संसद्मा देउवा : सरकारले जनताको दुःख संवेदना बुझेन, कालापानी–लिपुलेकबारे चीनसँग वार्ता गर


हरेकपल May 17, 2020

काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारसँग जनताको पीडा बुझ्ने हृदय नभएको आरोप लगाएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै आइतबार प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रमले जनतालाई आशा जगाउन असफल भएको बताएका छन् । नेपालमा पहिलो संक्रमित देखिएको महिना पुग्न लाग्दा पनि स्वास्थ्यकर्मीका लागि पर्याप्त सुरक्षा उपकरण उपलब्ध नभएको उल्लेख गर्दै उनले कोरोना नियन्त्रण गर्न व्यापक तयारी गर्नुपर्नेमा सरकार चुकेको बताए ।

किटको अभाव, भेन्टिलेटरको आपूर्ति नहुनु, मर्कामा परेकालाई राहतको व्यवस्था नहुनु, सीमा बाहिर रहेका नागरिकलाई देशभित्र नै ल्याएर सुरक्षित रुपमा क्वारेनटाइनमा नराख्नु र इज्जतपूर्वक घर पुर्याउने योजना नहुनुले जनताले सरकार भएको अनुभूत गर्न नसकेको उनको आरोप छ ।

सरकारले नीति तथा कार्यक्रमबाट आत्मप्रशंसा मात्रै गरेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीले पनि भ्रष्टचारीकै पक्षमा बोल्नुले सरकार असफल भएको पुष्टि भएको बताए ।

नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुराबारे चीनसँग पनि सार्थक वार्ता हुनुपर्ने बताउँदै उनले भने, ‘चीन र भारतले सन् २०१५ मा गरेको सम्झौताअनुरुप नेपाली भूमिमा भारतले सडक खनेको छ । त्यतिवेला कांग्रेसले विरोध गरेको थियो । नेपाली भूमिमा भएको अतिक्रमण र सडक निर्माणबारे चीनसँग पनि सार्थक वार्ता गर्नुपर्दछ ।’