आज अपरा एकादशीव्रत, महिमासहित हेर्नुहोस् २०७७ ज्येष्ठ ५ गते


हरेकपल May 17, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको ५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको १८ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठकृष्णपक्षको एकादशी तिथि दिवा ३।५९ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । उत्तराभाद्रपदा नक्षत्र बेलुका ६।३ बजेसम्म रहनेछन् । यसैगरी प्रीति योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ५।१५ मा छ भने सूर्यास्त बेलुका ६।४७ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा रहनेछन् ।

ज अपरा एकादशीव्रत हो । ज्येष्ठ कृष्णपक्षको एकादशीलाई अपरा एकादशी भनिन्छ । अपार फल प्रदान गर्ने भएकाले अपरा नाम रहन गएको हो । अपराको अर्थ पनि अनन्त या सीमा नभएको भन्ने हुन्छ । यस एकादशीको व्रत गर्नाले अनन्तफल प्राप्त हुने गर्दछ । अपरा एकादशीलाई अचलाको नामले पनि सम्बोधन गरिन्छ ।


समस्ताप पापबाट मुक्ति दिलाउने एकादशीको महिमा विशेष रहेको छ । राजा युधिष्ठिरको जिज्ञासा समाधान गर्दै भगवान् श्रीकृष्णले अपरा एकादशीको माहात्म्य वर्णन गरेको प्रसङ्ग भविष्योत्तर पुराणमा पाइन्छ ।
अपरा एकादशीको व्रत धारण गर्नाले अपार पुण्यप्रापत हुने गर्दछ । कार्तिक महिनामा पुस्कर क्षेत्रमा दैनिक तीन पटक स्नानका साथै माघमा प्रयाग क्षेत्रमा स्नान गर्दा जुन फल प्राप्त हुन्छ त्यो फल अपरा एकादशीको व्रत धारणले मिल्ने गर्दछ । यसैगरी गयामा पितृलाई पिण्ड दान गरेबराबरको पुण्य फल प्रदान गर्ने अपराएकादशीले सिंह राशिमा बृहस्पति प्रवेश गर्दा गौतम नदीमा पवित्र स्नान एवं केदार नाथमा शिवको दर्शन गरे बराबरको फल प्रदान गर्दछिन् ।
जुन फल कुम्भ स्नान गरेर प्राप्त हुन्छ, जुुन फल वदरीनाथ आदि तीर्थ यात्रा गरेर प्राप्त हुन्छ त्यो फल अपरा एकादशीको व्रत धारणले मिल्ने गर्दछ । यसैगरी सूर्यग्रहणका वेला कुरुक्षेत्रमा गई हात्ती, घोडा, सुन दान गरेबराबरको फल प्रदान गर्ने एकमात्र एकादशी अपरा हुन् ।


यसैगरी गौहत्या, ब्राह्मण हत्या, भ्रूणहत्या या परस्त्रीगमन जस्ता महापाप पनि यस एकादशीको व्रतका प्रभावले नाश भएर जान्छन् । यस दिन व्रत धारण गर्नाले यो लोकको भुक्तिका साथै परलोकमा पनि मुक्ति मिल्ने गर्दछ । यसैगरी एकादशी माहात्म्य पाठ गर्नाले, पाठ गर्न नसके सुन्नाले पनि सम्पूर्ण पाप नष्ट भई परं पद प्राप्त हुने गर्दछ :
पठनाच्छ«वणद्राजन् सर्वपापैः प्रमुच्यते । इहलोके सुखं भुक्त्वा मृत्वा सत्यपुरे वसेत् ।।
अर्थात् एकादशीको महिमा पाठ गर्नुपर्दछ । पाठ गर्न सकिएन भने सुन्नाले पनि जीवनमा सुख सम्पत्ति प्राप्त हुनुका साथै परलोक पनि सफल रहने गर्दछ ।