काठमाडौं । स्पेनका शीर्ष दुई लिगका क्लबहरुले सोमबारदेखि सानो समूहमा प्रशिक्षण सुरु गर्न पाउने भएका छन् । अहिलेसम्म ला लिगा र दोस्रो डिभिजनका खेलाडीहरुले व्यक्ति प्रशिक्षण मात्रै गरिरहेका छन् ।
कोरोना भाइरसको महामारीका कारण गएको मार्चदेखि रोकिएको यो सिजनको लिग सुरु गर्ने तयारी स्वरुप प्रशिक्षण थालिएको हो । स्पेनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउने क्रममा छ ।
लकडाउन क्रमिक रुपमा खुकुलो पार्न थालिएको छ । सोही प्रक्रिया अन्तर्गत सोमबारदेखि क्लबका खेलाडीहरुले सानो समूहमा प्रशिक्षण गर्न पाउने भएका हुन् ।
सोमबारदेखि लिग सुरु गर्नका लागि निर्धारण गरिएको प्रोटोकल अन्तर्गतको तेस्रो चरण सुरु हुने समाचार संस्था रोयटर्सले जनाएको छ ।
क्लबहरुले मे १८ देखि सरकारको निर्देशन अनुसार नै बढीमा १० खेलाडीसम्मको समूह बनाएर प्रशिक्षण गर्न सक्ने जानकारी ला लिगा आयोजकले गराएको छ । रोकिएको ला लिगाका खेलहरु आउँदो जुन १२ देखि सुरु हुने अपेक्षा छ । तर अहिलेसम्म मिती तय भएको छैन ।