आज आइतवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७७ ज्येष्ठ ४ गते


हरेकपल May 16, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको ४ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको १७ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठकृष्णपक्षको दशमी तिथि दिवा २।२ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पूर्वाभाद्रपदा नक्षत्र दिवा ३।३० बजेसम्म रहनेछन् । यसैगरी विष्कुम्भ योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ५।१६ मा छ भने सूर्यास्त बेलुका ६।४६ बजे हुनेछ । चन्द्रमा आज बिहान ८।५४ बजेसम्म कुम्भ राशिमा र सोपश्चात् मीन राशिमा रहनेछन् ।

आज आइतवार सूर्य भगवान्लार्य अर्घदानका साथै सूर्यस्तोत्रपाठ लाभदायी रहनेछ । यसैगरी आज राता वस्तुको प्रयोग पनि शुभ रहनेछ । सूर्यजन्य दोष निवारणका लागि ॐ घृणि सूर्याय नमः भन्ने मन्त्रको जप पनि लाभदायी रहनेछ ।