कोरोना : विश्व अनुभव र नेपाल


हरेकपल May 16, 2020

दुई महिनासम्म गरेको लकडाउनले के कति उपलब्धि दियो ? कोरोना संक्रमणलाई चार दिन पर धकेल्यो । चीन र त्यसपछि इरान र इटलीको संक्रमणको प्रकृतिलाई राम्रोसँग विश्लेषण गरेको भए सजिलै अनुमान लगाउन सकिन्थ्यो कि कोरोनाबाट सधैँ लुकेर बस्न सम्भव छैन । ज्ञान र विज्ञानमा विश्वलाई नेतृत्व गरिरहेका र आर्थिक एवं नीतिगत रुपमा अब्बल ठहरिएका देशहरूले यो कुरालाई सुरुदेखि नै राम्रोसँग नियालिरहेका थिए । यिनीहरु न हामीले देखेजस्तो पटमूर्ख थिए न त आफ्ना नागरिकको स्वास्थ्य र सुरक्षाप्रति उदासीन । विकसित मुलुकले जस्तो नागरिकको हिफाजत अल्पविकसित मुलुकले सायदै गर्न सक्ला ।

जतिवेला हामी ‘नमस्ते’लाई आफ्नो ब्रान्ड बनाउन तल्लीन थियौँ, गोमूत्रमा नै सम्पूर्ण रोगको अचुक उपचार रहेको हुंकार गर्दै थियौँ, यी देशका जनस्वास्थ्य विज्ञ तथा आर्थिक एवं सामाजिक नीति निर्माताहरु हजारौँ simulation (कम्प्युटरबाट भइरसको फैलावट आकलन गर्ने विधि)को अध्ययन गर्दै कोरोना प्रकोपको सम्भावित असर र यसको प्रभाव सकेसम्म कम गर्न अवलम्बन गर्नुपर्ने उपाय निर्धारण गर्नमा व्यस्त थिए । कोरोना नियन्त्रणमा यी विकसित देशहरुले लिएको नीति अल्पकालीन दृष्टिकोणबाट निकै कठोरजस्तो लागे पनि अल्पकालीन र दीर्घकालीन असरहरूलाइ संतुलित रूपमा न्यूनीकरण गर्ने सबभन्दा उपयुक्त बाटो थियो ।

सुरुका दिनहरूमा व्यग्र रुपमा कोरोना फैलिँदै गर्दा पनि अमेरिकाले लामो समयसम्म परीक्षणमा बन्देज लगायो । सार्वजनिक रुपमा भन्न नमिले पनि यसको भित्री उद्देश्य भने प्रस्टै छ, सकेसम्म धेरै मानिसमा प्रतिरोधात्मक क्षमता (herd immunity) विकास हुन दिनु । म आफैँ एउटा सानो प्रयोगशालामा त दैनिक एक हजारसम्म पिसिआर परीक्षण गर्ने गर्छु । मैले गर्ने परीक्षणचाहिँ बिरुवामा हो, यद्यपि यसमा प्रयोग हुने सामग्री, उपकरण र विधि भने सबै एउटै हुन् । भने अमेरिकामा कोरोनाको परीक्षण किट अभाव हुने भन्ने सवाल नै उठ्दैन ।

लकडाउन गर्नु नै हुँदैन भन्ने आशय भने कदापि होइन । तर, लकडाउन नियन्त्रणको एउटा उपाय हो, निवारणको होइन । फेरि पनि कोरोनालाई नेपालमा भित्रिनै नदिने अवधारणा हो भने त्यो कुनै पनि कोणबाट सम्भव थिएन । लकडाउन एउटा असामान्य र क्रूर उपाय हुनाले यसलाई निकै किफायतका साथ उपयोग गर्नुपर्ने हुन्थ्यो । पछि कहिलेसम्म लगाउनुपर्छ भन्ने निश्चित नभएको अवस्थामा पहिले नै सकेसम्म तन्काउनुपर्थ्यो ।

लामो समय लकडाउन लगायो भने यसको पूर्णपालना गर्न गराउन प्रायः असम्भवजस्तै हुन्छ । जुन कुरा अहिले नेपालमा प्रत्यक्ष रुपमा देखिँदै छ । संक्रमणको दर र अस्पतालमा बिरामीको चाप आदि तथ्यांकका आधारमा विभिन्न चरणमा लकडाउन लगाउने र खोल्ने गर्दै जानुपथ्र्याे । उदाहरणका लागि अस्पतालको क्षमताको करिब ५० प्रतिशत बिरामी देखिएपछि लकडाउनलाई कडाइ गर्ने र फेरि अस्पतालका बेड खाली हुन थालेपछि केही खुल्ला गर्ने । यसरी नै यो प्रक्रिया चलाउँदै जाँदा रोगको फैलावटको दरलाई नियन्त्रण पनि गर्न सकिन्थ्यो र जनताको दैनिक जीवन पनि सहज हुन्थ्यो ।

जनस्तरमा चेतनाको कमी भएको हाम्रोजस्तो मुलुकमा अनावश्यक त्रास र अफवाह फैलनु अस्वाभाविक थिएन । तर, आश्चर्य लाग्ने कुरा त के छ भने यहाँ सरकार र सरकारी संयत्र नै त्रास फैलाउन तत्लीन रह्यो । कोरोना पोजेटिभ हुनु भनेको सामाजिक लज्जाको विषय बन्यो । फलस्वरूप मानिसहरू क्वारन्टिनबाट भाग्न थाले भने डाक्टरहरू बिरामीबाट । मलाई सम्झना छ– कोरोना सम्बन्धमा सरकारको सबभन्दा पहिलो निर्णय कोरोना उपचारमा स्वास्थ्यकर्मीको मृत्यु भएमा १० लाख दिने । यसले स्वास्थ्यकर्मीमा त्रास मात्र उत्पन्न गरेन, घोर अपमान पनि गर्यो । कुनै पनि पेसाकर्मीलाइ आफ्नो पेसामा आउन सक्ने खतराहरुको बारेमा राम्रो ज्ञान हुन्छ र उक्त अवस्था आइपरेको खण्डमा पनि आफ्नो जिम्मवारीबाट पछि हट्दैनन् र हट्नुहुँदैन ।

फेरि, अर्कोतर्फ नेपालका स्वास्थ्यकर्मीको राम्रै आम्दानी देखिन्छ । सरकारले १० लाख दिन्छ भन्दैमा उपलब्ध साधन–स्रोत र आफ्नो नैतिक तथा पेसागत दायित्वभन्दा बढी गर्ने भन्ने हुँदैन । यतिवेला आवश्यकता थियो त उपयुक्त प्रोत्साहनको (पैसा मात्र प्रोत्साहन होइन) र उपयुक्त सुरक्षा उपकरणको ।

उता एउटा सिंगोे देशको सरकारले भएका १०–१२ वटा आन्तरिक विमानस्थललाई समेत सञ्चालन गर्न सकेन र नागरिकलाई सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मको यात्रामा पैदल हिँड्न बाध्य बनायो । सयौँ कोस दूरी पैदल तय गरेर सिमानामा आइपुगेका आफ्ना नागरिकलाई उचित व्यवस्था गरेर क्वारनटिनमा राख्नुको सट्टा देशभित्र पस्नै बन्देज लगायो । यस्ता सबै क्रियाकलापले कोरोनाको वास्तविकतालाई ग्रहण गर्नुको सट्टा पूरै पृथ्वीनै ध्वस्त हुन लागेजसरी जनतामा हाहाकार फैलायो ।

अनुमान गरे सरह नै नेपालमा कोरोना फैलने क्रममा छ । जति नचाहे पनि आज या भोलि यो हुने पक्का थियो । अहिलेसम्मको प्रकृति हेर्दा कोरोना भाइरस छिट्टै हराएर जाने सम्भावना देखिँदैन । हामी सबैलाई यो भाइरसले एक दिन अवश्य भेट्टाउनेछ । यो कुरालाई अहिलेदेखि नै आत्मसात् गर्नुको विकल्प देखिँदैन । तुरुन्तै कुनै औषधि वा खोप उपलब्ध हुने कुरा पनि त्यत्ति सम्भव देखिँदैन । मानिसमा प्रयोग हुने कुनै पनि प्रकारको औषधि धेरै परीक्षण गरेर जीवनभर कुनै पनि प्रकारको नकारात्मक असर पार्दैन भन्ने प्रमाणित भएपछि मात्रै उपयोगमा आउन सक्छ । त्यो समय धेरै नै लामो हुन सक्छ । यदि छिट्टै नै विकास भइहालेछ भने पनि माग र आपूर्तिको सिद्धान्तअनुसार यसको मूल्य निर्धारण हुनेछ र हाम्रोजस्तो गरिब देशको पहुँचमा पुग्न अझै लामो समय कुर्नुपर्ने हुन्छ । एक अपुष्ट समाचारमा आएअनुसार कोरोनाविरुद्धको खोप विकासमा राम्रो प्रगति गर्दै गरेको एउटा जर्मन कम्पनीलाई किन्नका लागि विभिन्न धनी राष्ट्रहरूको बीचमा होडबाजी चलिरहेको छ । त्यसैले अहिलेलाई त्यतापट्टि त्यति ठूलो आशा नराख्दा नै बढी बुद्धिमानी हुनेछ ।

एउटा सकारात्मक पक्ष के हो भने लगभग ९९ प्रतिशत कोरोना देखिए पनि व्यक्तिहरू कुनै विशेष उपचारविना नै निको हुन्छन् । कति मानिसमा त यसको लक्षण नै देखानपरी निको भएर जान्छ (नेपालमा भेटिएका प्रायः सबै संक्रमितहरू यही प्रकारका छन्) । यसरी निको भएका व्यक्तिहरुमा केही समयका लागि भए पनि कोरोनाविरुद्धको प्रतिरोधात्मक शक्ति विकास हुने हुँदा एकपटक धेरै जनसंख्यामा फैलेर कम भएपछि (प्रतिरोधी बथान र herd immunity विकास भएपछि) भने यसको नियन्त्रण गर्न निकै सजिलो हुनेछ ।

नेपालमा Corona Positive (शरीरमा कोरोना भाइरस भेटिनु) भए पनि COVID-19 (कोरोनाको कारणले बिरामी हुनु) भएको भेटिएको छैन । यहाँ आश्चर्य लाग्ने अर्को कुरा के छ भने जति संक्रमित छन्, ती सबैलाई अस्पतालमा राख्नुपर्छ भन्ने धारणा आममनिसमा मात्र होइन, सरकारी निकाय र अरू विज्ञहरुमा समेत देखिन्छ । संक्रमण बढ्दै गयो भने यो प्रक्रियालाई निरन्तरता दिन असम्भव मात्र होइन, एक हिसाबले प्रत्युत्पादक हुनेछ । यसरी सबैलाई भर्ना गर्दै जाँदा अस्पतालमा अत्यधिक चाप पर्न गई गम्भीर अवस्थाका बिरामीहरू आवश्यक उपचारबाट वञ्चित हुन्छन् । सबभन्दा उत्तम उपाय भनेको संक्रमित व्यक्तिले घरमै आइसोलेसनमा बस्ने र यदि रोग निकै बढ्दै गएको खन्डमा (सास फेर्न गार्हो हुन थालेमा) मात्रै अस्पताल जानुपर्छ । उदाहरणका लागि अमेरिकाको म बस्ने राज्यमा १६ हजारभन्दा माथिको संख्यामा संक्रमितहरू हुँदा करिब ५ सय मात्रै अस्पतालमा भर्ना भएका छन् ।

कोरोना रोगीको अपर्झट मृत्यु हुने हुँदैन भने अस्पताल नै गए पनि यो भाइरसको कुनै प्रत्यक्ष उपचार उपलब्ध छैन । भेन्टिलेटरमा राख्नुपर्ने वा अन्य किसिमका सघन उपचार गर्नुपर्ने अवस्था नआउँदासम्म अस्पतालले पनि सहयोग पुर्याउन सक्ने खासै केही हुँदैन । बरु घर–परिवारको रेखदेखमा रहँदा खाइखुराकी र बसोवासको राम्रो प्रबन्ध हुने र मनोबल पनि उच्च रहने हुँदा बिरामी अझ छिटो ठिक हुन सक्छ । परिवार र समाजलाई संक्रमणबाट बचाउनका लागि संक्रमितलाइ सख्त आइसोलेसनमा राख्न भने अत्यन्त जरुरी हुन्छ । सकिन्छ भने टोल–टोलमा स्वयंसेवकको समूह बनाएर आइसोलेसनमा रहेका संक्रमितको निगरानी राख्न सके अझ राम्रो हुनेछ ।

एकचोटि कोरोनाको संक्रमण अवश्यंभावीजस्तै भए पनि जानाजान हेलचेक्र्याइँ गर्नु भने उत्तिकै खतरनाक हुन सक्छ । त्यसैले व्यावहारिक रूपमा सम्भव भएसम्म यसबाट जोगिनु नै सबभन्दा बुद्धिमानी हुनेछ । कोरोनाको आक्रमणबाट उच्च जोखिम रहेका व्यक्तिहरुः जस्तै अलि उमेर ढल्केका, श्वासप्रश्वास, मुटु, मधुमेह इत्यादि रोग भएका र विभिन्न कारणले रोग–प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाइ सुरक्षित राख्नु हामी सबैको दायित्व मात्रै होइन, आर्थिक रुपमा गरिब भए पनि सामाजिक सुरक्षाप्रति हामी धेरै जिम्मेवार छौँ भनेर विश्वलाई देखाउने मौका पनि यही हो । रोगलाई अनियन्त्रित रुपमा फैलन नदिनका लागि आउँदो केही वर्षसम्म नै सामाजिक दूरी कायम गर्नुपर्ने हुन सक्छ । एउटा ध्यान दिनुपर्ने कुरा के छ भने अहिले भनिँदै आएको २ मिटरको दूरी खुल्ला ठाउँको लगि मात्रै लागू हुन्छ । बन्द कोठामा त जुनसुकै दूरीमा पनि संक्रमण हुने सम्भावना रहिरहन्छ । त्यसैले सकेसम्म बन्द कोठामा हुने कार्यक्रम (पार्टी–मिटिङ इत्यादि)मा सहभागी नभएको वा आयोजना नगरेकै राम्रो हुनेछ । अनिवार्य रुपमा मास्क लगाउने (कपडाको मास्क वा रुमाल मात्रै भए पनि प्रयोग गर्न सकिन्छ) । नियमित रुपमा साबुन–पानीले हात धुने, अरुले छोएको सतहमा सकेसम्म नछुनेजस्ता सजगता अपनाउने हो भने यस भाइरसको नियन्त्रणमा निकै सहयोग पुग्छ ।