको दम्भमा
बिश्लेषक र बिद्धानको विशेषणको आडमा
टेलिभिजन, रेडियो र फेसबुक लाइभ अनि
अखबारका कोलुमदेखि न्यू मिडियाका प्लेटफर्महरुमा
मिहिन ‘मेटाफरिकल म्यानिपुलेसन’ गर्न माहिर महोदय भन्दा
श्रोता, दर्शक र पाठकदेखि डर लाग्छ

भएको लुकाएर नभएको देखाएर
बेथितिको बिस्कुन फिजाएर
इमान्दारी र नैतिकताको विषयमा
भ्रष्टाचार र अस्थिरतका सम्बन्धमा
‘कभर’, ‘फलो अप’, ‘स्टिङ’ र ‘स्कूप’ ‘स्टोरी’ मार्ने
पत्रकार भन्दा प्रकाशकदेखि डर लाग्छ

यहाँ ‘सिस्टम’ छैन
केही गरेर देखाउन आएको, कमाउन हैन
नपुग्दो मलाई के नै छ र ? भन्दै
बिशेष मुद्दाहरुमा अड्डी कस्ने ‘माननीय’ मन्त्रीज्यू भन्दा
अत्यधिक मतले विजयी बनाउने मतदातादेखि डर लाग्छ

बन्दूक र गोली भन्दा
बम र बारुद भन्दा
तरवार र क्षेप्यास्त्र भन्दा
सधै बुइ बोक्ने दक्षिणका दाइको डर लाग्छ
‘उ भन्दा म के कम छु र ?’ भन्ने हिमाल पारीका
चिम्सा आँखा भएकाहरुदेखि डर लाग्छ
आफु मान्छे भएर होला शायद
हिजो आज त मलाई
आफैदेखि आफैलाई डर लाग्छ

स्युचाटार, कलंकी