कपनको तेञ्जिङ चोक सिल गर्ने तयारी


हरेकपल May 17, 2020

काठमाडौँ, ४ जेठ । कपनको तेन्जिङ चोकनजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी युवतीमा कोभिड–१९ पोजिटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर सिल गरिएको बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणमा पोजिटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुको आइसोलेसनमा राखिएको छ । युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएको परिवारले जानकारी दिएको छ । युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दैआएको थियो ।

युवतीको रिपोर्टमा पोजिटिभ आएपछि थप सतर्कता अपनाउनका लागि वडा सिल गर्ने तयारी रहेको प्रवक्ता भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार आज ३ बजे बस्ने नगरपालिकाको बैठकले अब कसरी जाने भन्ने निर्णय गर्नेछ । यसका लागि थप सुरक्षा अपनाउन वडा सिल पनि गर्न सकिनेछ । उक्त क्षेत्रमा एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ ।